प्रिय मह दाइ,
गौरी जी र महापुरुष निर्माण समुह ।
तपाईंहरू प्रतिको संमान र एउटा सुन्दर नेपाली फिल्म हेर्ने अभिलाषा मनमा राखेर हिजो साँझ महापुरुष हेरियो ।
त्यसैको छोटो अनुभुती लेख्दैछु ।
पहिलो त नयाँ बिषयमा फिल्म बनाउनु भयो । त्यसको लागि धन्यवाद । तर फिल्म सोचेजस्तो लागेन, बरु निकै कमजोर र बकम्फुसे पो लाग्यो। यो आलोचनानै मैले लेख्न चाहेको मुख्य सन्दर्भ हो ।
महापुरुष, एकल पुरुषका पीडा, आदर्शटोल, भगवान जस्ता मेरा बा, मान्छे जस्ता मेरा बा, पाको उमेरको प्रेम, छोराले बाबुको विहे गराउने यी जस्ता गम्भीर शब्द र सन्दर्भहरू आउने सिनेमामा न त यी शब्दले माग्ने बहस छ, न कथनकता, न घटना, न प्रयोग ।
अवश्यनै कथाको बिषय गम्भीर हो, तर कथामा आउने घटना यति सस्ता, सतही र टिपटापे छन्, अचम्म लाग्छ तपाईंहरू पनि यसरी सतहमा रमाउने? मैले चै सिनेमामा न लय भेटे, न कला, न हाँसो, न गम्भीरता र भावनात्मक तरंग ।
यसो भन्नू अन्यथा हुदैन भन्ने ठानेर सिधा भन्छु, मलाई चै यो सिनेमा तपाईंहरूले नभै, कुनै खराव सिकारुले बनाएजस्तो लाग्यो । यस्तो लाग्नु मेरो कमजोरी हो भने कृपया माफ दिनु होला ।
यति गम्भीर बिषयमा कामगर्दा तपाईंहरूले कथामा, चरीत्र निर्माणमा, घटनाहरूमा, गतिमा, सम्बादमा र रंगमा किन मेहनत गर्नुभएन ? बिषयको गम्भीरतालाई समातेर फिल्म हाल्का हुनबाट जोगाउने तपाईंहरूसँग क्षमता त थियो, तर मेहनत देखिएन ?
तपाईंहरुसँग नाम छ, नामको आधारमा हामीले फिल्म पनि र्हेयौ, तर यस्ता फिल्म बनाएर न बिषयले न्याय पाउछ न त नेपाली सिनेमाले । मेरो अनुरोध छ, कृपया नामलाई समालौ। माफ गर्नुहोला, तपाईंरूको संमानका कारण आलोचना गरे, अन्यथा गाली गर्ने थिए ।
अर्कोपटक राम्रो फिल्म हेर्न पक्कै पाउने अपेक्षा साथ ।
तपाईंको शुभचिन्तक,
केशव