प्रकाश बन्जारा 

इटहरीः बिराटनगरको  बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कर्मचारीको मिलेमत्तोमा आर्थिक हिनामिना भएपछि दश जना कर्मचारी पक्राउ गरेका छन् । 

अस्पातालमा ठुलो मात्रामा आर्थिक अपचलन भएपछि सञ्चालक समितिद्धारा गठित छानविन समितिले कर्मचारीको संलग्नता भेटेपछि प्रशासनमा उजुरी गरेको थियो । 

अस्पतालकै उजुरीको आधारमा मोरङ्ग प्रहरीले अस्पतालका दश जना कर्मचारीलाई पक्राउ जरी छानविन शुरु गरेको छ । 

 कर्मचारीको मिलेमतोमा ५७ लाख ९५ हजार १ सय ६० रूपैयाँ हिनामिना भएको देखिएको अस्पताल प्रशासनले बताएको छ । 

प्रहरीले गत कार्तिक ४ गते दुईजनालाई पक्राउ गरेर ठगी विरुद्ध अनुसन्धान सुरु गरिएको थियो । २ जनासँगको  अनुसन्धानका क्रममा थप आठ जनाको संलग्नता खुलेपछि उनीहरुलाई गत शुक्रबार पक्राउ गरिएको मोरङ्ग प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिएका छन्  ।  

प्रहरीले गत कात्तिक ३ गते बिलिङ एन्ड डिस्चार्ज शाखाका प्रमुख बुढीगंगा–२ का २६ वर्षीय दुर्गाबहादुर बिष्ट र क्यासियर सुनसरीको इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय अश्विन भट्टराईलाई पक्राउ गरेर ४ गते ठगी कसुरमा म्याद थप गरि अनुसन्धान सुरु गरेको थियो । उनिहरुको बयानको आधारमा बूढीगंगाका २८ वर्षीय सुनील पासवान, दीपेन्द्र तब्दार, २७ वर्षीय प्रभुनारायण चौधरी, २६ वर्षीय सुशील पासवान, २३ वर्षीया स्वस्तिका श्रेष्ठ, २१ वर्षीय करन विश्वकर्मा, ग्रामथानका २३ वर्षीय नरनारायण चौधरी र सप्तरी कन्चनपुरका २३ वर्षीय वसन्तकुमार राम पक्राउ परेका छन् । 

पक्राउ परेकाविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान बढाइएको छ ।

कर्मचारीहरुले अर्काको युजर आईडी र पासवर्ड प्रयोग गर्दै बिरामीका आफन्तले अस्पतालका नाममा जम्मा गरेको धरौटी वापतको रकम अनाधिकृत रूपमा फिर्ता दिने, नक्कली बिरामी खडा गरेर रकम घोटाला गर्ने, अस्पतालको आधिकारिक व्यक्तिबाट स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा छुट देखाएर आर्थिक हिनामिना गरेको आरोप लागेको छ । 

कर्मचारीले धरौटी फिर्ता गरेर र  नक्कली बिरामी खडा गरेर ३४ लाख ४२ हजार ७ सय ७२ तथा आधिकारिक व्यक्तिसँग स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा २३ लाख ५२ हजार ३ सय ८८ रूपैयाँ छुट देखाएर रकम घोटाला गरेको प्रारम्भिक अनुसन्धानले देखाएको बताइएको छ । 

अस्पतालका केहि कर्मचारीले आर्थिक हिनामिना गरेको शंका लागेपछि संचालक समिति स्तरबाटै छानविन समिति गठन भएको र सोही छानविन समितिले प्रहरीमा उजुरी गरेपछि कर्मचारीलाई प्रहरीले लगेर अनुसन्धान गरीरहेको बिराट मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पतालका सुचना अधिकारी सन्तोष निरौलाले जानकारी दिएका छन् ।