काठमाडौँः भोलि मङ्सिर ४ गते बिहान सातबजेदेखि साँझ पाँच बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान हुँदैछ ।

 यो निर्वाचनमा कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका छन् यसमध्ये महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार ५ सय ७९ रहेको छ । त्यस्तै, पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार ८ सय ५ रहेको छ भने १ सय ८५ जना मतदाता अन्य रहेको निर्वाचन आयोगले जनाएको छ ।

यो निर्वाचनमा प्रतिनिधिसभातर्फ २ हजार ४ सय १२ र प्रदेशसभातर्फ ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभाको कुल सदस्य २ सय ७५ सदस्य मध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचनतर्फ एक सय ६५ जना र समानुपातिकतर्फ एक सय १० जना सदस्य यो निर्वाचनबाट निर्वाचित हुनेछन् ।

त्यस्तै, ५ सय ५० जना सदस्य रहने प्रदेशसभामा पहिलो हुने निर्वाचित हुने प्रणालीबाट ३ सय ३० जना र समानुपातिक निर्वाचन प्रणालीबाट २ सय २० जना निर्वाचित हुनेछन् ।

निर्वाचनका लागि देशभर १० हजार ८ सय ९२ मतदानस्थल रहेका छन् भने २२ हजार २ सय २७ वटा मतदान केन्द्र रहेका छन् । ती मध्ये अस्थायी मतदान केन्द्र १ सय ५४ वटा रहेका छन् । 

अस्थायी मतदान केन्द्रमा जो आफ्नो स्थायी रुपमा बसोबास गरेको ठाउँ अथवा मतदाता नामावलीमा नाम रहेको ठाउँभन्दा बाहिर सरकारी प्रयोजनका लागि रहेका सरकारी कर्मचारी, शिक्षक, सुरक्षाकर्मी लगायत र वृद्धाश्रममा रहेका वृद्ध वृद्धा तथा कारागारमा रहेका कैदी बन्दीलाई पनि मताधिकार प्रयोग गर्न दिनुपर्छ भन्ने कुरा आएसँगै अस्थायी मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगका सचिव  गोकर्णमणि दुवाडीले जानकारी दिए ।

उनी भन्छन्, अस्थायी मतदान केन्द्रमा मतदान गर्ने मतदाताले सबै खालको मताधिकार प्रयोग गर्न सक्दैनन् तर प्रतिनिधिसभातर्फको समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् । देश भरी सङ्कलन गर्दा अस्थायी मतदाता एक लाख ५० हजार देखि २ लाख सम्म रहेका छन् ।

निर्वाचन पुर्व, निर्वाचनको अवधि र निर्वाचनपछि गरी ३ चरणमा सम्पन्न हुन लागेको यो निर्वाचनमा ५८ प्रकारका निर्वाचन सामग्री प्रयोग हुने भएको छ ।

यो निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि विगतमा भन्दा फरक छुट्टाछुट्टै चार प्रकारका मतपत्र रहेका छन् । यस्तो व्यवस्थाले मतदान प्रक्रिया सरल हुनाका साथै मतदान गर्न धेरै समय नलाग्ने र मतगणना पनि छिटो हुने विश्वास आयोगले गरेको छ ।

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष तर्फको मतपत्र सेतो पृष्ठभूमिमा रातो रङ्गको चिन्ह र प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपत्र सेतो पृष्ठभूमिमा कालो रङ्गको चिन्ह, प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष तर्फको मतपत्र सेतो पृष्ठभूमिमा रातो रङ्गको चिन्ह र प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र सेतो पृष्ठभूमिमा कालो रङ्गको चिन्ह रहेको छ । 

यस पटकको निर्वाचनका लागि ५ सय ३ किसिमका मतपत्र रहेका छन् । 

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने प्रत्यक्षतर्फको मतपत्र १ सय ६५ किसिमको, प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपत्र एक किसिमको रहेको छ भने प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष तर्फको मतपत्र ३ सय ३० किसिमको र प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र ७ किसिमको रहेको निर्वाचन आयोगले जनाएको छ । चार किसिमका मतपत्रमध्ये सबैको २÷२ करोड गरी ८ करोड मतपत्र छापिएको छ । कतिपय मतपत्रहरूमा प्राविधिक त्रुटि हुनसक्ने र मतपत्र खोल्दा च्यातिन सक्ने भएकाले जति मतदाता रहेका छन् त्यसको ५ देखि १० प्रतिशत बढी सङ्ख्यामा मतपत्र छपाई गरी जिल्लामा पठाएको आयोगले जनाएको छ ।

निर्वाचनमा सात हजारभन्दा बढी पर्यवेक्षकले पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसार स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जना पर्यवेक्षकलाई पर्यवेक्षण गर्न अनुमति दिइएको छ । 

पर्यवेक्षणका लागि ४४ वटा स्वदेशी संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकले अनुमति लिएको आयोगले जनाएको छ ।

पर्यवेक्षकले प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३ सय ३० वटै निर्वाचन क्षेत्रमा पर्यवेक्षण गर्नेछन् । त्यसबाहेक नेपालस्थित १८ वटा कूटनीतिक नियोगले पनि मतदानको दिन अवलोकन गर्ने निर्वाचन आयोगले जनाएको छ ।