विराटनगरः पूर्वी क्षेत्रमा रही अध्यात्म एवं तपस्या तथा ज्ञानको साधनामा सक्रिय घनश्याम पोखरेलको स्मृति–ग्रन्थ लोकार्पण भएको छ । पोखरेलको आदर्श जीवन–चरित्र तथा प्रेरणादायी व्यक्तित्वलाई प्रकट गर्ने उद्देश्यले ‘पण्डित श्री घनश्याम पोखरेल स्मृति–ग्रन्थ’ प्रकाशित भएको हो ।

उक्त स्मृति–ग्रन्थको शनिबार प्रदेश नं. १ का प्रमुख परशुराम खापुङले लोकार्पण गरेका हुन । श्री घनश्याम पोखरेल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख खापुङले ग्रन्थ लोकर्पण गर्दै यस्ता ग्रन्थले व्यक्तिको इतिहास जीवित हुने बताए । प्रतिष्ठानले देश विदेशका विशिष्ट विद्वान्हरूका लेखहरू समेटेर उक्त स्मृति–ग्रन्थ प्रकाशित गरेको हो ।

IMG-20230107-WA0003

सो अवसरमा प्रतिष्ठानले सुनसरीको चतराधाममा रहेर वैदिक सनातन धर्मको संरक्षण र सम्वर्धनमा संलग्न ज्ञानवृद्ध, वीतराग सन्त, आबाल–ब्रह्मचारी श्री १००८ हरिकृष्णाचार्य स्वामीजीलाई नगद रू. २१ हजार राशिका साथ विशेष अभिनन्दन पनि गरेको छ । सोही अवसरमा लक्ष्मीनारायण वेदविद्याश्रम, पाञ्चाली विराटनगरका कक्षा ८ का छात्र उज्ज्वल अर्याललाई ५५ सय राशिको ‘पं. श्री घनश्याम पोखरेल मेधावी छात्र पुरस्कार’द्वारा पुरस्कृत गरिएको छ ।

प्रतिष्ठानले यी दुई क्षेत्रमा बर्सेनि पुरस्कार दिने नीति लिइएको कार्यक्रममा बताइएको थियो ।  प्रतिष्ठानका अध्यक्ष प्रा.डा. भोलानाथ पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट विद्वान्, सन्त, महन्त, आचार्य गुरुहरू, विश्वविद्यालयका प्राध्यापक, शिक्षकहरूलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन उपप्राध्यापकद्वय सुदर्शन नेपाल एवं गोविन्द घिमिरे(आकाश नीलम् )ले गरेका थिए ।