युवराज गौतम

बिहान उठ्नेबित्तिकै हामी सुरुप्प चिया पिउँछौँ । घर आएका पाहुना वा साथीभाइलाई चिया दिएर सत्कार गर्छौं । होटल वा रेस्टुरेन्ट पस्नासाथ चिया मागिहाल्छौँ । टाढाबाट आएका पाहुना वा स्नेहीलाई चिया उपहार दिन्छौँ । हिजोआज त साना–ठूला होटलमा चिया पार्टी नै आयोजना गर्ने चलन पनि छ । यसरी चियाको तलतलले कहिल्यै छाड्दैन । 

सहर बजारमा तात्तातो चिया बिक्री गर्ने ‘टी–स्पट’ जतततै देख्न सकिन्छ, जहाँ चियाका पारखी झुम्मिरहेका हुन्छन् । हिजोआज ससाना माटाका कपमा ‘मट्का चिया’ पिउने चलन पनि बढ्दो छ । यो चलन भारतबाट भित्रिएको हो । चिया पिउने बानी नेपालीको पनि संस्कृति नै बनिसकेको छ । त्यसबाहेक नेपाली चिया अर्थतन्त्र र पर्यटनसँग प्रत्यक्ष जोडिएको छ । चियाले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको छ । चियाविज्ञ पुनम राई नेपाली चियाको बजार विश्वभर फैलिँदै गएकाले आउँदा दिनमा अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बन्ने बताउछिन् । 

“हामी भारतीय बजारमा निर्भर रहँदै आएका थियौँ । विभिन्न कानुनी झमेला र नीतिगत समस्याका कारण भारतमा सीमित हुनु परिरहेको थियो तर अब नेपाली चियाको साम्राज्य फैलिइसकेको छ । गुणस्तरीयताका कारण जापान, जर्मन, फ्रान्स, चीनजस्ता मुलुकले हाम्रो चिया रुचाएका छन्,” राईले भनिन् । 

चियाको उत्पत्ति र नेपालमा चिया कसरी भित्रियो भन्ने विषयमा बेग्लै कथा छ तर वि.सं. १९२० मा इलामबाट चिया खेतीको व्यावसायिक सुरुवात भएको इतिहास छ । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीनबाट उपहारस्वरूप पाएको चिनियाँ जातको बिरुवा ल्याएर रोपेपछि चिया खेतीको सुरुवात भएको हो । जङ्गबहादुरले ल्याएको चियाको बिरुवा इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापाले इलाममा रोपेका थिए । 

इलामबाट फैलिएको चिया यतिबेला ३० भन्दा बढी जिल्लामा विस्तार भइसकेको छ । एकातिर चियाको मुनाबाट आम्दानी भइरहेको छ भने अर्कातिर चियाको बगान हेर्न पर्यटक आउने भएकाले थप आम्दानी भइरहेको छ । चिया बगानका कारण पूर्वी पहाडका उजाड पखेरा रहरलाग्दा देखिन थालेका छन् । आलु, अदुवा, अम्रिसो, मकै र कोदोमा निर्भर किसान चियाबाट समृद्ध बन्दै गएका छन् । 

किसानलाई चिया खेतीमा प्रेरित गर्न करिब तीन दशक अविछिन्न रूपले खट्नुपरेको कथन सुनाउछन्– तारानाथ शर्मा अधिकारी । उनी भन्छन्, “नेपाल चिया विकास निगमका तत्कालीन सल्लाहकार बेलायती नागरिक रोबर्ट विलियम वेलले ‘आउट ग्रोअर्स टी स्किम प्रणाली’अन्तर्गत चियालाई किसानसम्म पु¥याउने विधि सिकाउनुभएको थियो । त्यसलाई हामीले प्रयोगमा मात्र ल्याएका हौँ । कालान्तरमा चियाले व्यापकता पाउँदै गयो । अहिले यसैमा गर्व लाग्छ ।” “२०३३ सालको कुरो हो, हामीले पूर्वी इलामका आठ जना किसानलाई छनोट गरेका थियौँ । ऋण पनि उपलब्ध गरायौँ । उहाँहरूले पनि मेहनत गरे । बिस्तारै चियाले राम्रो आम्दानी दिन थाल्यो । यसपछि किसान प्रेरित भए,” उनले अनुभव सुनाउँदै भने, “अब चिया राष्ट्रिय आयको प्रमुख हिस्सेदार बन्न सक्षम भएको छ । तयारी चिया निर्यातको तथ्याङ्क हेर्नुभयो भने यो कुरा प्रस्ट देख्न सकिन्छ ।” वि.सं. २०३९ मा पूर्वका पाँच जिल्ला इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुमलाई नेपालको चिया क्षेत्र घोषणा गरियो । यसपछि त चियाले व्यापकता पाउँदै गयो । किसानले हरियो चियाको मुना टिपेर बेच्ने मात्र होइन, उनीहरू चिया प्रशोधन कारखानाका मालिकसमेत भए । चिया कारखानाको सङ्ख्या नै १५० नाघिसकेको छ । सरकारी स्वामित्वमै सातवटा चिया बगान छन् । 

tea-2

नेपालमा चिया तथा कफी क्षेत्रको योजनाबद्ध विकास गर्न नेपाल सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ अन्तर्गत छुट्टै बोर्ड स्थापना गरेपश्चात् साना किसानको स्तरमा चिया खेतीले व्यापकता पाएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार नेपालमा १६ हजार ९२० हेक्टर जमिनमा चिया खेती गरिएको छ । चिया खेती विस्तार हुने क्रम बर्सेनि बढ्दो छ । २८ जिल्लामा किसानस्तरमै विस्तार भइसकेको छ । बोर्डले हरेक वर्षको १५ वैशाखमा राष्ट्रिय चिया दिवस मनाउने गर्छ । नेपालमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजार श्रमिक यसमा संलग्न रहेको बोर्डको भनाइ छ । आ.व. २०७६÷७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको एक लाख एक हजार १८५ मेट्रिक टन चिया निर्यात भएकोमा आर्थिक वर्ष २०७७÷७८ मा तीन अर्ब ७९ करोड ७१ लाख रुपियाँ बराबरको एक लाख एक हजार ९२० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई पछिल्ला वर्षको अवधिमा चिया निर्यात गरेर दोब्बर विदेशी मुद्रा नेपाल भिœयाउन सफल भएको दाबी गर्छन । चियामा लगानी बढाउन सके मुलुकको आर्थिक विकासमा टेवा पुग्ने उनको धारणा छ ।

इलामको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका अध्यक्ष उत्तमकुमार श्रेष्ठ व्यापार घाटा पूर्ति गर्ने र वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख कृषि उत्पादन चिया नै भएको दाबी गर्छन । भारतको चियाभन्दा नेपालको चिया राम्रो र गुणस्तरीय भएको दाबी गर्दै उनले नेपालमा निजी क्षेत्रबाट ६७ प्रतिशत र सरकारी क्षेत्रबाट ३३ प्रतिशत चिया उत्पादन हुने गरेको जानकारी दिए । नेपालको सीटीसी र अर्थोडक्स चिया जर्मनी, रुस, चेक रिपब्लिक, संयुक्त राज्य अमेरिका, चीन, फ्रान्स, जापान, क्यानडालगायत मुलुकमा निर्यात हुँदै आएको छ । नेपाली चिया निर्यातको करिब ८८ प्रतिशत भारतसँग कारोबार हुने गरेको छ । 

नेपाली ट्रेडमार्क 

पछिल्लो समय नेपाली अर्थोडक्स चियाले लोगो (ट्रेडमार्क) पाएपछि विश्व बजारमा आफ्नो पहिचान स्थापित गर्दै गएको छ । हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ लेखिएको लोगो नेपाली चियाले पाएको छ । यसअघि नेपाली अर्थोडक्स चिया दार्जिलिङको लोगोमा अन्तर्राष्ट्रिय बजारमा निर्यात भइरहेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हिमालय टी प्रोड्युसर्स एसोसिएसन (होड्पा) र चिया तथा कफी विकास बोर्डको सहयोगमा लोगो र लोगो कार्यान्वयन निर्देशिका कार्यान्वयनमा ल्याएको हो । लोगो कार्यान्वयनका लागि मन्त्रालयले नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका २०७४ जारी गरेको छ ।

tea

स्वाद र सन्तुष्टि

चियालाई ‘हेल्थ ड्रिङ्क’का रूपमा लिने गरिन्छ । स्वास्थ्यका लागि नेपाली चिया बढी गुणस्तरको मानिन्छ । नेपाली चियाको माग बढ्दो छ । स्वदेशमै पनि माग बढ्दो छ । चिया विभिन्न स्वादका हुन्छन् । इलाम टी हाउसका सञ्चालक हरि गुरुङ चियाका दर्जनौँ प्रकार आफूले बिक्री गरिरहेको जानकारी दिन्छन् । 

“स्वाद, गुणस्तर, प्याकेजिङका आधारमा तयारी चिया प्रतिकिलो एक हजारदेखि ४० हजार रुपियाँसम्म पर्छ । इलाममा स्वाद र गुणस्तरअनुसार २५ भन्दा बढी प्रकारका चिया प्रशोधन गरिन्छ,” उनले भने, “महँगो मूल्यका चिया खरिद गर्ने विदेशी मात्र होइन, नेपालीको सङ्ख्या पनि बढ्दो छ ।” दूधसँग वा दूधबिनै पिउने गरी चिया प्रशोधन गरिएको हुन्छ । गाउँका किसानले हातले बनाएको हाते चिया पनि स्वादिलो हुन्छ । ग्रिन टी, ब्ल्याक टी, सिल्भर टीलगायतका उत्पादन उद्योगबाट गरिन्छ । विभिन्न विधि अपनाएर उद्योगबाटै ‘येल्लो टी’, ‘ह्वाइट टी’, ‘ग्रिन टी’, ‘स्पेसल ग्रिन’ आदि तयार गरिन्छ; जसको मूल्य फरक फरक हुन्छ ।

चिया पर्यटन

चिया पर्यटन अर्थात् ‘टी टुरिज्म’ पनि आय आर्जनको माध्यम हो । चिया उत्पादन गरी बिक्री गरेर आम्दानी गर्ने पाटो एकातिर छ भने अर्कातिर यो पर्यटनको आधार पनि हो । नेपाली चियाका बारेमा अध्ययन गरिरहनुभएका जीवन शर्मा चीन, भारत, केन्या, श्रीलङ्काजस्ता देशले चिया पर्यटनबाट अथाह फाइदा लिएको बताउनुहुन्छ । यति मात्र होइन, चीनको सिचुवान प्रान्तमा चियाको म्युजियम नै रहेको छ । नेपालमा चिया उत्पादन र पर्यटन दुवैबाट बेग्लाबेग्लै फाइदा लिन सकिने शर्माको धारणा छ ।

जापानमा पनि यसको विस्तार व्यापक रूपमा भएको छ । चीन र जापानमा चियालाई पेय पदार्थका रूपमा मात्र होइन, सभ्यताको प्रतीकका रूपमा लिने गरिन्छ । चीन र जापानमा ‘टी टेस्टिङ सेरोमनी’ लोकप्रिय छ । त्यहाँ ‘ग्रिन टी, ब्ल्याक टी, अग्र्यानिक टी’ चखाएर चियाका पारखीलाई आकर्षित गरिन्छ ।  शर्माका अनुसार चिया अतिथि सत्कार गर्ने एक पेय पदार्थ मात्र नभएर मानव सभ्यताको एक अभिन्न संस्कार हो । उनी भन्छन्, “चिया पर्यटन प्रवद्र्धनको प्रारम्भ चीनबाट भएपछि विश्वका अन्य राष्ट्रले यसबाट ठूलो आर्थिक उन्नति गरिरहेका छन् । त्यसैले चिया पर्यटनको अवधारणा विकास र प्रवद्र्धन नेपालमा पनि आवश्यक भइसकेको छ ।” 

प्राकृतिक सुन्दरताका साथै हावापानी पनि उपयुक्त भएकाले इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, झापा, दोलखा, कास्की, लमजुङ, ललितपुरलगायत जिल्ला चिया पर्यटनको उपयुक्त स्थानका रूपमा विकास गर्न प्रशस्त सम्भावना भएको क्षेत्र मानिन्छ । चियाको स्वाद चखाएर, चियाबारीमै घुमाएर, चियाबारीभित्रकै घरमा बास गराएर, चिया कृषकले नै तयार पारेको हाते चिया उपहार प्रदान गरेर चिया पर्यटनलाई स्थापित गर्न सकिने पर्यटन व्यवसायीको बुझाइ छ । यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।