इटहरीः नेपालका हरेकजसो सामाजिक, साहित्यिक र राजनीतिक कार्यक्रममा छातीमा ब्याच लगाइन्छ । ठीक त्यसैगरी लिम्बू जातिका सांस्कृतिक पर्व, उत्सव र कार्यक्रममा पनि ब्याच लगाइन्छ ।

हालै मनाइएको चासोक तङ्नाम (उँधौली)मा पनि यो ब्याच धेरैले लगाए । तर, अन्य ब्याचजस्तो त्यो ब्याचमा कुनै अक्षर लेखिन्न । कार्यक्रमअनुसार फरकफरक पनि हुँदैन त्यो ब्याच । ब्याचको आफ्नै महत्व छ ।

यस्तो छ सिलाम साक्माको सांस्कृतिक महत्व

लिम्बू जातिले सिलाम साक्मा भन्ने यो ब्याचको आफ्नै महत्व छ । यसलाई लिम्बू लागो वा लिम्बू सांस्कृतिक बिम्ब मानिन्छ । किरात लिम्बू भाषामा सिलाम साक्मा विभिन्न शब्दहरूको संयोजन भएर बनेको छ । जसका आफ्नाआफ्नै महत्व छन् । जस्तै, सिको अर्थ मृत्यु हो । लाम्को अर्थ बाटो हो । साक्माको अर्थ छेक्नु वा थुन्नु हो । यसरी मृत्यु छेक्ने बाटोको रूपमा शाब्दिक अर्थ बोकेको छ सिलाम साक्माले ।

यो लगाएपछि मृत्यु छेकिने वा महामारीबाट जोगिने लिम्बू जातिको विश्वास रहि आएको छ । लिम्बू जातिले मृत्यु छेक्ने अस्त्र मानेको सिलाम साक्मा एक दन्त्य कथासँग जोडिन्छ ।

सिलाम साक्मासँग जोडिएको दन्त्यकथा यस्तो छ

उहिल्यै एकपटक सावा यन्हाङ्को गाउँमा महामारी फैलियो । अनेकौँ उपायले पनि महामारीबाट पार पाउन नसकी दिनरात मानिसहरू मरे । तीमध्ये केतिन्हाङ्बा र केतिन्हाङ्माका छोराछोरीहरू पनि धेरै मरे । त्यो दम्पत्ति आफ्नो वंश नै नरहने हो कि, निसन्तान भएर मासिने पो हो कि भन्ने पीरले भयभीत हुन पुग्यो ।

महामारीबाट बच्ने आशाका साथ उनीहरू सोधुङ्गेन लेप्मुहाङकहाँ पुगे । र महामारीबाट बाँच्ने र बच्ने तरिका बताइदिन बिन्ती गरे ।
सोधुङ्गेन लेप्मुहाङले ध्यानपूर्वक उनीहरूको कुरा सुनेपछि भने, ‘ठिकै छ एक शुभदिन पारी म तिमीहरूको घरमा फेन्जिरी फेन्दसाम्ब र उनका चेला फेन्जिहाङ्बा फेदाङ्बालाई पठाउँछु । त्यसपछि सम्पूर्ण हल हुने छ । तिमीहरू ढुक्क भएर घार जाओ ।’
केही दिनपछ फेन्जिरी फेन्दसाम्बा र उनका चेला फेन्जिहाङ्बा ती दाम्पत्तिको घरमा पुगे र घरको चुलमाथिको साराङ (काल्लाङ) मा अडिएर बसे ।

ती गुरुचेलाले महामारीबाट हुने मृत्युलाई रोक्न सबै खाले सेवाकार्यहरू गरे । फेदङ्बा फेन्जिरी फेन्दसम्बाले दुई वटा मुक्तो (घुङरिङ) को डन्डी खुर्केर दुवै छेउमा फुर्को निकाले र दुवै डण्डीलाई जोडी पारी मेरिहेम्बाङ खिरु (रङ्गीचङ्गी धागो) ले ९ फन्को बाँधी त्यसपछि मुक्तोको केही लामो डण्डीलाई साथैमा बाँधे । यसरी सर्वप्रथम उनीहरूले सिलाम साक्मा बनाई प्रयोग गरे ।

उनीहरूले सिलाम साक्मालाई मिक्सुइ थेगक्पा लाम चुलामाथि साराङ (काल्लाङ्म) मा मुन्धुमको मन्त्र जपी गाडि दिए । यो कार्य गरी ती गुरुचेला तल चुलो भएको ठाउँमा झरे । चुलोमा पनि मुन्धुमको मन्त्र जपी धागो र मन्त्रको चाबी त्यहीँ गाडिदिए । यसरी त्यसबेलादेखि सिलाम साक्मा अर्थात् मृत्युको बाटो छेक्ने मन्त्रजपित त्यस साधनलाई अनिवार्य रूपमा तङसिङ अनुष्ठानहरूमा प्रयोग गरिँदै आएको पाइन्छ ।

सिलाम साक्मा मोहः मन्त्रीदेखि मार्केटसम्म

सिलाम साक्माको सांस्कृतिक प्रयोगमा मन्त्रीदेखि मार्केटसम्म मोह देखिन्छ । प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोले आफ्नो शपथग्रहण समारोहमा सिलाम साक्मा लाएर उभिए । यस्तै, पत्रकार भैरव आङ्लाले पछिल्लो दीपावलीमा सिलाम साक्माको रङ्गोली बनाएका थिए । धराने गाीतकार मीना सिङ्घकले सिलाम साक्मा प्रिन्ट भएको टिसर्ट लाउँदै आएकी छिन् ।

लिम्बू समुदायमा मात्रै होइन गैर लिम्बू समुदायमा पनि सिलाम साक्मा क्रेज बढेको छ । गैर किरातीले पनि यस बारेमा चासो राख्न थालेका छन् । केही समय अगाडि द भ्वाइस अफ नेपालको एक शृङ्खलामा गायक प्रमोद खरेल पनि सिलाम साक्मामा सजिएर आएका थिए । इटहरी उपमहानगरपालिकाका नायब सुब्बा अनिल पोखरेल पनि सिलाम साक्मा लगाउँछन् ।

सिलाम साक्माको मिथक र यसको डिजाइन मन पर्ने भएकाले लाउने गरेको पोखरेल बताउँछन् । उनी भन्छन्, ‘एउटा टाइ लाउनुभन्दा मलाई सिलाम साक्मा लगाउँदा आनन्द आउँछ । किनभने यो नेपाली मौलिक सांस्कृतिक विम्ब मात्रै होइन आकर्षक ब्याच पनि हो ।’