काठमाडौँः त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा  हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता भएका छन् । 

सुक्रबार बिहानदेखि क्याम्पसमा विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठन दर्ता गराएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनले उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनका लागि सङ्गठन दर्ता गराएको बताए । 

“एक÷दुई वटा क्याम्पसबाहेक देशभरि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठन दर्ता गराएका छन्”, उनले भने, “अब विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ ।” निर्वाचन कार्यतालिकाअनुसार हिजो विद्यार्थी सङ्गठन दर्ता गर्ने तोकिएको थियो । 

निर्देशनालयका निर्देशक अधिकारीले उपत्यकामा एउटा क्याम्पसबाहेक सबै क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता भएको जानकारी दिए । उनका अनुसार आयुर्वेदिक क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता हुन सकेन । उनले उपत्यकाबाहिर लमजुङको कृषि क्याम्पसमा यही फागुन २१ गते विद्यार्थी सङ्गठन दर्ता तोकिएको जानकारी दिए । 

उनले उपत्यकामा २१ वटा आङ्गिक क्याम्पसमा सङ्गठन दर्ता भएको बताए । अधिकारीका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १९, पुल्चोक इञ्जिनिरिङमा सात, नेपाल ल क्याम्पसमा १७, पद्मकन्या बहुमुखी क्याम्पसमा ११, शङ्करदेव क्याम्पसमा १२, त्रिचन्द्र बहुमुखी क्याम्पसमा २४, रत्नराज्य क्याम्पसमा १७, नेपाल कमर्श क्याम्पसमा १६ र अमृत साइन्स क्याम्पसमा १४ विद्यार्थी  सङ्गठन दर्ता भएका छन् । 

निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुनेछ ।