इटहरीः  सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा विराटनगरको तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रीय प्रबन्धकसहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जिल्ला प्रसासन कार्यलयमा उजुरी सहित धर्ना दिएपछि सबै सञ्चालकको सम्पत्ती रोक्का गर्ने निर्णय सहित जिल्ला प्रसाशनको काम थालेको थियो । सोहि उजुरीको आधारमा  जिल्ला प्रहरी कार्यलय मोरङ्गले  मोरङको उर्लाबारी नगरपालिका ६ घर भइ संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका १४ घर भइ विराटनगर महानगरपालिका ३ बस्ने सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहेकी सविना न्यौपाने र विराटनगर महानगरपालिका २ का संस्थाका क्षेत्रीय प्रबन्धकको रूपमा कार्यरत मन्दिप खवास लाई पक्राउ गरेको हो । 

नेपालभरी कार्यक्षेत्र रहने गरी २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय विराटनगर २ मा रहेको छ । गत फागुन १ गतेदेखि शेयर सदस्यहरूलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनेर शेयर सदस्यहरूले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त संस्थाले बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी ब्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारी बचत गर्न लगाएको र आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठूलो रकम बचत गर्दै आएकोमा फागुन १ गते देखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्क बिहीन भएका थिए ।

सञ्चालकहरू नै फरार भए पश्चात आफूहरू ठगीमा परेको थाहा पाई फागुन २८ गते केही बचतकर्ताहरूले १२ करोड ९ लाख ४ हजार ४ सय ८७ रुपैयाँ बराबरको रकम ठगी भएको भनी संस्थामा कार्यरत ८ जनाको विरुद्वमा जाहेरी दिएको र सोही जाहेरीको आधारमा तीननालाई पक्राउ गरिएको तथा अन्य पाँचनाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।