विराटचोकः मोरङको सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सभापति पदमा सन्तोष लिम्बू विजयी भएका छन् । गठबन्धन तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीको भातृ सङ्गठन अनेरास्ववियूका लिम्बू फराकिलो मतसहित दोस्रो पटक विजयी भएका हुन् ।
उनले एमालेको भातृ सङ्गठन अनेरास्ववियुका उम्मेद्वार मनोज कार्कीलाई ७ सय २५ मतान्तरले पराजित गरेका हुन् । लिम्बूले १ हजार ३ सय ८२ मत ल्याउँदा कार्कीले ६ सय ५७ मत ल्याएका थिए । लिम्बूले यस अघि अनेरास्ववियुबाट स्ववियुको सभापति पदमा विजय हासिल गरेका थिए । यसपटक एमालेको भातृ सङ्गठन अनेरास्ववियु एक्लै चुनावी मैदानमा होमिएको थियो भने अन्य सङ्गठनले गठबन्धन गरेर चुनावमा भाग लिएका थिए । सुकुनामा गठबन्धनका उम्मेद्वार विजयी भएका हुन् ।
सचिवमा एमाले निकट अनेरास्ववियुबाट उम्मेद्वार बनेका एलिस ओझा ८ मतान्तरले विजयी भएका छन् । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार निराजन धमलाले १ हजार ६ मत ल्याएका थिए भने ओझाले १ हजार १४ मत ल्याएका थिए । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सतिस कार्की १ हजार ३ सय २५ मत ल्याएर विजयी भएका छन् । अनेरास्वियुकी हेमकुमारी नेपालीले ६९५ मत मात्रै ल्याएकी छिन् । सदस्य तर्फ पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।
स्थापनाकालदेखि यसअघिका हरेक निर्वाचनमा सुकुनामा एमालेको भातृ सङ्गठन अनेरास्ववियुले स्ववियु पदाधिकारीमा जित्दै आएको थियो ।