खोटाङः खानेपानीको चरम समस्याले खोटाङको एउटा गाउँ रित्तिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीस्थित पुरानो गाउँ खानेपानीको समस्याले रित्तो भएको हो ।
करिब ५५ घर परिवार बसोबास गर्ने पुरानो गाउँमा अहिले जम्मा ४ घर मात्र बाँकी रहेका छन् । ५१ घर परिवार पुरानो गाउँबाट बसाइसराइ गएपछि अहिले गाउँ बनमारा घारीले घेरिएको छ । प्रायः घरहरू लडिसकेका छन् भने केही घर लड्न तरखरमा छन् । मानिसको बसोबास हुँदासम्म मकै, गहुँ, गहत, दाल प्रशस्त फल्ने बारीमा अहिले सेतो बनमारा मात्र भेटिन्छ ।
सगरमाथा राजमार्गले छोए पनि खानेपानीको समस्याले ग्रसित पुरानो गाउँवासी अन्ततः गाउँ छाड्न बाध्य भएका हुन् । अहिले उक्त गाउँमा बस्दै आएका चार घरमध्ये एक घरमा बस्दै आउनु भएका नवराज रेग्मी बाध्यताले मात्र बस्नु परेको बताउछन ।
महंकला आधारभूत विद्यालयको प्रधानाध्यापकसमेत रहेका रेग्मी घरमा एक्लै बस्दै आएका छन । उनले परिवारका अन्य सदस्य अन्यन्त्र ठाउँमा बसाइसराई गइसकेको र आफू बाध्यताले मात्र बसेको बताए ।
सोही गाउँमा बस्दै आउनु भएका हर्कराज कार्कीको परिवार बाख्रा पालनका लागि बसेको बताउछन । ‘‘प्रायः सबै गाउँ छाडेर गइसके, केही घर छौँ, त्यो पनि बाध्यताले मात्र बसेका छौँ । रेग्मीटारमा घर बनाइसकेका छौँ, तर यहाँ बाख्रा पालनका लागि मात्र बस्दै आएका छौँ ।’’ कार्कीले भने ।
पुरानो गाउँ छाडेर जाने मुख्य कारण खानेपानी नै रहेको उनको भनाइ छ । केही पर रहेको कुमाले गाउँ अवस्थित मसाने खोलाको पानी ल्याएर पुरानो गाउँवासीले प्रयोग गर्दै आएका थिए । पिउनका लागि दिनको दुईरदुई गाग्री मात्र पानी भर्न पाए पनि गाईवस्तुलाई दिन, नुहाउन, कपडा धुनका लागि करिब दुईरतीन घण्टा हिँडेर साप्सु खोला पुग्नु पर्ने बाध्यता थियो । पिउनका लागि दुई गाग्री पानी लिए बापत पानीको मुहान धनीलाई धान दिनु पर्ने नियम थियो ।
गाउँ नजिक पानीका मुहान नभएर खानेपानीको चरम समस्या भोगिरहेका पुरानो गाउँवासी एकाएक गाउँ छाडेर हिँडेका छन् । केही परिवार उदयपुरको गाईघाट र विराटनगर लगायत अन्य स्थान गएका छन् । केही परिवार भने राजापानीकै पुछार रेग्मीटार गएका छन् । अधिकांश व्यक्तिको भूकम्पबाट पुनर्निर्माणमा घर परेपछि रेग्मीटारमा घर बनाएर गएका छन् ।