इटहरीः अख्यितार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको केश्वर गरिब जनता माविका शिक्षक पाँचु राय नक्कली भएको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ । 

सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर ५  स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीमा कार्यरत उच्च माध्यमिक शिक्षक पाँचु रायले डिम जनता माध्यमिक विद्यालय, परवानीपुर, सर्लाहीको नक्कली नियुक्तिपत्र र जिल्ला शिक्षा कार्यालय, सर्लाहीको उप–जिल्ला शिक्षा अधिकारीको मिलेमतोमा केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीमा सरुवा समेत भएर कार्यगरीरहेका भन्दै उनि विरुद्ध मुद्धा दायर गरेको हो । 

पाँचु राय डिमलाई साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीका तत्कालीन उप–जिल्ला शिक्षा अधिकारी हाल लालबन्दी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सर्लाहीका शिक्षा शाखा प्रमुख (उप–सचिव) वासुदेव तिमल्सिनाले नक्कली लिखत बनाई श्री केश्वर गरिव जनता माविमा पदस्थापन गरेको ठहर समेत गरिएको छ । तिमल्सिनालाई वदनियतपूर्वक सार्वजनिक संस्थामा नक्कली शिक्षक हुने व्यवस्था मिलाई नेपाल सरकारलाई हानिनोक्सानी पु¥याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको देखिएकोले सोहि ऐनको दफा ९ बमोजिम कैद सजाय र जरिवाना गर्न माग दावी अख्यितारले गरेको छ । 

 तिमल्सिनाले उच्च माध्यमिक शिक्षक अनुदान कोटामा नियुक्त नै नभएको पाँचु रायलाई नियुक्ति प्रक्रिया, हाजिरी रेकर्ड लगायतका अभिलेख वेगर साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीका शिक्षक सरुवा पदस्थापन गर्ने अधिकार प्राप्त अधिकारीको निर्णय विना नै पाँचु रायलाई पदस्थापनको सेटिङ्ग मिलाएको खुल्न आएको छ । 

पाँचु रायले शिक्षकको रुपमा कार्यरत रहँदै गर्दा  सोही ओहोदाबाट २०७४ सालको निर्वाचनमा मतदान अधिकृतको समेत कार्य गरी पाँचु रायले नक्कली कागजातको आधारमा विद्यालयको शिक्षक बनी आफूले नपाएको ओहदा, अधिकार, हैसियतसमेतमा रहने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर गरेको भन्दै सोहि ऐनको दफा १५ ले व्यवस्था गरेबमोजिम कैद र जरिवाना गर्न मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग आइतबार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।