विराटनगर:  विराटनगर महानगरपालिका  ८ मा रहेको बधशालाले पूर्णता पाउने गरी गृहकार्य थालिएको छ । विराटनगर महानगरले बधशाला निर्माणका लागि सरकारसंग लामो समयदेखी रकम समेत माग गर्दै आएको थियो ।

बिहिवार प्रदेश नं १ का अर्थमन्त्री इन्द्र आङ्वो ,विराटनगर महानगर मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की र बधशाला निर्माणको सहयोगी संस्था हेफर इन्टरनेश्नलका प्रतिनिधी समेतले बधशालाको स्थलगत निरिक्षण गरेका छन् ।

यस संगै बिहिवार बसेको बैठकले नमुना बधशाला निर्माणका लागि बजेट विनियोजन गर्ने सहमति समेत भएको छ । कार्यक्रममा अर्थमन्त्री इन्द्र आङ्वोले महानगरले माग गरेबमोजिमको प्रदेश सरकारले ३ करोड रुपैया सहयोग गर्ने बताए । जनताले स्वस्थ्य मासु खान पाउने अभिलाशाले बनाउन लागिएको बधशालाले पूर्णता पाओस भन्ने अपेक्षा आफुले राखेको बताएका छन् ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरमा निर्माणाधिन अवस्थामा रहेको बधशाला केही बर्षभित्रै सञ्चालनमा ल्याउने गरि काम थालिने जानकारी दिए । उनले बधशालाका लागि महानगरले यस वर्ष १ करोड २० लाख रकम छुट्टाएको जानकारी दिए ।

उक्त कार्यक्रमका लागि हेफर इन्टरनेश्नल नेपालले १ करोड ४० लाखको प्राविधिक सहयोग गर्ने घोषणा समेत गरेको छ । यस्तै डा. बोधप्रसाद पराजुलीले विराटनगरमा निर्माण भएको बधशाला स्तरिय बन्ने दावी गरे ।

कार्यक्रममा प्रदेश नं १ का विभिन्न जिल्लामा मासुको खपत हुने अवस्थाको समेत जानकारी गराएको थियो । विराटनगर ,इटहरी ,दुहवीमा गरी दैनिक ५५ सय १४ केजी मासु खपत गरिने गरेको र जसका लागि २ सय ७५ वटा खसीबोका काटिने गरेको छ ।