- लेखक: गोपाल फ्यूबा
विषयमा प्रवेश गर्नु अघि तीन वटा स्मरण सम्झन चाहन्छु ।
स्मरण १. भौतिकवादमा विश्वास गर्ने एक मित्र भेट्न म बिहान साँढे आठ बजेतिर गएको थिए, उनी रेडियोबाट आउने ज्योतिष दर्पण भन्ने कार्यक्रम सुन्दै रहेछ । इन्जिनियरिङ पढ्ने उनी हस्तकलाको किताब सिरानीमा राख्दो रहेछ । उनी हाम्रो हात हेरेर भूत र भविष्य आकलन गर्ने भइसकेको रहेछ । उनले नै मलाई यस्ता कुराहरू हामीलाई पछाडि पार्न रचिएको उच्चजातिय अहंकारवादीहरुको एक षड्यन्त्र भनी बताउँदथे ।
स्मरण २. दामन पाख्रिनबारे सोध खोज गर्ने क्रममा नेपाली काँग्रेसका एक नेताले “डाबोन कुटपिट, लुटपिट गर्ने रजहनी डाँका गरेका एक जघन्य अपराधी हुन्” भने । कारण र आरोप थियो, उनी पार्टीले घोषणा गरेको कुनै पनि आन्दोलनमा सहभागी थिएनन् । उनी आफ्नै पारिवारिक रिसले बाहुन कुट्दै हिँडेका मानिस हुन् ।
स्मरण ३. विद्रोह नै हैन । यो लुटपाट हो । पश्चिम एक नम्बरमा त्यसबेला जे भयो त्यो कुटपिट र लुटपाट बाहेक केही थिएन । न बैठक बसेको थियो, न त निर्णय गरेको थियो । जो जोलाई जे जे गर्न मन लाग्छ त्यो गरेको थियो । काम नगरी खान रुचाउनेहरूको काम थियो । त्यसैले यो विद्रोह हैन । तिमी कति यो विद्रोह भनी पछ्याइ रहन्छौँ बाबु भनेर मैले सम्मान गर्ने एक अग्रजले यात्रालाई निरुत्साहित गर्नु भो ।
यी स्मरणहरूसँगै यस लेखमा तामाङहरूमा ल्हो पद्धति र खनियाबास विद्रोहलाई दामन पाख्रिन यानेकी डाबोनसँग घुलमिल गराउने प्रयास गरेको छु ।
न्वारनको दिन डाबोन नामकरण गरिएको थियो । डाबोन सरकारी लेखोटमा आउँदा दामन लेखियो । राज्यले तामाङ थर लेख्न नदिएकाले थर अगाडि बढाए र भए दामन पाख्रिन । सन् १९३७ (पासपोर्टमा उल्लेख भएअनुसार) मा जन्मनु भएका दामन सुरुमा आफ्नै मुक्तिका लागि लड्नु भो ।
उहाँलाई काम गर्ने मेलामा साहुँहरुले हपारेको, हेपेको र पेटभर नपाएको झोँकमा घर छाडेर हिँड्दथे । एक ल्हेकोर आसपासमा नै घर छाडेर विभिन्न गाउँहरू घुमेका’ थिए । पश्चिम एक नम्बरभर उस्तै थिचोमिचो, अन्याय, अत्याचार, दमन र शोषण देखेर उनको मथिंगल हल्लन्थ्यो । अठार वर्षको उमेमै लाहुर गएका उनी फर्कँदा बुबा ऋणमा डुबेको पाए । २२ वटा मुद्दा हारेर ऋणमा फसेको बुबालाई एक्लै छाड्न सकेनन् ।
कारण खोज्दै जाँदा घर बनाउन किनेको जग्गामा कचिंगल र मुद्दा परेको थियो । ४२०० ऋणको साँवा-ब्याज गरेर १,८००० भएको थियो । त्यसमाथि समय समयमा व्याज तिरेका थिए । त्यसैले उनले साँहुहरु पिट्न थाले । उनको पछि लागेर सबैले आफ्ना साहुँहरुसँग विद्रोह गरे । मिलाउने आउने पुलिसको नियतले गर्दा निर्घात पिटे, थुनेर राखे ।
संगीन बोकेका मिलटरी समेतसँग बडाहाकिमको टोली गुन्मुङमा आइपुगे । सबै आसामीहरूको नाजायज ऋणहरू बडाहाकिम टोलीले बदर गरिदिए । स्याबासी पाए, ताली पाए । त्यसको लागि दामन र अन्य योद्धाहरूले जेल जान पर्यो । गद्गद भएर तीन महिना जतिको कठोर जेलयात्रा सहज स्वीकार गर्नुभयो ।
काँग्रेसका पश्चिम एक नम्बरका सभापति जगतप्रकाश जङ्ग शाह जमानी बसेर जेलबाट निस्कँदा थाहा भो त्यो त राजनीतिक खिचातानीको विषय भइसकेको थियो । असमञ्जसयता बढ्यो । खेतबारीमा काम गर्न अवज्ञा र असहयोग गर्न लगाउनु भयो । मोहियानी दाबी गर्न सिकाउनु भयो । अन्तिममा साँहुहरुको घर भकारीमा हात हाल्नु भयो । साहुँहरु तितरबितर भयो । पञ्चायतले साहुँहरुको पक्ष लियो ।
दामन पाख्रिन लगायतका विद्रोहीहरू ७ वर्ष लामो कारावासमा बन्द गराइदियो । कारावासले जीवन भोगाइको अर्थ सिकाइदियो । विद्यालयको सञ्चालक बन्नु भयो । शिक्षक बन्नु भयो । वारेन्ट आए पछि १८ महिना निर्वासन जानु भयो । पार्टीका जिम्मेवार नेताले १५ महिनासम्म पाउने भत्ता पनि दिइएन, पञ्चायतको सुराकी ठानेर । २०२६ पछि नेताहरूसँगै फर्कनु भयो । प्रधानपञ्च हुनु भयो ।
जनता र समाज परिवर्तनको लागि काम गर्दा गर्दै सुत्केरी भएकी श्रीमतीको स्याहारसुसार गर्न समय निकाल्न सक्नु भएन । जीवनसाथी भन्टाङ भुन्टुङ चार सन्तान छाडेर सदाको लागि निदाउनु भयो । पञ्चायतलाई फाल्न हतियार उठाउन तयारहरूको रगतको छाप सहितको नामावली पुर्याउन पार्टी मुख्यालयमा नपुग्दै हेटौडामा कागज पत्र बरामद भयो । धन्न खेतै खेत खोलाको तीर-तीर भएर भारत पुग्नु भयो । राजकाज मुद्दा लगाई उहाँहरूको बुबा समेतलाई सर्वस्वहरण गरियो । चल सम्पत्ति लग्यो, पशुधन समेत लग्यो । अचल सम्पत्ति रोक्का भयो । बहुदलको पक्षमा लाग्नु भयो ।
दुई पटक जिल्ला पञ्चायतमा उम्मेदवारी दिनुभयो । पराजित हुनु भयो । राष्ट्रिय पञ्चायत लड्नु भयो, हार्नु भो । बिरक्तिएर हिँड्नु भयो । बहुदलपछि प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भयो । मध्यवतिमा पराजित हुनु भयो । सदनमा सामान्य कृषक, दुःखी गरिब जनताको प्रतिनिधित्व गर्नु भयो । तल्लो सर्वहारा वर्गको मागहरू राख्नु भयो । विकासका लागि पहल कदमी लिनुभयो । पार्टीको जिल्ला सभापति बन्नु भयो । घाटीको क्यान्सरको कारण ६२ वर्षको उमेरमा आजैका दिन दुःखत अन्त्य भयो ।
आफ्ना झोकमा हात हाल्नु भएको पक्का हो तर यो समग्रको प्रतिनिधित्व हो । यो विद्रोह हुन नसकेको भए आज पर्यन्त त्यहाँका आसामीहरूको हालत के हुन्थ्यो रु साहुहरूको थिचोमिचो, अन्याय, अत्याचार, दमन र शोषण कुन हदसम्म पुग्थ्यो रु त्यो कल्पना पनि गर्न डर लाग्छ । यो विद्रोहले राष्ट्रिय राजनीतिमा समेत स्थान पाएकाले यो व्यक्तिगत रिसिइबी मात्र हो भनी कसैले भन्छ भने त्यो अध्ययनको कमीको उपज मात्र हो ।
त्यसैले त्यो गौरवपूर्ण विद्रोहको कारण हजारौँ परिवारले मुक्ति पाएका थिए । त्यसैले खनियावास विद्रोहका नायक स्व। दामन पाख्रिन (डाबोन) लाई सबैले आज पर्यन्त जेसिङन्हङकी अन्तरे डाबोन भनेर सम्झिराखेका छन् ।