इटहरी । “मुद्दा शाखाका कर्मचारीहरू, तपाईंहरू धेरै सचेत हुनुहोला। सेवाग्राहीसँग अनावश्यक अपेक्षा राख्ने वा दुःख दिने नियत देखियो र त्यसबारे आरोप प्रमाणित भयो भने कडा कारबाही हुन्छ,” कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआईजी विनोद घिमिरेले बुधबार इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै भने ।
उनका अनुसार अहिलेको परिस्थितिमा प्रहरीको हरेक गतिविधि तत्काल सार्वजनिक हुने अवस्था छ । “सामाजिक सञ्जालको माहोल छ, प्रहरीले गल्ती गरे क्षणभरमै भिडियो वा अडियो बाहिरिन्छ। त्यसपछि बदनामी मात्र होइन, जागिर जाने र परिवारसम्म दीर्घकालीन असर पर्ने स्थिति आउँछ, त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्छ,” उनले थप चेतावनी दिए ।
मुद्दा शाखापछि इलाका प्रहरी कार्यालय तथा मातहतका इन्चार्जहरूलाई निर्देशन दिँदै डिआईजी घिमिरेले नागरिकको हित विपरीत कुनै पनि काम गर्ने छुट प्रहरीलाई नभएको स्पष्ट पारे । सीमित स्रोतसाधनका बीच पनि फिल्डमा खटिनुपर्ने बाध्यता रहे पनि नागरिकको शान्ति सुरक्षा र कानुन कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो । उनले सदैव सभ्य, शिष्ट र नम्र व्यवहारका साथ नागरिकसँग प्रस्तुत हुन निर्देशन दिए ।
आर्थिक अनियमितता वा विवादमा कुनै पनि प्रहरी कर्मचारी संलग्न भएको पाइएमा कठोर कारबाही हुने चेतावनी दिँदै उनले भने, “यस्तो अवस्थामा जागिर नै समाप्त हुने अवस्था आउन सक्छ, त्यसैले सबैले चनाखो र जिम्मेवार भएर काम गर्नुहोस्।”
डिआईजी घिमिरेले अपराध अनुसन्धान प्रक्रियालाई प्रमाणमुखी तथा वैज्ञानिक बनाउनुपर्नेमा जोड दिँदै पेन्डिङ मुद्दाको फर्छ्यौट, फरार अपराधीको पक्राउ तथा अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन समेत निर्देशन दिए ।
ब्यारेकमा पानी चुहिन थाल्यो, जग्गा प्राप्तिको पहल अझै ओझेलमा
जेनेजी आन्दोलनका क्रममा ध्वस्त भएको इलाका प्रहरी कार्यालय इटहरी हाल इटहरी रंगशालास्थित ज्येष्ठ नागरिक योग भवनमा अस्थायी रूपमा सञ्चालन भइरहेको छ। आन्दोलनपछि इटहरी उपमहानगरपालिका तथा विभिन्न सामाजिक संघ–संस्थाको पहलमा निर्माण गरिएको अस्थायी भवनबाट प्रहरीले सेवा प्रवाह गरिरहेको भए पनि भवनको अवस्था र दीर्घकालीन व्यवस्थापनबारे उच्च तहबाट अपेक्षित चासो नदेखिएको अबस्था छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआईजी विनोद घिमिरेले बुधबार अस्थायी प्रहरी कार्यालयको निरीक्षण गरे । यसअघि तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले आफ्नो कार्यकालको अन्तिम समयमा भवनको निरीक्षण गरेका थिए। केही महिनाअघि प्रदेश सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आएका प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले समेत इटहरीस्थित भवन निरीक्षण गर्ने कार्यक्रम रहे पनि त्यो सम्भव हुन सकेको थिएन।
स्थानीय सरकार र सामाजिक संघ–संस्थाको पहलमा बनेको भवनको अवस्था तथा प्रहरी कार्यालयका दीर्घकालीन आवश्यकताबारे उच्च तहबाट निरीक्षण अनुगमन हुँदा स्थायी जग्गा प्राप्ति र भवन निर्माणका विषयमा ठोस छलफल हुने अपेक्षा गरिएको थियो। तर हालसम्म त्यसतर्फ पर्याप्त ध्यान नदिइएको स्थानीय सरोकारवालाहरूको भनाइ छ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमाल तथा भवन निर्माण अभियानमा संलग्न सामाजिक अगुवाहरू अहिले प्रहरी कार्यालयका लागि दीर्घकालीन जग्गा प्राप्तिको पहलमा जुटेका छन्। यद्यपि, आफ्नै निर्वाचन क्षेत्रका सासंदहरु समेत हालसम्म नयाँ प्रहरी कार्यालयको निरीक्षणमा नआएको उनीहरूको गुनासो छ।
सुनसरी–३ का सांसद अशोक चौधरी र सृष्टि भट्टराईले प्रहरी कार्यालयका लागि जग्गा उपलब्ध गराउने विषयमा पहल भइरहेको दाबी गरे पनि औपचारिक रूपमा हालसम्म कुनै ठोस प्रगति देखिएको छैन। भवनको अवस्था र जग्गा व्यवस्थापनबारे समेत पर्याप्त चासो नदेखाइएको आरोप छ।
निरीक्षणका क्रममा डिआईजी घिमिरेले भवन सुविधासम्पन्न देखिए पनि प्रहरी कर्मचारी बस्ने ब्यारेकमा पानी चुहिने समस्या रहेको भेटाएका थिए। वर्षायाममा सिनियर तथा जुनियर प्रहरी कर्मचारी बस्ने ब्यारेकको जस्ताबाट पानी चुहिएर खाटसम्म पुग्ने गरेको पाइएको छ।
“ब्यारेकमा पानी चुहिने समस्या देखियो। यसको समाधानका लागि आवश्यक पहल गरिनेछ,” डिआईजी घिमिरेले निरीक्षणपछि बताएका छन्। डीएसपी सुवास हमालका अनुसार ब्यारेकमा पानी चुहिने समस्याबारे इटहरी उपमहानगरपालिकालाई जानकारी गराइसकिएको छ।
यसैबीच, सामाजिक अगुवा सन्त डुम्जनले अस्थायी भवन निर्माण भए पनि प्रहरी कार्यालय अझै धेरै अभावबीच सञ्चालन भइरहेको बताए। “दुःख–सुख भवन बनेको छ। तर सबैभन्दा ठूलो उपलब्धि भनेको इलाका प्रहरी कार्यालयका लागि दीर्घकालीन जग्गा प्राप्त गर्नु हो,” डुम्जनले भने, “यस विषयमा सभामुखदेखि कृषि मन्त्रालय र स्थानीय जनप्रतिनिधिहरू सबै जानकार छन्। तर पछिल्लो समय जग्गा प्राप्तिको पहल सेलाएको जस्तो देखिएको छ।”
उनका अनुसार अस्थायी भवनले सेवा सञ्चालनमा सहजता ल्याए पनि दीर्घकालीन समाधानका लागि स्थायी जग्गा र भवन निर्माण अपरिहार्य छ। बुधबारको निरीक्षणपछि डिआईजी घिमिरेले प्रस्तावित प्रहरी कार्यालय भवन निर्माण स्थलको समेत अवलोकन गरेका थिए। इटहरीस्थित जुट अनुसन्धान केन्द्रको जग्गा कृषि मन्त्रालयमार्फत इलाका प्रहरी कार्यालय इटहरीको नाममा ल्याउने पहलमा आफूले पनि आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।




















