राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
‘कालीदेवी ।’
‘काली’ नाम लिने बित्तिकै भयंकर डरलाग्दो महाकालीको रूप अगाडि उभिन आइपुग्छ । मुण्डमाला धारण गरेकी, लामो जिब्रो निकालेर अट्टहास गर्दै हुङ्कार गरिरहेकी महादेवीको छातीमा कुल्चिरहेकी महाकालीको रूप हो । कालीदेवीका धेरैजसो चित्रणहरूमा, कालीलाई कालो वा तीव्र निलो छालाले चित्रण गरिएको छ। उनले मानव टाउकोको हार र काटिएको हातको स्कर्ट बोक्छिन् । कालीले एक हातमा टाउको काटेको र रगतले लतपतिएको तरबार लिएको देखिन्छ । यी चित्रणहरूमा, उनी पूर्ण वा आंशिक रूपमा नग्न छिन्, धेरै हातहरू छन्, र उनको जिब्रो बाहिर टाँसिन्छ । त्यसबाहेक भुईँमा सुतिरहेका आफ्ना पति शिवमाथि काली उभिएर नाचिरहेको देख्न पाइन्छ । पौराणिक स्रोतहरूमा काली विभिन्न सकारात्मक र नकारात्मक पक्षसहित देखिन आइपुग्छिन् । यसकारण भन्ने गरिन्छ कि काली सबैभन्दा गलत रूपमा बुझिने देवी पनि हुन् ।
भन्नु परोइन, काली हिन्दु देवी पार्वतीको भयंकर रूप हो । यसकारण कालीलाई कौशिका पनि भन्ने गरिन्छ । पौराणिक विवरणअनुसार, पार्वतीले कालीलाई दारुकासँग लड्नको लागि सृष्टि गरेकी थिइन् । दारुका एक शक्तिशाली राक्षस थिए, जसलाई एक महिलाले मात्र मार्न सक्दथी । यस पौराणिक कथाका अनुसार, पार्वती र शिवले कालीलाई जीवनमा ल्याउन सँगै काम गर्छन् । पार्वतीको कर्मद्वारा शिवको गलाबाट कालीको उत्पत्ति हुन्छ । संसारमा आएपछि कालीले योजना अनुसार दारुकाको विनाश गर्दछिन् । यद्यपि, कालीको अनिवार्य उपस्थिति देवी माहात्म्यमा लगभग ६ सय ईसा पूर्व भएको कथ्यहरू पनि भेटिने गर्दछन् । जसअनुसार, योद्धा देवी दुर्गा सिंहमा सवार भएर प्रत्येक हातमा हतियार लिई महिषासुरसँग युद्ध लड्दै थिइन् । त्यति नै बेला उनको क्रोधद्वारा दुर्गाको निधारबाट कालीको उत्पत्ति भयो । यसक्रममा उनले बाटामा भेटिए जति सबै राक्षसहरूलाई भस्म गर्न थालिन् । यो हत्याको लहर अनियन्त्रित हुन् पुग्यो । उनले आफूले मारेका सबैका टाउको लिएर घाँटीमा मुण्डमाला धारण गरिन् । उनको यस विनाशको नृत्यलाई रोक्नको लागि शिवले आफूलाई कालीको पैतालामुनि राखिदिए । कालीको खुट्टामुनि शिवको चित्रण कालीदेवीको प्रसिद्ध चित्रलेखन हो ।
महाभागवतका अनुसार महाकाली मुख्य हुन् । कालीले राज्यको रक्षा गर्छन् भन्ने मान्यता रहिआएको छ । यसकारण कालीदेवी नेपालको पूर्वदेखि पश्चिमसम्म सुनिने निकै लोकप्रिय देवीको नाम हो । दुर्गासप्तशती (देवीमहात्म्यरचण्डी पाठ)मा दुर्गालाई देहाय का ११ नामले वन्दना गरिएको छ ( ‘जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः’
कालीको ध्यान श्लोक यसप्रकार छः
शवारूढाम् महाभीमाम् धोर दंष्ट्रां हसन्मुखीम्
चतुर्भुजाङ खड्ग मुण्ड बरा भय करां शिवाम् ।।
मुण्डमाला धरां देवी ललज्जिह्वां दिगम्बराम्
एवं संचिन्तयेत् काली श्मशान लय बासिनीम् ।।
८८८
नेपालका प्रायस् स्थानहरूमा कालीदेवीको मन्दिर भेटिन्छ (र, कालीका मन्दिर मसान सँगसँगै रहेका पनि भेटिन्छन्), जसले कालीदेवी नेपालको भूगोलमा लामो समयबाट रहँदै आएको र विभिन्न भेगका नेपालीहरूले पूजा गर्दै आएको कुरालाई जोड दिन्छ । ‘शत्रुले दुःख दिएमा कालीको सेवा गर्नुपर्छ शुभ हुन्छ । कालो बाती बालेर पाठ गर्नुपर्छ, शुभमंगल हुन्छ । कालीले शनि दोष पनि निवारण गरिदिन्छन् ’ भन्ने आम विश्वास नेपालभर प्रचलित छ । कालीको मौलिक पूजा र आराधना गर्नुमा उनमा रहेको तान्त्रिक देवीको भूमिका पनि एक हो । तन्त्रप्रधान पौराणिक आख्यानमा कालीलाई डरलाग्दो नभई जवान, मातृत्व र कामुक रहेको बताइन्छ । उनको कथाहरू सुनाउने बंगाली कविहरूले उनको कोमल मुस्कान र आकर्षक विशेषताहरूको साथ वर्णन गरेका छन्, जसमा उनले तान्त्रिक सृजनात्मकता र सृष्टिको शक्तिहरूको प्रतिनिधित्व गरेकी छन् । यसैगरि, आधुनिक समयमा काली, उनको अव्यवस्थित चरित्र र अदम्य कार्यहरूका नारीवादको प्रतीक समेत बन्न पुगेकी छन् । २०औँ शताब्दीको नारीवादी आन्दोलनहरूमा उनी नारीवादी आन्दोलनको प्रतीक एवं एक राजनीतिक व्यक्तित्व समेत बन्न पुगेकी छन् । समग्रमा हेर्दा, काली समय, मृत्यु, विनाश, प्रलय, कामुकता, हिंसा र मातृप्रेम र संरक्षणकी देवी हुन्।
कालीदेवीको यस्तै एउटा मन्दिर धादिङको सिद्धलेक-४ स्थित साबिकको सलाङ गाविसको आरुबासमा पनि रहेको छ । मगर, बाहुन, नेवार आदि समुदायको १०० भन्दा बढी घर रहेको यस ग्राम्य क्षेत्रमा पानीको हाहाकार भएता पनि कालीदेवीले रक्षा गरिरहेकी छन् भन्ने आम विश्वास भेटिन्छ । कालिकादेवी यस भेगकी प्राचीन देवी हुन् । यस गाउँको शिरमा सिद्धलेक अर्थात् सिद्धबाबाको मन्दिर समेत रहेको छ । नाथ सम्प्रदाय अन्तर्गत सिद्धबाबा शिवको एक अंश हुन् भने कालीदेवी पार्वतीको रूप हुन् भने माथि पनि चर्चा गरियो । अतः आरुबास शिव र पार्वतीद्वारा रक्षित छन् भन्ने जनविश्वास यहाँ भेटिन्छ ।
ऐतिहासिक तथा पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण यस मन्दिरमा राना परिवारले पूजाआजा गर्दै आएका छन् । पहिलाका मूल पुजारीका छोरा बाहिर रहेकाले अहिले उनका भतिजले पूजाआजाको काम सम्हालिरहेका छन् । पुजारी दिनेश रानाको विवाह भएको छैन, त्यसैले पूजापाठको काम उनले गरिरहेको स्थानीय बताउँछन् । यस मन्दिरमा कुमार केटाले कालीको पूजाआजा गर्ने रीति रहेको छ । मन्दिर गुठी खोसिएकाले पूजापाठका क्रममा सङ्कलित भेटिले नै मन्दिरको दैनिक पूजा र व्यवस्थापनको काम हुँदै आएको छ ।
१.विद्यार्थीहरू आफूलाई ‘काली देवी चढेको’ भन्ने गर्थे ।
मन्दिरसँगै ‘कालीदेवी माध्यमिक विद्यालय’ पनि रहेको छ । स्थानीय राजेन्द्र तोया थापा मगरका अनुसार हालको विद्यालय पनि सो स्थानमा थिएन । उनी भन्छन् ‘ स्कुल पनि पहिला यहाँ थिएन रे । तलतिर कतै थियो । हामीले देखेनौँ । हाम्रो बुवाहरूले पढ्नुभएको, यहाँ पछि सारेको हो ।‘ अहिले यस विद्यालयमा २२० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
२०२० सालदेखि सञ्चालन भइरहेको यस विद्यालयका छात्राहरू बेहोस हुने, काम्ने खबरले केही समय अघि निकै चर्चा समेत बटुलेको थियो । स्कुलमा बच्चाहरू काम्दै ‘देउता भन्ने, केके भन्ने’ गर्न थालेपछि मनोपरामर्श टोलीलाई पनि बोलाइएको थियो । यद्यपि मनोपरामर्श टोलीले केही थाह पाउन नसकेको विद्यालय मर्मतका काममा संलग्न अन्य स्थानीयवासीहरू बताउँछन् । त्यतिबेला कुनै ठोस निर्णयमा मनोपरामर्श टोली फर्किएको उनीहरू बताउँछन् ।
यसप्रकार अनियन्त्रित रूपमा कामेका विद्यार्थीहरूले आफूलाई ‘काली देवी चढेको’ भन्ने गर्थे । त्यसपछि यस समस्याको समाधानका लागि अर्कै उपाय खोज्नतिर लागियो । केही मानिसले खुला ठाउँमा पिसाब गर्ने गरेको हुनाले त्यसको असर छात्राहरूमा परेको बुझियो किनभने स्कुल मन्दिरकै प्राङ्गणमा रहेको थियो । मन्दिर प्राङ्गणलाई बारेपछि विस्तारै उक्त समस्या हराउँदै गयो ।
अहिले पुरानो स्थानबाट देवीलाई सारेर बेग्लै दुई वटा छानो भएको सिमेन्टेड मन्दिर बनाइएको छ । मन्दिर छेउमा निकै पुरानो पिपलको रुख रहेको छ । पुर्खौँदेखि उक्त रुख सोही स्थानमा रहेको स्थानीय बताउँछन् । मन्दिरको बाहिरी भागमा इँटा अङ्कित रातो चिन्हहरू कोरिएका छन् । भूकम्प जानुभन्दा अगाडी ७० सालतिर सो मन्दिर बनाइएको हो । यद्यपि पुरानो स्थानमा पनि श्रद्धापूर्वक पूजाआजा गर्ने गरिन्छ ।
पुरानो स्थानमा एकापट्टि भोग खाने देवी रहेकी छिन् भने एकापट्टि भोग नखाने देवी विराजमान छिन् । सामान्यतया, कालीलाई दाल, फलफूल र चामलबाट बनेको मिठाई र खाना प्रस्ताव गरिन्छ। तान्त्रिक परम्परामा कालीलाई पशुबलि चढाइन्छ । यसर्थ, यहाँ दुवैखाले कालीदेवीको आराधना गरिन्छ ।
यहाँ जनैपूर्णिमा, देवी पूर्णिमामा, असारे पूर्णिमामा पनि विशेष पूजा गर्ने गरिन्छ । असारमा गर्ने पूजालाई बर्खे भागको पूजा भनिन्छ । अन्य मन्दिर जस्तै दसैँको अष्टमीका दिन मन्दिरमा बोकाहरू काट्ने गरिन्छ । यसैगरि, यहाँ कालिका देवीको जात्रा तिहारपछिको चौथीको दिन लाग्ने गर्दथ्यो, जसको चर्चा धादिङ जिल्लाभर हुने गर्दथ्यो (यसबारे थप चर्चा तल गरिनेछ ।) यो परम्परा धेरै पुरानो रहेको स्थानीय दाताराम सिलवाल बताउँछन् । “दुःखको कुरा जात्रा र मेलाले आफ्नो मौलिकता हराउँदै गइरहेका छन् । पहिला(पहिला त यहाँ विभिन्न जात-जातिले आ-आफ्ना मौलिक संस्कृतिहरू प्रदर्शन गर्थे । घाटु नाचहरू पनि देखाइन्थ्यो । अहिले त टाढाटाढासम्म यस्ता नाचहरू भेट्न सकिँदैन”, उनले भने । सिलवालले मैधीमा मगर घाटु, सल्यानटारमा दराई घाटु देखेका थिए । तर, ती पनि अहिले लोप भएकोमा उनले चिन्ता समेत व्यक्त गरे।
आरुबासको सबैभन्दा पुरानो यस मन्दिरको कुनै गुठी थिएन र छैन । स्थानीय दाताराम सिलवालका अनुसार, पहिला भने मन्दिर गुठी थियो । कुनै शासकको पालामा कुनै सामन्तीले गुठी खाइदिएको उनी बताउँछन् तर नाम भने सम्झन सक्दैनन् । गुठीको ९ र १० मुरी धान हुने खेत रहेको उनले सम्झिए । देवी नाममा चतुरामा ‘बिरुवा’ भन्ने खेत समेत थियो । त्यो पनि कसैले लुटेर खाइदिएकोमा उनले गुनासो सुनाए ।
हाल कालीदेवी मन्दिर समितिको अध्यक्ष नरबहादुर पुलामी छन् भने कालीदेवी माध्यमिक विद्यालयको प्रधानाध्यापक बाबुराम तामाङ रहेका छन् ।
२.हराउँदै गयो कालीदेवीको ‘चौथी जात्रा’
प्राकृतिक, धार्मिक र सांस्कृतिक हिसाबले सम्पन्न धादिङमा अनुभव गर्न सकिने एक विशेष सांस्कृतिक कार्यक्रम कालिका देवीको जात्रा पनि हो, जो हाल देख्न पाइँदैन ।
कालिका माविका लेखा शिक्षक दीपेन्द्र सिलवालका अनुसार मन्दिरमा तिहारको चौथीको दिन भव्य मेला लाग्ने गथ्र्यो । पहिला चैनपुर, मैधी, खरी लगायतका धेरै ठाउँबाट मानिसहरू देवीको दर्शन गर्न एवं जात्रा अवलोकन गर्न यहाँ आउँथे । माओवादी द्वन्दकालसँगै उक्त मेला हराउँदै गयो । सिलवालले पनि केही वर्ष उक्त मेला हेर्ने मौका पाएका छन् । उनी भन्छन्, ‘पहिला हाम्रो हजुरबुवाहरू मेला हेर्न आउनुहुन्थ्यो ।‘
मेलाको रौनक कम भएता भनी सामान्य विधिविधान आज पनि बाँकी छ । तिहारको ठुलो चौथीको दिन विशेष जात्रा लाग्ने यस मन्दिरमा जात्राको भोलिपल्ट अर्थात् पञ्चमीको दिन पन्चवली दिइन्छ । पन्चवलीमा पाँच थरिका जीवको बलि दिएर भोग लगाइन्छ ।
नजिक-नजिकै रहेका कालिका, मालिका र डाँडा गाउँ भन्ने स्थानमा रहेकी चतुरामाई तीन दिदीबहिनी हुन् । कालिकामा चौथीको रातमा मेला लाग्ने गथ्र्यो । अहिले चाहिँ धेरै गोलमाल, झगडा हुने भएर चौथीको दिन बिहान बत्ती बाल्ने आदि मात्र गरिन्छ । बेलुका फुलको डोली तयार गरिन्छ । तयार गरिएको एउटा साझी डोलीसँगै गाउँले र वरिपरीकाले अलिअलि पैसा उठाएर बेलुका डोली लाने गर्छन् । त्यसैगरि भोलीपल्ट बिहान एउटा बलि दिने गरिन्छ ।
डोरीमा तोरण पिपल आदिको तोरण टाँगेर, महादेव र देवीका लागि दुइटा चरुवा बनाइन्छ । राती महादीप बाल्छन् र जागाराम बस्छन् । भोलीपल्ट बिहान त्यहाँ एउटा बोको काटेर बलि चढाएपछि डोली फिर्ता लिएर आउने चलन छ । जात्रामा बत्ती बाल्नको लागि गाउँपालिकाका तीनवटा वडाका मानिसहरू भेला हुन्छन् । प्रायजसो पहिलाको ७,८ र ९ वडाका मानिसहरू र बिहेवारि गरेर यताउता गएका चेलीबेटीहरू यो कार्यक्रममा सहभागी हुने गर्छन् ।
३. संरक्षणको पर्खाइमा कुटी डाँडा
आरुबास क्षेत्रमै प्राचीन अस्तित्व बोकेको कुटी डाँडा रहेको छ । जहाँ कुटीको भग्नावशेष अहिले पनि बाँकी रहेको छ । स्थानीय दाताराम सिलवालका अनुसार त्यहाँ सिद्ध जोगीहरू बस्ने गर्दथे, जो उनले पनि देखेका थिए । जग्गाको वर्गीकरण गर्दा उक्त ठाउँ पनि टिपाइदिएको सिलवाल बताउँछन् ।
(भेडाबारीका दाताराम सिलवाल, भक्त बहादुर परियार र राजेन्द्र तोया थापा मगरसँग जात्राका बारेमा गरिएको कुराकानीमा आधारित । )
अन्त्यमा,
स्थानीयरूपमा चन्दा उठाएर निर्माण गरिएको कालीदेवी मन्दिरले थप संरक्षण र अभिभावाकत्त्वको खोजी गरिरहेको छ । यो ठाउँ स्थानीयको धार्मिक आस्थाको केन्द्रसँगै पर्यटकीय क्षेत्र पनि हो । धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको यस मन्दिरको यसको बृहत्तर विकास, संरक्षण, संवद्र्धन एवं प्रचारप्रसारका लागि सरोकारवाला निकायहरूको ध्यानाकर्षण आवश्यक छ । मन्दिरको दर्शन तथा यहाँ घुम्न जाने पर्यटकलाई लक्षित गरेर पाटी, पौवासँगै विश्रामस्थलको निर्माण लगायतका कामहरू थालनी गर्नु उपयुक्त हुनेछ ।
(राहुल भट्ट, सिजन भट्ट र सुरज पराजुलीको सहकार्यमा स्थलगत भ्रमण र तत्पश्चात लेखन तथा सम्पादन गरिएको हो)