काठमाडौंः शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले, विद्यार्थी विदेश पलायन हुने विषय राष्ट्रको गम्भिर विषय भएको स्वीकार गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘शिक्षा क्षेत्रमा देखिएको गम्भिर चुनौती चाँही

विद्यार्थीहरु विदेश पलायन हुने हो । यो कुनै एउटै कारणबाट भएको छैन । यसमा धेरै कारणहरु जिम्मेवार छन्।’

अधिक राजनीतिकरणले शिक्षा क्षेत्र अस्तव्यस्त भएको उनको टिप्पणी छ । 

‘शिक्षा क्षेत्रमा देखिएको अस्तव्यस्तता, अधिक राजनीतिकरण हो । म पढछु मात्र म राजनीति गर्दीन भन्ने विद्याथीहरु भातृ संगठनको चपेटामा परेर पलायन हुने अवस्था छ ।’ उनले भने । 

त्यस्तै उनले मधेश प्रदेशको शिक्षा क्षेत्रमा कम बजेट छुट्याएको भन्ने आफूलाई नलागेको बताएका छन् । 

‘मधेश प्रदेशमा शिक्षामा बजेट कम भयो भन्ने मलाई लाग्दैन तर आवश्यक परेजति सबै ठाउँमा पठाउन सकिएको छैन । त्यो सत्य हो । ’

उनले देशभरको शिक्षा क्षेत्र सुधारका लागि आवश्यक पहल भइरहेको दाबी गरे । ‘गुणस्तरिय शिक्षाको लागि आवश्यक कार्यहरु भईरहको छ । त्यसमध्ये सबै भन्दा धेरै लगानी हुने एउटा योजना चलिरहको छ । विद्यालय शिक्षा क्षेत्र योजना । यसमा हामीले विद्यालयको गुणस्तर बनाउने काम गरेका छौं ।’