काठमाडौंः जनकपुरधामका आलु प्याजका व्यापारीहरु आन्दोलित भएका छन् ।

बुधवार नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा आलु प्याजमा समेत मूल्य अभिवृद्धि कर लगाएको भन्दैं जनकपुरधामका आलु प्याजका व्यापारीहरु आन्दोलनमा उत्रेका हुन् । 

सरकारले लगाएको करबिरुद्ध जनकपुरधामका आलु प्याज, तरकारी बेच्ने थोक तथा खुद्रा व्यापारीहरुले बुधबार जुलुश निकालेर विरोध जनाएका छन् । उनीहरुले आलु प्याजमा लगाइएको कर फिर्ता गर, खुल्ला सीमा नाका बन्द गर लगायतका नारा लगाउँदै जनकपुरधामका बजार क्षेत्रमा जुलुस निकालेका छन् । 

आलु प्याजका व्यापारीहरुको समस्यालाई मध्येनजर गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जुलुशमा सहभागी भई सर्मथन जनाएका छन् ।

उनले सरकारले आलु प्याज लगायतका दैनिक उपभोगका वस्तुहरुमा लगाइएको कर फिर्ता नगरे आन्दोलनमा उत्रिने चेतावनी दिए । मुलुकलाई आत्मनिर्भर बनाउनका लागि जनताको ढाड सेक्ने गरी कर लगाए व्यापारी र जनता दुबैले नसहने भन्दै आक्रोस् पोखे ।