इनरुवाः जिल्ला प्रशासन कार्यालय, सुनसरीले आसन्न महान चाडपर्वहरू दशैं, तिहार र छठको अवसरमा कानून विपरीतका गतिविधि नगर्न सम्पूर्ण जिल्लाबासीहरूमा कडा चेतावनी दिएको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाद्वारा जारी गरिएको एक आधिकारिक सूचनामार्फत प्रशासनले यस्तो सचेत गराएको हो ।

प्रशासनले चाडपर्वहरू हर्षोल्लासका साथ मनाउने क्रममा जुवा, तास, लङ्गुरबुर्जा र हाउजी खेल्ने वा खेलाउने जस्ता गतिविधिहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । त्यसैगरी, मदिराको अत्यधिक सेवन गर्ने र मदिरा तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने जस्ता गैरकानूनी कार्यहरू नगर्न र नगराउन समेत जिल्लाबासीहरूमा विशेष अनुरोध गरिएको छ ।

WhatsApp Image 2026-10-15 at 20.37.44

कारबाहीको चेतावनी

प्रशासनद्वारा जारी सूचनामा कानून विपरीतका क्रियाकलापहरूमा संलग्न भएको पाइएमा जोकोहीलाई पनि तत्काल कानूनी दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने स्पष्ट पारिएको छ । चाडपर्वको समयमा हुन सक्ने विकृति, विसंगति र सम्भावित दुर्घटनाहरूलाई न्यूनीकरण गरी समाजमा शान्ति सुरक्षा कायम राख्न प्रशासनले यो कदम चालेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले चाडपर्वलाई सभ्य, मर्यादित, सुरक्षित र शान्तिपूर्ण वातावरणमा मनाउनका लागि सबैमा अपिल समेत गरेको छ ।