इनरुवाः सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीमा भएको गोली प्रहार घटनाका पाँच जना आरोपित पक्राउ परेका छन् ।
केटी जिस्काएको आरोपमा मध्यहर्षाहीका २४ वर्षीय निरज कुमार यादवमाथि भएको गोली प्रहार घटनाका पाँच आरोपितलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो ।
मध्येहर्षाहीस्थित बिपी चोक नजिकै रहेको लक्ष्मीनारायण मन्दिर अगाडि गत असोज ३ गते साँझ भएको गोली प्रहार घटनाका पाँच आरोपितलाई विभिन्न ठाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
घटनाबारे बिहीबार पत्रकार सम्मेलन गर्दै गोली प्रहार गरेर फरार रहेकाहरूमध्ये पाँच आरोपितलाई विभिन्न ठाउँबाट पक्राउ गरेको मल्लले बताए ।
उनका अनुसार पक्राउ पर्नेहरूमा सुनसरीको देवानगञ्ज वडा नं २ का १८ वर्षीय विष्णु कुमार यादव, सोही ठाउँका २६ वर्षीय लाली भन्ने जयकृष्ण यादव, २७ वर्षीय कुन्दन यादव, २६ वर्षीय रणधिर यादव र २३ वर्षीय सुशील यादव रहेका छन् ।
पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक मल्ले जानकारी दिए ।




















