भेडेटारः आजदेखि तीन दिनसम्म सञ्चालन हुने भेडेटार फुड फेस्टिबलको हेलिकोप्टर उडान प्याराग्लाइडिङभन्दा सस्तो हुने आयोजकको भनाइ छ । होटल एसोसिएसन भेडेटारको आयोजनामा हुने हेलिकोप्टर उडान ४ हजार ९ सय रुपैयाँमा नै हुने एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् ।

भेडेटारको काम्फेक डाँडामा आधार बनाएर उडान हुने हेलिकोप्टर सेवा अहिलेसम्मकै सबैभन्दा सस्तो उडान भएको रुम्दालीले जानकारी दिए । काम्फेक डाँडाको हेलिप्याडमा उभिएर बोल्दै रुम्दालीले भने, ‘प्याराग्लाइडिङ गरेको ७ हजार रुपैयाँ तर हेलिकोप्टर उडानको ४ हजार ९ सय । २१ सय सस्तो मै हेलिकप्टर उडान हुन्छ ।’ भेडेटार आसपासका २६ किलोमिटर क्षेत्रका पर्यटकीय क्षेत्र र हिमाल, पहाड तराईको हवाइ अवलोकन गराउने रुम्दाली बताउँछन् ।

आज २ बजे प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले औपचारिक उद्घाटन गर्ने फेस्टिबलमा ३० वटा स्टल हुने र स्थानीय जातीयका साथै स्वदेशी र विदेशी परिकार राखिने आयोजकको भनाइ छ । फेस्टिबलमा दैनिक राष्ट्रिय कलाकारको प्रस्तुति पनि हुने बताइएको छ ।