सप्तरीः सप्तरीको कञ्चनरुपमा १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा  प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार नाबालिका माथि डर धम्की देखाउँदै सामूहिक बलात्कार गर्ने  योजनाकार कैलाश पोखरेलसहित घटनामा संलग्न रहेका चार जनालाई पक्राउ गरिएको हो । 

कैलाशले नै सुदीप, मनोज र दीपेशलाई बलात्कार गर्न निर्देशन दिई आफ्नै अगाडि बलात्कार गर्न लगाएको बयान दिएको प्रहरीले जनाएको छ ।

असार २९ गते शुक्रबार मध्येराति ती नाबालिकाको घरमै पसेर चार जनाले कोही नबस्ने छेउको घरमा पुर्‍याएर कैलाशको निर्देशनमा पालै–पालो बलात्कार गरेको जाहेरीका साथै बयानबाट पनि खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनापछि ती किशोरीले परिवारलाई सुनाएपछि परिवारले साउन १ गते किटानी जाहेरी दिएका थिए । पीडितको जाहेरीको आधारमा चारै जनालाई नियन्त्रणमा लिई उनीहरू विरुद्ध “जबरजस्ती करणी सम्बन्धी कसुर” मा अनुसन्धान प्रक्रिया शुरु गरी म्याद थपका लागी सम्मानित सप्तरी जिल्ला अदालत तर्फ पठाइएको डिएसपी रायले बताए