जनकपुरधामः पञ्चायत जन्मिनुअघि नै जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) स्थापनाको योजना बन्यो। त्यो योजना ०१६ मा कांग्रेसका तत्कालीन सभापति बीपी कोइराला नेतृत्वको सरकारले बनाएको थियो। तर जनकपुरमै कारखाना ल्याउने श्रेय भने उनको सरकारका उद्योग तथा वाणिज्य मन्त्री रामनारायण मिश्रलाई जान्छ।
योजना त बन्यो तर त्यसको कार्यान्वयन हुन नपाउँदै १ पुस ०१७ मा राजनीतिले अर्को मोड लियो। निर्दलीय पञ्चायतको उदयपछि त्यो योजना तुहिन्छ कि भन्ने धेरैलाई शंका थियो तर त्यसो भएन। बरु योजनालाई मूर्त रूप दिन थालियो। त्यही क्रममा सबैभन्दा पहिले केही कर्मचारी नियुक्त गरियो। ती कर्मचारीमध्ये एक थिए, महोत्तरीको मनरा सिशवा-४ जाउखका रामनरित शर्मा। उनले ३१ असार ०१८ मा स्टोर किपरको जागिर थालेका थिए। ०५० सालमा व्यक्ति व्यवस्थापन महाशाखा प्रमुख (निर्देशक) छँदा उनी सेवानिवृत्त भए।
लगत्तै सोभियत संघ सरकारको आर्थिक तथा प्राविधिक सहायता र त्यतिबेला भनिने श्री ५ को सरकारको पहलमा ८ मंसिर ०१९ मा तत्कालीन उद्योग वाणिज्य मन्त्री वेदानन्द झाले जचुकालि निर्माणको शिलान्यास गरे। त्यसको दुई वर्षमै निर्माण सम्पन्न भयो।
‘दलमाथि प्रतिबन्धको अवस्थामा एकखालको निराशा थियो। जब तत्कालीन राजा महेन्द्रले २१ पुस ०२१ मा जचुकालिको उद्घाटन गरे, यस क्षेत्रमा नयाँ उमंग फर्कियो। हजारौं मान्छे त्यो क्षणको साक्षी र हर्षबढाई गर्न आए,’ शर्माले त्यो क्षण सम्झिए, ‘त्यो बेला अहिलेको जस्तो काम जिम्मा लिने तर समयमा नसक्ने अवस्था थिएन। त्यही कारण दुई वर्ष नबित्दै जचुकालिको उदघाटन भयो।’
जनकपुरधाम उपमहानगरपालिका-९ मा करिब ३३ बिघा नौ कट्ठामा फैलिएको यो कारखाना सरकारको मात्रै होइन, नागरिकको पनि जीवनको अभिन्न अंग बन्यो। ‘५० वर्ष पुरानो इतिहास बोकेको यो कारखानासँग चुरोट मात्रै होइन, देशको अर्थतन्त्र जोडिएको थियो। मधेशका बासिन्दाको जीवन र नेपालीहरूको श्वास जोडिएको थियो। हुँदाखाँदाको त्यो कारखाना अहिले कंकालजस्तै छ,’ यसो भन्दै गर्दा शर्मा एकछिन निःशब्द बने।
विस्मृति र स्मृतिका ३२ वर्ष
सम्झिँदा पनि आजै हो जस्तो लाग्छ उनलाई जचुकालीको आँगनमा हाँसेको, खेलेको र ३२ वर्ष लामो उर्बर समय बिताएको। उनी जचुकालिको शुरुदेखिकै साक्षी हुन्। त्यसको जन्म र अवसान हुँदासम्मका हरेक पलपलको हेक्का छ। त्यसैले त यो ठाउँसँग उनको अगाध प्रेम छ। त्यही प्रेमका कारण उनले कारखानाको मूलद्वार नजिकै घर बनाए। तर, अहिले खण्डहरजस्तो देख्दा उनलाई नमिठो लाग्छ।
कुनै समय नेपाली अर्थतन्त्रमा जगजगी र देश विदेशमा वाहवाही कमाएको त्यो संस्थाको कंकाल हरेर बस्नुपर्दा विगतका सम्झनाले सताउँछ। विगत ताजा बनेर आउँछ, अनि मन भक्कानिन्छ। उफ ! अहिले त यहाँ किन बस्नुपरेको होला जस्तो लाग्छ !
मनमनमा जचुकाली
‘हुम्ला-जुम्लामा चुरोटको अभाव’ भनेर त्यो बेला सञ्चारमाध्यममा समाचार आउँथ्यो, जसरी अहिले चामल र औषधिको आउँछ। अनि खैलाबैला मच्चिन्थ्यो। तत्कालीन विभागीय मन्त्री र उद्योग मन्त्रालयको उच्च नेतृत्वबाट फोन आएपछि जचुकालिका महानिर्देशक र सम्बद्ध कर्मचारीमा एकखालको छटपटी हुन्थ्यो।
चेतना अभावले पनि होला, त्यो बेला अहिलेको जस्तो थिएन। अधिकांश नेपाली धुम्रपानको अम्मली थिए। नागरिकको त्यो अम्मललाई पूरा गर्न ७५ जिल्लामा १०५ कार्यालय राखेर जचुकालिले आफ्नो उत्पादन जिल्ला जिल्लामा पुर्याउँथ्यो।
अधिकृत पुँजी ८ करोड र जारी तथा चुक्ता पुँजी चार करोड आठ लाख ३७ हजार रुपैयाँ रहेको यस कारखानाले दैनिक दुई अर्ब खिल्ली चुरोट उत्पादन गर्ने सामर्थ्य राख्थ्यो। पछि आफ्नो आम्दानीबाट उत्पादन क्षमता बढाई तीन अर्ब खिल्ली पुर्याइयो। जचुकालिबाट त्योबेला उत्पादित चुरोटमा देउराली, याक र गैंडा निकै चर्चित ब्रान्ड थिए।
उत्पादन पनि राम्रो थियो। आकर्षण पनि थियो तर सडक विस्तार नभइसकेकाले मागअनुसार आपूर्ति गर्न निकै समस्या हुन्थ्यो। पूर्व-पश्चिम राजमार्ग बनेको थिएन। शुरुमा रेलको माध्यमबाट जनकपुरबाट भारतीय बाटो प्रयोग गरी जयनगर, रक्सौल, वीरगञ्ज हुँदै काठमाडौं, पोखरा, नेपालगञ्ज, महेन्द्रनगर, धनगढीलगायत मुख्य बजारमा ढुवानीको व्यवस्था मिलाइन्थ्यो। पछि पूर्व-पश्चिम राजमार्ग बनेपछि आफ्नै १० वटा जति ठूलो कन्टेनरको सहारामा ढुवानीको काम हुन थाल्यो।
यसमा स्थायी, करार, ज्यालादारी गरी करिब २९ सय कर्मचारी कार्यरत थिए। जचुकालिको कर्मचारी हुनुको मान, सम्मान र सान नै अर्कै थियो। उनी भन्छन्, ‘त्यो बेला झण्डै तीन-चार करोडको त सुर्ती खरिद गरिन्थ्यो। त्यसका लागि महेन्द्रनगर, ढल्केवर, गोदार, मिर्चैयालगायत स्थानमा स्थानीय किसानहरूले सुर्ती खेती गर्थे। यहाँबाट कच्चापदार्थ नपुगेपछि छिमेकी भारतबाट आपूर्ति गरिन्थ्यो।’
शुरुमा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर पैसा राखिन्थ्यो तर उसले त्यसरी राखिने पैसाको व्याज तिर्न नसक्ने बताएपछि नेपाल बैंक लिमिटेडलाई अनुरोध गरेर कारखाना परिसरमा शाखा राखिएको उनले जानकारी दिए।
जचुकालिले कमाउने मात्रै होइन, सामाजिक उत्तरदायित्वको नीतिअनुसार कर्मचारीहरूका लागि अस्पताल, तिनका सन्तानका लागि विद्यालय र जनकपुरका धार्मिक स्थल स्तरोन्नतिका लागि सहयोग, १२ बिघा मैदानमा माटो भरान तथा पर्खाल निर्माण, सार्वजनिक स्थलमा बिजुली, खेलकुदको विकासका लागि छुट्टै क्लब स्थापनाजस्ता कामहरू गरेको थियो।
‘फापेन प्रजातन्त्र’
पञ्चायतको कडा अनुशासनमा उद्योग चलिरहेको थियो। उद्योगका कर्मचारीहरू घडीको सुईजस्तै अनुशासित थिए। उनी भन्छन्, ‘बिहान ठीक ६ बजे कारखानामा बज्ने साइरनसँगै कर्मचारी र कामदारहरू उठेर कामका लागि तयार हुन्थे। त्यसले कर्मचारीलाई मात्रै होइन, जनकपुरलाई नै ब्युँझाउँथ्यो। जनकपुरलाई नै एउटा लयमा हिँडाएको थियो। त्यो आवाज अहिले पनि कानमा गुञ्जिरहेको आभास हुन्छ।’
२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि धेरैलाई पहिलो जननिर्वाचित प्रजातान्त्रिक सरकारको सपना जोडिएको यो संस्था राजनीतिक दल र त्यो सत्तालाई आफ्नो सन्तानजस्तै लाग्नेछ भन्ने लागेको थियो। कडा अनुशासनमा चलेको संस्थामा राजनीति घुस्न थाल्यो। कर्मचारीहरू राजनीतिक दलको सदस्यमा परिणत हुन थाले। महाप्रबन्धक राजनीतिक प्रभावका आधारमा नियुक्त हुन थाले। पञ्चायतका अन्तिम महाप्रबन्धक देवेन्द्रबहादुर साहलगायतको त्यो लय र प्रजातन्त्रका पहिलो महाप्रबन्धक अमृतनाथ रेग्मीलगायतको बोली, व्यवहार र रवाफ नै फरक देखिएको उनी स्मरण गर्छन्।
पञ्चायतकालमा मन्त्रीहरू भ्रमणमा आएको बेला केही कार्टुन चुरोट चढाउने र वर्षमा १-२ पटक पञ्चायत निकटका पत्रकार र पत्रपत्रिकालाई विज्ञापन दिन सरकारले निर्देशन दिन्थ्यो। तर, प्रजातन्त्र आएपछि उद्योगको नियमअनुसार काम गर्नेभन्दा पनि आफ्नो चाहनाअनुसार उद्योग चलाउन थालिएको उनी बताउँछन्। कतिपयले त उद्योगलाई कमाउने र आफ्ना निकटस्थहरूलाई भर्ति गर्ने स्थल बनाए।
जनताको मन-मनमा रहेको, नेपाली अर्थतन्त्रलाई चलायमान र यहाँका नागरिकको जीविकोपार्जनको भरपर्दो आधारस्तम्भ रहेको यो कारखाना चैत ०६८ देखि उत्पादन र २० असार ०७० देखि सम्पूर्ण रूपमा बन्द भयो। २० असार ०७० मा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले जचुकालिमा कार्यरत कर्मचारीहरूलाई अवकाश दिने निर्णयसँगै यो उद्योगमा ताला लाग्यो। सोही निर्णयका आधारमा कारखानामा कार्यरत स्थायी ७५८ र ज्यालादारी तथा करारका करिब दुई सय कर्मचारीलाई एकसाथ अवकाश दिइयो।
अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एउटा शाखाले जीर्ण संरचना र मेसिनहरूको रेखदेख गरिरहेको छ। केही सुरक्षागार्डले मेसिनहरूको सुरक्षा र निगरानी गरिरहेका छन्। तर, कारखानामा करोडौं मूल्यका मेसिन र उपकरणहरू खिया लागेर दिन प्रतिदिन प्रयोगहीन भएको शर्मा बताउँछन्।
बन्द रहेको जनकपुर चुरोट कारखाना क्षेत्रलाई मधेश प्रदेश सरकारले आफ्नो प्रशासनिक प्रयोजनमा प्रयोग गरिरहेको छ। अहिले यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को प्रशासनिक कार्य र निवासहरू छन्। राज्यले फेरि चुरोट उत्पादन गरी बेच्ने होइन तर एउटा इतिहास बोकेको संस्थालाई राजनीतिको थलो बनाउनुभन्दा उद्यमशीलताको केन्द्र बनाउनु उपयुक्त हुने उनको भनाइ छ।रासस