भेडेटारः हेलिकोप्टर चढ्दा डराइडराई चढेकी हजुरआमा जब हेलिकोप्टरबाट ओर्लिइन् आँखामा उत्साह देखियो । सञ्चारकर्मीको ध्यान उनकै अनुहारमा पोखियो । सबैले प्रश्न गरे, ‘हजुरआमा हेलिकोप्टर चढ्दा डर लागेन ?’

'के काे डर?, गाडिमा चडे जस्ताे पाे भाे ।'

आजदेखि ३ दिनसम्म चल्ने भेडेटार महोत्सवमा हेलिकोप्टर मुख्य आकर्षण थियो । सोही आकर्षणलाई नजिकबाट अनुभूत गर्न पुगेकी हजुरआमाको अनभुव जान्न इच्छुक पत्रकारले अनपेक्षित जवाफ पाएर छक्क परे । जीवनको ७५ औं वसन्तमा प्रवेश गरेकी साँगुरीगढी ४ की सानुमाया लिम्बूले यसअघि आकाशमा उडेको हेलिकोप्टरमात्र देखेकी थिइन् । जीवनको यो उमेरमा नजिकबाट छुने अवसर भेडेटार फुड फेस्टिबलमा पाइन् ।

भेडेटार फुड फेस्टिबलको अवसरमा भेडेटारका नजिकका पर्यटकीय क्षेत्र अवलोकन गर्न ल्याइएको सिम्रिक एयरको हेलिकप्टर चढ्न धेरै पर्यटक झुम्मिए । तीमध्येकी एक थिइन् लिम्बू । अन्य पर्यटक भन्दा उमेरले पाकी उनलाई सबैले हजुरआमा भनेर सम्बोधन गरे । सिम्रिक एयरका बजार प्रबन्धक कमल गौतमले भने, ‘हजुरआमा डराउनुहोला भनेको त उत्साहित पो देखिनुभयो म त दङ्ग परँे ।’

हेलिकोप्टर आउने थाहा पाएपछि सन्तानसँग चढाइदिन लिम्बूले आफूले आग्रह गरेको बताइन् । छोराछोरीले हेलिप्याडसम्म पुर्याएर उनलाई नडराउन भनेका थिए । तर, हजुरआमा त के को डराउनु, उल्टै उत्साहित भइन् ।

आज पहिलो दिन महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे । यस ठाउँलाई प्रदेश १ कै नम्बर एक पर्यटकीय गन्तव्य बनाउन लागि पर्ने उद्घोष गरेका छन् ।

आयोजक संस्था होटल एसोसिएसन भेडेटारका अध्यक्ष जीतेन्द्र रूम्दालीले हेलिकोप्टरका माध्यमबाट थप पर्यटक भित्रिने अपेक्षासहित महोत्सवमा हेलिकोप्टर राखिएको जानकारी दिए । हेलिकोप्टरले भेडेटार आसपासका दृश्यावलोकन गराउँछ भने प्रख्यात धार्मिक स्थल पाथिभरासमेत पुर्याउने कार्यक्रम रहेको छ ।

फेस्टिबलमा अहिले साङ्गीतिक कार्यक्रम भइरहेको छ । धरानकी नृत्याङ्गाना निका मोक्तानले आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् । अहिले स्थानीय कलाकार नन्दु राईले आफ्नो प्रस्तुति दिइरहेका छन् । एक खुट्टामा नृत्य गर्ने पूर्वकी चर्चित नृत्यकार नीलम ढुङ्गानाले पनि आफ्नो प्रस्तुति दिने भएकी छिन् ।