काठमाडौँः  नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई काठकाडौँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डा पुनम थापा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार थापालाई आज काठमाडौँबाट पक्राउ गरिएको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । प्रमाणपत्र कीर्ते प्रकरणमा थापासहित पक्राउ पर्नेको सङ्ख्या आठ पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ ।

यसअघि कांग्रेसका सांसद सुनील शर्मासहित सात जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । शर्मालाई थुना बाहिर नै राखेर अनुसन्धान गर्न काठमाडौ जिल्ला अदालतले आदेश दिएको छ । आज म्याद थपका लागि शर्मालाई सीआइबीले जिल्ला अदालत काठमाडौं पेश गरेको थियो । 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न पनि केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको छ । 

प्रहरीले उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएपनि बहसपछि रिहा गर्न आदेश दिएको हो ।

शर्मालाई बिहीबार राजधानीको गोल्फुटारबाट पक्राउ गरेको थियो । यो प्रकरणमा ८ जनालाई ब्युरोले पक्राउ गरेपनि शर्मालाई भने रिहा गर्न आदेश दिएको हो । अन्य अभियुक्तविरुद्ध भने ५ दिनको म्याद थप भएको बताइएको छ ।