जनकपुरधामः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला बिहारी नगरपालिका तथा शहिदनगर नगरपालिकाको यदुकोहामा नवनिर्मित पशु स्वास्थ्य शाखामा छापा मारेको  छ ।

मिथिला विहारीको ज्येष्ठ नागरिकहरूको सम्मानका लागि रकम निकासा भएपनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियारको बर्दिबासको टोलीले छापा मारेको हो । नगरपालिका वडा नंं ९ अन्दुपट्टिका वडाध्यक्ष विन्देश्वर यादवले अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा उजुरी परेपछि छापा मारेको आयोगले जनाएको छ ।

वडाध्यक्ष यादवले ज्येष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रमको लागि छुट्टाइएको ४ लाखको बजेटमा एक कर्मचारी राजकुमार मण्डलको नाममा पेश्की भुक्तानी लिएको तर सम्मान नगरेको ज्येष्ठ नागरिकहरूले जानकारी गराएको निवेदनमा उल्लेख रहेको छ ।

यसका साथै अख्तियारको टोलीले मिथिला विहारी नगरपालिकाको वडा कार्यालयबाट आवश्यक कागजपत्र पनि नियन्त्रणमा लिएको छ । अख्तियारमा वडाका विभिन्न शीर्षकहरूमा आर्थिक अनियमितता भएको उजुरी परेका थिए ।

यसै गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको शहिदनगर नगरपालिकाको यदुकोहामा नेपाल सरकारको लगानीमा निर्माण भएको पशु सेवा शाखाको भवन निर्माणमा ठेकेदारसँग रकम मागेको भन्दै एक जनालाई नियन्त्रणमा लिएको छ ।

अख्तियारको बर्दिबासको टोलीले केही रकम सहित १ लाखको चेक पनि नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले गुरुदेव यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।