इटहरीः एकपछि अर्का कलाकारले हात झिकेपछि अन्योलमा रहेको फिल्म ‘कामिनो’लाई यसको निर्माण पक्षले अगाडि बढाएको छ । अब, यो फिल्मको छायांकन एक सातापछि फिलिपिन्समा सुरु हुने भएको छ । 

फिल्मको छायांकनका लागि यसका निर्देशक दीपक वली र छायांकार सौरभ लामा फिलिपिन्स पुगिसकेका छन् । फिल्मको छायांकन सुरुमा मेक्सिकोमा गरिने बताइएको थियो । तर त्यहाँ भिषा प्रक्रिया नमिलेपछि निर्माण पक्षले फिलिपिन्सलाई छायांकनस्थल बनाएको छ ।

छायांकनकालागि फिल्मका कलाकार अन्य प्राविधिक भने ३ दिनपछि फिलिपिन्स प्रस्थान गर्नेछन् । 

यसअघि यसै फिल्ममा प्रमुख अभिनेत्रीका रुपमा अनुबन्धित भएकी निती शाहले पनि फिल्म नबन्ने भएपछि हात झिकेकी थिइन् । नीतिले समयमै फिल्मको छायांकन सुरु नभएपछि हात झिकेकी हुन्। यसपछि फिल्ममा नायिका आना शर्माको प्रवेश भएकी छिन् । करिब १५ दिन अघि मात्र नितीले छाड्नासाथ आनालाई फिल्ममा भित्र्याइएको हो । आना र प्रदीपले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । 

यस्तै, फिल्मको अर्को मुख्य पात्रका रुपमा कर्म शाक्य अनुबन्धित भएका छन् ।  यो फिल्मले चोरी बाटोबाट नेपालीहरू कसरी अमेरिका पुग्छन् । त्यसको भोगाई र यात्रालाई फिल्मले देखाउनेछ ।