इटहरीः नायिका सुहाना थापाले अभिनय गरेको तेश्रो फिल्म ‘एक भगवत् गीता’ भदौको २९ गतेबाट रिलिज हुँदैछ । यो फिल्म आफ्ना अघिल्लो फिल्म भन्दा विशेष रहेको नायिका थापाले बताएकी छिन् । उनले मिडिया कुराकानीमा भनिन्–‘मैले काम गरेका अघिल्ला २ फिल्म भन्दा यो विशेष छ । यो निकै फरक कथामा बनेको फिल्म हो । सोचनिय कथा भएपनि रमाइलो तरिकाले यो फिल्मलाई प्रस्तुत गरिएको छ । यसैले, यो फिल्ममा काम गर्न पाउँदा मलाई गर्व लागेको छ ।’

फिल्मको फस्टलुक र टिजर सार्वजनिक भएसँगै नायक विपिन कार्कीको चर्चा सर्वाधिक छ । विपिनको कमलामाई लुकले दर्शकको ध्यान खिचेको छ । यसो हुँदा सुहानाको चर्चा कम भएको छ । विपिनको चर्चा हुँदा कतै डाहा त लागेको छैन भन्ने प्रश्नमा सुहानाले भनिन्–‘डाहा लाग्ने भए, किन आफै फिल्मको कन्सेप्ट बनाउथेँ होला र रु मलाई यसमा काम गर्न पाउँदा गर्व महशुश भैरहेको छ ।’

सुहानाले फिल्मले कर्ममा विश्वास गर्नुपर्छ भन्ने कथालाई उठान गरेको बताइन् । यस्तै, नायक धिरज मगरसँग काम गर्न पाउँदा रमाइलो भएको उनको अनुभव छ । धिरज क्यूट लागेर आफूले पहिले मन पर्ने बताएको तर काम गर्दा उनको अभिनयले पनि प्रभावित गरेको सुहानाको भनाई छ । 

झरना थापाको निर्देशनमा तयार भएको यो फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । फिल्मको ट्रेलर बुधबार सार्वजनिक हुँदैछ ।