फिल्म ‘पञ्चामृत’पछि नायिका आँचल शर्माले नयाँ फिल्म साइन गरेकी छिन् । उनले, सविनकुमार तोलाङ्गीको लेखन तथा निर्देशनमा तयार हुने फिल्म ‘ह्वाइट हाउस’ साइन गरेकी हुन् । अस्कर कलेजको तेश्रो ब्याचबाट पास भएका सविनले केही छोटा फिल्म र म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । अब, उनले फिल्म निर्देशनमा पाइला चालेका हुन् । 

यो फिल्मको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ । तिहारपछि यो फिल्मको छायांकन अष्ट्रेलियामा गर्ने तयारी गरिएको हो । फिल्ममा आँचलको साथमा नायिका गरिमा शर्मा पनि फाइनल भएकी छिन् । गरिमाले एक महिना अगाडि नै यो फिल्म साइन गरेकी हुन् । यो गरिमाको चौथो फिल्म हो । यसअघि उनले ‘लण्डन टू पेरिस, ह्रस्व दीर्घ, दौतरी’ साइन गरिसकेकी छिन् । 

वुझिएअनुसार, फिल्ममा नायिका आँचल शर्माको जोडीको रुपमा नायक रमेश उप्रेतिले काम गर्दैछन् । गरिमाका लागि भने निर्माणपक्षले जोडी खोजिरहेको छ । म्युजिक भिडियोबाट उदाएकी गरिमाले फिल्ममा निरन्तर काम गरिरहेकी छिन् । उनले तिन वटा फिल्म साइन गरेपनि तिनै फिल्मको निर्माण कार्य सकिएको छैन । 

गरिमाले फिल्मको कथावस्तु निकै नै राम्रो भएको बताएकी छिन् । यसपटक, दर्शकले आफूलाई झनै सशक्त भूमिकामा हेर्न पाउने उनको भनाई छ ।