काठमाडौंः गतबर्ष रिलिजमा आएको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ले मंगलबार आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान कार्यक्रम २०८०’मा उत्कृष्ट निर्देशक र उत्कृष्ट नायिकाको विधामा अवार्ड जित्यो । 

आश्चर्यलाग्दो कुरा त के थियो भने, यो समारोहमा ‘उत्कृष्ट फिल्म’को नाम नै घोषणा गरिएन । ‘उत्कृष्ट फिल्म’को नाम नै घोषणा नगरिएपछि यतिबेला सिने वृत्तमा यसले हंगामा मच्चाएको छ । ‘उत्कृष्ट फिल्म’ विना कसरी अवार्ड सम्पन्न हुन्छ भन्दै आलोचना भैरहेको छ । 

जुरीले ‘उत्कृष्ट फिल्म’को नाम आयोजकलाई वुझाएका थिए । तर, समारोहमा यो विधामा अवार्ड नै प्रदान गरिएन । उसो भए, कुन फिल्म थियो त उत्कृष्टमा ?

विशेष श्रोतका अनुसार, जुरीले ‘प्रकाश’ फिल्मलाई उत्कृष्ट फिल्ममा छनोट गरेका थिए । तर, गतबर्ष रिलिज भएको यो फिल्मले माओवादी जनयुद्धको कुनै न कुनै कोणबाट विरोध गरेको छ । गतबर्ष फिल्म हेर्दा नै शिक्षामन्त्री देवेन्द्र पौडेलले फिल्मलाई लिएर आपत्ती जनाएका थिए । 

यसैले, माओवादीकै संचार मन्त्री भएको समयमा यो फिल्मले उत्कृष्ट फिल्मको अवार्ड पाउने कुरा नै भएन । श्रोतका अनुसार, यो फिल्म मन्त्रालयकै कर्मचारीहरुले हेरेका थिए । 

यसैले, ‘प्रकाश’लाई ‘उत्कृष्ट फिल्म’ दिन नहुने ठहरमा उनीहरु पुगेपछि मुख्य विधा नै अवार्डबाट हटाइएको थियो ।

 एउटा फिल्म र त्यसले उठान गरेको बिषयबाट सरकार कसरी डराउँछ भन्ने कुरालाई यो बिषयले पुष्टी गरेको छ । चलचित्र विकास बोर्ड संचार मन्त्रालयको आदेशमा चल्ने भएकाले पनि उसले मन्त्रालयको आदेशको विरुद्धमा काम गर्ने कुरै थिएन । 

विकास चलचित्र विकास बोर्डले मंगलबार राष्ट्रपति भवन शित्तल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८० को आयोजना गर्यो । फिल्म क्षेत्रका थुप्रै कलाकर्मीहरुको उपस्थितीमा आयोजित समारोहमा विभिन्न विधामा अवार्ड तथा पुरस्कार प्रदान गरियो । तर, अचम्मलाग्दो कुरा के छ भने, यसपटक विकास बोर्डले ‘उत्कृष्ट फिल्म’को विधामा अवार्ड नै प्रदान गरेन । 

उत्कृष्ट निर्देशकमा ‘प्रकाश’बाट दिनेश राउतले अवार्ड पाए । उत्कृष्ट नायिकामा ‘प्रकाश’बाटै दिया मास्केले अवार्ड प्राप्त गर्दा उत्कृष्ट नायकको अवार्ड ‘महापुरुष’बाट हरिवंश आचार्यले थापेका थिए । तर, उत्कृष्ट फिल्मको नाम नै घोषणा गरिएन । 

‘निर्णायक छनोट अवार्ड’ भनेर ‘ऐना झ्यालको पुतली र गोर्खा बेनेथ दि ब्रेभरी’लाई अवार्ड दिइयो । तर, नियमित विधा अन्तरगर्तको ‘उत्कृष्ट फिल्म’ भने विकास बोर्डको सूचीबाट गायब बन्यो । 

निर्णायक समितिका सदस्यहरुले ‘उत्कृष्ट फिल्म’को नाम आफूहरुले छनोट गरेर दिएको बताए । तर, आयोजकले भने अवार्डको मुख्य विधा नै दिन आवश्यक ठानेन । 

आखिर, किन ‘उत्कृष्ट फिल्म’को अवार्ड गायब बनाइयो ? यो बिषयमा आयोजकले पक्कै पनि बोल्छ होला ? तर, मुख्य विधा नै गायब हुँदा एकातिर विकास बोर्डप्रति शंका उत्पन्न भएको छ भने अर्कोतिर धेरैका लागि यो कुरा चासोको बिषय बनेको छ ।