काठमाडौंः चलचित्र विकास बोर्डले मंगलबार राष्ट्रपति भवन शित्तल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८० को आयोजना गर्यो । फिल्म क्षेत्रका थुप्रै कलाकर्मीहरुको उपस्थितीमा आयोजित समारोहमा विभिन्न विधामा अवार्ड तथा पुरस्कार प्रदान गरियो । तर, अचम्मलाग्दो कुरा के छ भने, यसपटक विकास बोर्डले ‘उत्कृष्ट फिल्म’को विधामा अवार्ड नै प्रदान गरेन । 

उत्कृष्ट निर्देशकमा ‘प्रकाश’बाट दिनेश राउतले अवार्ड पाए । उत्कृष्ट नायिकामा ‘प्रकाश’बाटै दिया मास्केले अवार्ड प्राप्त गर्दा उत्कृष्ट नायकको अवार्ड ‘महापुरुष’बाट हरिवंश आचार्यले थापेका थिए । तर, उत्कृष्ट फिल्मको नाम नै घोषणा गरिएन । 

‘निर्णायक छनोट अवार्ड’ भनेर ‘ऐना झ्यालको पुतली र गोर्खा बेनेथ दि ब्रेभरी’लाई अवार्ड दिइयो । तर, नियमित विधा अन्तरगर्तको ‘उत्कृष्ट फिल्म’ भने विकास बोर्डको सूचीबाट गायब बन्यो । 

निर्णायक समितिका सदस्यहरुले ‘उत्कृष्ट फिल्म’को नाम आफूहरुले छनोट गरेर दिएको बताए । तर, आयोजकले भने अवार्डको मुख्य विधा नै दिन आवश्यक ठानेन । 

आखिर, किन ‘उत्कृष्ट फिल्म’को अवार्ड गायब बनाइयो ? यो बिषयमा आयोजकले पक्कै पनि बोल्छ होला ? तर, मुख्य विधा नै गायब हुँदा एकातिर विकास बोर्डप्रति शंका उत्पन्न भएको छ भने अर्कोतिर धेरैका लागि यो कुरा चासोको बिषय बनेको छ । -मेरो फिल्मबाट