काठमाडौंः हलमा गएर फिल्म हेर्दा सबै कलाकारको डबिङ गरिएको स्वर सुनिन्छ । फिल्मको छायांकनको क्रममा बोलेका संवादलाई कलाकारले फेरि स्टूडियो भित्र बसेर डबिङ गर्नुपर्ने हुन्छ । उक्त डबिङ गरेको संवाद सुन्दा कही कतै अभिनयको हाउभाउ र स्वरमा तालमेल नमिलेको पनि लाग्छ । तर, नेपाली फिल्ममा डबिङ गरिएका स्वरहरु नै सुनिदै आइएको थियो । 

तर, कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पुशपति प्रसाद २ः भष्मे डन’मा भने निर्देशक दीपेन्द्र के खनालले डबिङको झन्झट नै गरेनन् । दर्शकले फिल्म हेर्दा सुटिङको समयमा नै कलाकारले बोलेका संवादलाई सुन्न पाउनेछन् । यसलाई ‘सिंक साउन्ड’ भनिन्छ । कुनै कुनै फिल्ममा डबिङ बिर्सिएको अवस्थामा पाइलट भ्वाइस सुनिन्छ । अनी, दर्शकले कस्तो डबिङ नै पुरा नगरेको भनेर आलोचना गर्छन् । 

उनले यसपटक सुटिङ सेटमै खुबै मिहिनेत गरेका छन् । यसका लागि एक भारतीय प्राविधिकहरुको टिमले नै जिम्मा लियो । जसकाकारण, फिल्मको डबिङको झन्झट यसपटक यो फिल्मको टिमले गरेन । कलाकारले डबिङ नै गर्नु नपरेपछि यसको पोष्ट प्रोडक्शनको काम पनि चाडै सकिएको छ । निर्देशक खनालका अनुसार, उनले फिल्म लगभग तयार गरिसकेका छन् । 

एक कार्यक्रममा भेटिए दीपेन्द्रले भने–‘डबिङ नगर्दा फिल्मको गुणस्तर नै अर्को हुने रहेछ । पुरै फिल्म नै एकदमै खदिलो देखिएको छ । दर्शकले, यसपटक पशुपति प्रसाद २ः भष्मे डनमा फरक स्वाद पाउनुहुनेछ । साथमा, हामीले पशुपति प्रसादको लेगेसीलाई पनि छाडेका छैनौं । जसकाकारण, फिल्म गज्जब बनेको छ ।’

२ घन्टा ३३ मिनेट लामो यो फिल्मले बक्स अफिसमा सुनामी ल्याउने अपेक्षा गरिएको छ । साथै, बक्स अफिसमा फिल्मले नयाँ रेकर्ड कायम गर्ने विश्लेषण समेत हुन थालेको छ । निर्देशक खनालले अब आफ्ना कुनै पनि फिल्ममा दर्शकले डबिङ साउण्ड सुन्न नपाउने बताए । उनले भने–‘सुटिङ सेटमै हामीले साउण्डमा मिहिनेत गर्दा बजेट त बढ्यो । तर, फिल्मको क्वालिटी नै अर्कै बनेको छ । अब, मेरा कुनै पनि फिल्ममा डबिङको झन्झट गर्दिनँ ।’

खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको यो फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल लगायतका कलाकारको अभिनय छ । -मेरो फिल्मबाट