रुषा थापा

पछिल्लो समय बजारमा अधिंकाश सहकारी भागिसकेका छन् । नभागेकाले पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । अहिले ती सहकारीहरुले बचतकर्ताहरुलाई फकाईरहेका छन् । उनीहरु रकम फिर्ता गर्न नसक्ने भन्दै फेरि रकम थपेर घरजग्गा, गाडी र सेयर खरिद गर्न भनिरहेका छन् । 

यता, आनाको पाँच लाखमा बिक्री नहुने जग्गा ५५ लाख, सय रुपैयाँमा बिक्री नहुने सेयर पाँच हजार र लाख रुपैयाँमा बिक्री नहुने गाडी ३० लाख मूल्य राखेर बचतकर्तालाई फसाइरहेका छन् । बचतकर्ताहरु भने उपत्यकाभित्रका छन्, तर जग्गा भने रामेछापलगायतका जिल्लाको जग्गा खरिद गर्न भन्छन् । 

उता, सदरमुकाममा भएका बचतकर्तालाई गाउँको जग्गा भिडाउँछन् । सहकारी दर्ता गर्दा सरकारले त्यसको कार्यक्षेत्र तोकिदिएको छ । उक्त कार्यक्षेत्रबाहिर गएर कुनै पनि काम गर्न पाइँदैन । तर, सहकारीका सञ्चालक र अध्यक्षहरुले सहकारी भने उपत्यकाभित्र दर्ता गर्ने तर जग्गा भने अन्य व्यक्तिको नाममा गाउँको किन्ने । 

हिजो घुसको लोभमा सहकारीहरुले गाउँगाउँको जग्गामा समेत लगानी गरे । बचतकर्ताहरुले भने आफ्नो रकम सुरक्षित हुनुका साथै ब्याज आउने प्रलोभनमा रकम जम्मा गरेका थिए । तर, सहकारीहरुले अहिले बचतकर्ताहरुलाई न ब्याज दिन्छन् न साँबा । उल्टै महंगोमा घरजग्गा, गाडी र सेयर भिडाएर ठग्न खोजिरहेका छन् । 

सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारी चोर, फटाहा हुन् भनेर अहिले आम सर्वसाधारणले बुझिसकेका छन् । दुई वर्षअघि सहकारीहरुले आमनागरिकलाई विभिन्न आश्वासन देखाएर बचत गर्न लगाए । 

डिपोजिटको १६ देखि २२ प्रतिशतसम्म ब्याज दिने, दशैंमा बचतकर्ताको घरघरमा उपहार पुप्याइदिने, बुढाबूढीलाई सम्मान गर्ने तथा जन्मदिन मनाइदिनेलगायतका कार्य गरेर सहकारीले बचतकर्तालाई रकम जम्मा गर्न लगायो । 

35441 Rusa

लेखक

तर, अहिले बचत फिर्ता गर्ने समयमा रकम फिर्ता नगरी महंगो घरजग्गा, गाडी र सेयर भिडाएर ठग्ने कोशिस गरिरहेका छन् । यसरी बचतकर्ताको रकम पनि फिर्ता नगर्ने तथा दिउँसै रात पारेर बचतकर्तालाई ठग्न खोज्ने सहकारीका सञ्चालकहरुलाई न सरकार समात्छ न सहकारीको दर्ता नै खारेज गरिदिन्छ ।

सहकारीहरुले आफुखुशी घुसको लोभमा घरजग्गा, गाडी र सेयरमा लगानी गरे । नाकि बचतकर्ताहरुले आफ्नो रकम त्यस्तो जोखिमपूर्ण क्षेत्रमा लगानी गर्नु भनेका थिए । यसरी घुस, ब्याज र सेवाशुल्कको लोभमा सहकारीहरु जोखिमपूर्ण क्षेत्रमा लगानी गर्ने अनि अहिले बचतकर्ताले दुःख भोग्नुपर्ने । 

अहिले बचतकर्ताहरुले कि त सहकारीले भनेजति मूल्यमा घरजग्गा, गाडी र सेयर किन्नुपर्छ कि पैसा माया मार्नुपर्छ । अधिंकाश सहकारीले अहिले पनि बचतकर्तालाई झुट्टा आश्वासन देखाइरहेका छन् । उनीहरु आफ्नो भवन भएको दाबी गर्छन्, घरजग्गा, गाडी र सेयर संस्थाको नाममा थुप्रै भएको भन्छन् तर बचत फिर्ता माग्न जाँदा सय रुपैयाँ समेत दिदैँनन् । 

यस्तो हुँदा समेत सरकार सहकारीविरुद्ध दह्रो भएर उभिदैँन । सहकारीले करोड बचतकर्ताको खर्बो रकम डुबाइदिएको सरकार देख्दैँन । सरकार सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीको अगाडि निरीह छ । लम्पसार परेको छ । अहिले बच्चादेखि बूढासमेतले सहकारीमा रकम राख्नुनहुने बताउँछन् । उनीहरु सहकारी ठग, चोर र दलाल हुन् भन्छन् । 

अब सर्वसाधारण जनताले जतिसुकै महंगो ब्याज दिन्छु भनेपनि सहकारीमा रकम राख्दैँनन् । यसले गर्दा अब सहकारीले न बचतकर्ताको रकम फिर्ता गर्न सक्छ न कर्जा लगानी नै । मुलुकभर दर्तामा रहेका ३५ हजारभन्दा बढी सहकारी बन्द हुनेछन् । सहकारीले आम सर्वसाधारणले विश्वास गुमाइसकेको छ । 

यता, सहकारीका सञ्चालक र कर्मचारीहरु बचतकर्ताले पिट्ने डरले लुकिलुकि हिड्ँछन् । सहकारीले बच्चादेखि बूढा समेतको पैसा खाइदिएको छ । सरकारी कर्मचारीदेखि राजनीतिक दलका नेता, सञ्चारकर्मी, घरायसी काम संलग्न महिला तथा व्यक्ति, बाटोमा मकै पोल्नेलगायत सबैको पैसा सहकारीले खाइदिएको छ । अहिले त सहकारी नठगेको मान्छे नै भेटिदैँन । 

यसरी सहकारीले पैसा खाइदिएपछि उनीहरुको रुवाबासी भएको छ । उनीहरु घरविहीन भएका छन् । बाँठा बचतकर्ताहरुले सहकारी डुब्छ भनेर थाहा पाउनेबित्तिकै गुण्डा, प्रहरी, अभियन्ता, नेता लिएर गएर आफ्नो पैसा उठाए । तर, जो बचतकर्ताको पहुँच थिएन, उसको पैसा आज डुबेको छ । 

कति बचतकर्ताहरुले करोड रुपैयाँ लिनुछ तर कार्यालयको एउटा फोटोकपी मेसिन, ल्यापटप, कुर्सीलगायका केही सामान लिएर उनीहरुले चित्त बुझाए । सहकारीहरुले हिजो घरजग्गा, गाडी र सेयरको कारोबार हुनुञ्जेल लुट्नु लुटे । 

तर, यी क्षेत्रमा मन्दी आएपछि सहकारीहरुको भागाभाग चल्यो अनि बैंक टाट पल्टियो । अहिले बैंकमा पनि बचत गर्ने कोही छैन, निकाल्नेको मात्र लर्को छ । बैंक पनि सहकारीकै अवस्थामा पुग्ने दिन आएको छ । अहिले बजारमा सुनिन्छ कि तीन वर्षअघि चार करोडमा किनेको घडेरी अहिले बेच्न खोज्दा करोडमा बिक्दैन । 

मानिसहरुले घरघरमा पैसा लुकाएका छन् । जसले गर्दा बजारमा पाँच सय र हजारको नोट हाहाकार छ । अधिंकाश कोठा, सटर, फ्रल्याट खाली भएका छन् । व्यापारव्यवसायमा मन्दी आएपछि भाडा तिर्न नसकेर व्यापारीहरुले धमाधम सटर खाली गरिरहेका छन् । दुई वर्षअघिसम्म मालपोत र यातायात कार्यालयमा खुट्टा टेक्ने ठाउँ हुदैँन थियो । 

तर, अहिले मन्दीका कारण यी कार्यालयहरु पनि सुनसान छन् । अझै पनि सहकारीले बचतकर्ताहरुलाई रकम फिर्ता गर्ने आश्वासन देखाउनु र बचतकर्ताहरुले पनि विश्वास गर्नु भनेको मरेर गएको मान्छे जिउँदो भएर आउनु बराबर हो । अहिले सहकारीसँग बचतकर्ताको रकम गर्ने आधार नै छैन । 

त्यसैले, अब बचतकर्ताहरु सहकारीहरुको झुट्टा आश्वासनमा फस्नुहुन्न । अहिले बचतकर्ताहरु सहकारीका सञ्चालक र कर्मचारीहरु भेट्निेबित्तिकै कालोमोसो दलेर कुट्छन् अनि प्रहरी प्रशासनमा बुझाउँछन् । यसले गर्दा सहकारीका सञ्चालक र कर्मचारीहरु लुकेर हिडेका छन् । 

उनीहरु बचतकर्ताको छेउमा समेत पर्दैनन् । तर, कतिन्जेल सहकारीका सञ्चालक र कर्मचारीहरु भाग्छन् । कुनै न कुनै दिन त बचतकर्ताहरुले उनीहरुलाई भेट्निै हाल्छन् । पहिलापहिलाका मानिसहरु बैंक तथा सहकारीमा पैसा राख्नु नहुने तथा ऋण लिनुनहुने बताउँन्थे । 

तर, सर्वसाधारणले बडी ब्याजको प्रलोभनमा आफुसँग भएको रकम भटाभट सहकारीमा जम्मा गरे । सहकारीहरुले कर्जा दिँदा ऋणीसँग १८ देखि ६० प्रतिशत ब्याज तथा २ प्रतिशत सेवाशुल्क, अनिवार्य रुपमा बीमा गर्न लगाउने तथा सेयर खरिद गर्न लगाउने र वर्षेपिच्छे कर्जा नवीकरण गर्न लगाएर २ प्रतिशत लिन्थे । 

यसरी सहकारीहरुले मिटरब्याजमा कर्जा लगानी गर्दै आइरहेका थिए । सहकारीकै कारण अधिंकाश मानिसहरु विस्थापित हुनुपप्यो । सहकारीहरुले करोड मूल्य पर्ने धितो ३० लाखमै खाइदिएर ऋणीको उठीबास लगाउँदै आइरहेको थियो । तर, अहिले बचतकर्ताहरुले समेत यो कुरा थाहा पाएका छन् । 

सहकारीले कतिसम्म गर्छ ? भनेर जोकोही पनि जानकार भइसकेका छन् । सहकारीका सञ्चालक र कर्मचारीहरु अहिले धमाधम बसाइसराई गरिरहेका छन् । कतिपय त विदेश समेत भागेका छन् । उनीहरुमा बचतकर्ताले आफुहरुलाई नछोड्ने त्रास बढेको छ । 

जसरी मेनपावर कम्पनीहरुले पहिला सर्वसाधारणलाई ठगेका थिए, त्यसरी नै सहकारीहरुले पनि बचतकर्तालाई ठगे । तर, अब सहकारी चल्दैँन भनेर धेरैले अनुमान लगाउन थालिसकेका छन् । सहकारीले करोडौं बचतकर्ताको बिचल्ली बनाउँदा तथा उनीहरुलाई घर न घाटको बनाउँदा समेत सरकारले केही गर्न सकेन । 

विज्ञापन बोर्ड पनि सहकारीकै पक्षमा उभियो । सर्वसाधारणलाई सहकारी बचत नगर्न भनेर सचेत गराएन । त्यस्तै, स्थानीय तहहरुले पनि सहकारीमा रकम जम्मा नगर्न आम सर्वसाधारणमा आह्वान गरेनन् । अहिले बचतकर्ताहरु कहिल्यै सहकारी विभागमा उजुरी गर्न जान्छन् त कहिल्यै प्रहरी चौकी, गाउँपालिका, नगरपालिकामा । 

सहकारी पीडित बचतकर्ताहरुले महिनौं दिनसम्म माइतीघर मण्डलामा आन्दोलन गरे । तर, त्यसको उपलब्धि केही भएन । सरकारले उनीहरुको माग सम्बोधन गरेन । अधिंकाश बचतकर्ताहरुले अहिले आफ्नो रकम माया मारिसकेका छन् । 

आफ्नो जीवनभरको कमाई तथा घरजग्गा बेचेर राखेको रकम अब सहकारीले फिर्ता गर्दैन भनेर उनीहरुले बुझ्रिसकेका छन् । अहिले बजारमा अधिंकाश मानिसहरु सहकारीहरु धेरै समय नटिक्ने बताउँछन् । उनीहरु अब सबै सहकारी एक वर्षको अवधिमा झन् टाट पल्टिने बताउँछन् ।

अहिले साथीभाइदेखि आफन्तसम्म सहकारीमा रकम बचत नगर्न सुझाव दिन्छन् । त्यसैले, अब सरकारले सहकारीको दर्ता खारेज नगरेपनि सहकारीहरु आफैँ भाग्नेछन् । उनीहरुले जनताको विश्वास गुमाइसकेका छन् । अब सरकारले सहकारी खोल्न नयाँ दर्ता पनि दिनुहुन्न र पुरानाको दर्ता खारेज गर्न पनि ढिलो गर्नुहुन्न । 

सहकारीले गरिबको जीवन उकास्ने काम नगरी उल्टै धनीलाई सुकुम्बासी अवस्थामा पुप्यायो । अब सहकारीको विरोधमा जनता घरघरबाट सडकमा उत्र्रिछन् । हाल सञ्चालनमा रहेका सहकारी पनि बन्द गराउनेछन् ।