काठमाडौः अभिनेता सारुकको आत्महत्यापछि सञ्चारमाध्यमको सम्पर्कबाहिर रहेकी अभिनेत्री नम्रता श्रेष्ठले तीन दिनअघि आफ्नो पुरानो स्टेटमेन्ट सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।

आफूविरुद्ध समाचार लेख्ने सञ्चारमाध्यमविरुद्ध कानुनी कारबाहीमा जाने धम्की पनि उनले दिएकी थिइन् । चलचित्र माया ह्यासट्यागको तयारीका क्रममा चलचित्रको पैसामा पूजा गरिएको र बोको चढाएको कुरालाई अन्धविश्वास भन्दै सो कुराको उनले खण्डन पनि गरेकी थिइन् ।

यसरी अभिनेत्री नम्रताले सो कुराको अस्वीकार गरेपछि चलचित्र माया ह्यासट्यागका निर्देशक राजीव गुरुङले चलचित्रको ५ लाख रुपैयाँ कालोबोको चढाउन र पूजा गर्नमै नायिका नम्रताले खर्च गरेको कुरा बुधबार फेसबुकमा एक स्टाटसमार्फत व्यक्त गरेका छन् । पटकपटक नम्रताकै दबाबमा ५ लाखको पूजा गराइएको र त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको पनि उनले फेसबुक स्टाटसमा लेखेका छन् । चलचित्रको काम रोकिएका कारण काम अघि बढाउनकै लागि आफूहरूलाई नम्रताले त्यति महँगो तान्त्रिकबाट पूजा गर्न लगाएको पनि राजीवले दाबी गरेका छन् ।

निर्देशक राजीवले लेखेका छन्, ‘चलचित्रको स्क्रिप्ट उनीहरूकै मञ्जुरीमा बारम्बार पास भएर एक तहका प्राविधिकहरूले रकम बुझिसकेपछि पनि सुटिङ सुरु गर्ने दिन स्क्रिप्ट चित्त नबुझेको भन्दै उनीहरूकै आग्रहमा बारम्बार सुटिङ स्थगित गरियो, म कुनै पनि रूढीवादी परम्परामा विश्वास गर्ने मानिस होइन तर जति प्रयास गर्दा पनि चलचित्र अघि नबढेकाले नायिकाले मेरो ग्रह खराब चलेको भन्दै तान्त्रिकसँग पूजा गराएमा राम्रो हुने भनेपछि यतिका प्रयास त गरें, यो प्रयास पनि गरी हेरौं भन्ने मनस्थितिमा पुगेको हुँ ।’ अभिनेता सारुकको आत्महत्या भएको एक सातामै निर्देशक राजीवले अभिनेत्री नम्रताले सारुकलाई लगेर दोलालघाटको शिव मन्दिरमा मध्यरातमा तान्त्रिकबाट पूजा गराएको र त्यही बेलाबाट सारुकलाई मांसहारी बनाएको पनि बताएका थिए । सो कुराका अभिनेत्री नम्रताले तीन दिनअघि मात्र अस्वीकार गरेकी हुन् ।

नायिका नम्रताकै कारण सो चलचित्र निर्माणमा तीन वर्ष ढिला भएको पनि निर्देशक राजीवले आफ्नो लेखमार्फत दाबी गरेका छन् । विगत तीन वर्षदेखि नायिकाकै अनुरोधमा पाटन झम्सिखेल हुँदै बूढानीलकण्ठसम्म घर भाडामा लिएर त्यहाँको सम्पूर्ण खर्च आफैंले बेहोरेको पनि राजीवले बताएका छन् । चलचित्रको अभिनय अभ्यासका लािग एकान्त चाहिन्छ भनेर ४५ दिनका लागि महँगो भाडा तिरेर बूढानीलकण्ठको भाडामा लिएको घरलाई सुटिङ लम्ब्याएर कलाकारहरूले लामो समयसम्म प्रयोग गरेको पनि राजीवको आरोप छ ।

उनले लेखेका छन्, ‘मेरो सपना, लगानी र मिहिनेत सारुकको जीवनको अघि केही होइन, त्यसैले सारुकले न्याय पाउनुपर्छ, सारुक भाइकी आमाले उनको मनमा उब्जिएको प्रश्नको जवाफ पाउनुपर्छ, अनुसन्धान गरिरहेको प्रहरीको अनुसन्धानले के भन्छ ? त्यो पनि सार्वजनिक हुनुपर्छ ।’ प्रहरीले यस प्रकरणमा अझ गहिरिएर अनुसन्धान गर्नुपर्ने माग पनि निर्देशक राजीव गुरुङले आफ्नो लेखमार्फत राखेका छन् ।

सारुक ताम्राकार, नम्रतालगायतको अभिनय रहेको चलचित्र माया ह्यासट्याग सारुकको आत्महत्यापछि अब नबन्ने भएको छ । ४० प्रतिशत छायांकन सकिँदा ४ करोडभन्दा बढी खर्च लागेको भनिएको यस चलचित्र बनाउन पुनः छायांकन गर्नुपर्ने र आफूहरूसँग लगानी पनि नभएकाले चलचित्र अहिलेलाई स्थगित गरिएको पनि निर्माण पक्षले जनाएको छ । गत साता यस चलचित्रको एउटा गीतको भिडियो सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्र रोकिएको जनाएको हो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।