काठमाडौंः विपिन कार्कीको अभिनय ‘विविधता’बारे जोकोही जानकार छन् । फिल्म ‘लुट’बाट रजतपट अभिनयमा पाइला चाले पनि विपिन ‘छड्के’को ‘विन्दु’ चरित्रबाट स्थापित भए । त्यसपछि उनलाई ‘पशुपति प्रसाद’ले ‘भष्मे डन’का रुपमा फिल्मवृत्तमा चिनायो । त्यसयता उनी हरेक फिल्ममा आफूलाई फरक–फरक लुक्समा प्रस्तुत हुँदै आएका छन् ।

यिनै विपिन आगामी भदौ २९ गतेबाट रिलिज हुने फिल्म ‘एक भगवत गीता’मा उनको करियरकै सबैभन्दा चुनौतीपूर्ण ‘कमलामाई’ चरित्रमा देखिँदैछन् । उनी फिल्ममा पारालैंगिक चरित्रमा देखिँदैछन् ।

‘यो फिल्ममा मैले फरक काम गर्ने मौका पाएँ । यो जीवनमा प्रवेश गर्नु आफैंमा चुनौतीपूर्ण थियो’, फिल्म ‘एक भगवत गीता’को ट्रेलर रिलिज कार्यक्रममा शुक्रबार विपिनले भने, ‘ट्रेलर हेर्दा म आफैं भावुक बनें । किनकी यो चरित्र साँच्चै नै कठिन रहेछ ।’

फिल्मको फस्टलुकमा विपिनलाई ‘कमलामाई’ चरित्रमा प्रस्तुत गरिएपछि उनको सर्वत्र चर्चा भयो । तर उनको लुक्सबारे परिवार र आफन्तको बुझाई के थियो ? ‘उहाँहरुले यसलाई सामान्य रुपमा लिनुभयो । उहाँहरुलाई थाहा छ कलाकार बहुरुपी हुन्छन् । मेरो अहिलेसम्मका सबै चरित्रमा परिवारको धारणा त्यही हो’, विपिनले भने ।

अल्पसंख्यक लैंगिक समुदाय (एलजीबीटआई) र मधेशको कथावस्तुमा बनेको फिल्मको ट्रेलरमा विपिनले कमलामाई हुनका लागि गर्नु परेको संघर्ष देखाइएको छ । ट्रेलर विपिन वरपर नै घुमेको छ ।

ट्रेलरमा फिल्मका प्रमुख दुई पात्र धिरज मगर र सुहाना थापाको भेट, रोमान्सदेखि प्रेममा खटपटलाई पनि स्थान दिइएको छ ।

निर्माता सुनीलकुमार थापाले आफ्नो करियरको सबैभन्दा चुनौतिपूर्ण र गाह्रो फिल्मका रुपमा ‘एक भगवत गीता’ रहेको बताए । अभिनेत्री सुहानाले आफ्नो सोचलाई फिल्ममार्फत पुरा गरिदिएकोमा पिता सुनिललाई धन्यवाद दिइन् । निर्देशक झरना थापाले यसपटक फरक कथामा फिल्म बनाएकाले अघिल्ला फिल्मको जस्तै दर्शकले मनपराउने दाबी गरिन् ।

जनकपुर र कास्कीमा छायांकन गरिएको फिल्म सुनिलकुमार थापा प्रोडक्सनले निर्माण गरेको हो । फिल्ममा अभिनेत्री सुहाना निर्मात्रीका रुपमा समेत छिन् ।