काठमाडौंः भुवन केसी नेतृत्वको चलचित्र विकास बोर्डले अर्को एक लाचारीको नमुना पेस गरेको छ ।

केही संगठनको दबाबमा रिलिजको मुखमा सुनिल कुमार थापा निर्मित तथा झरना थापा निर्देशित फिल्म 'एक भगवत गीता'को नामलाई सहमतिको नाममा नाम फेर्न बाध्य पारिएको छ । 

अब फिल्मको नाम ‘एक भागवत र एक गीता’ राखिने भएको छ।

आज विकास बोर्डमा भएको भनिएको सम्झौतामा निर्माण पक्ष र धार्मिक संस्थाका प्रतिनिधिहरुबीच यो नाममा सहमति भएको हो ।

ती संस्थाहरुले निर्माण पक्षको 'भगवत-गीता'  राख्ने प्रस्ताव अस्विकार गरेपछि  ‘एक भागवत र एक गीता’ नाममा सहमति जुटेको बताइन्छ ।
यो नामको मुनी निर्माताले 'सामाजिक कथा' समेत लेख्नुपर्नेछ ।

विकास बोर्डले यो फिल्मलाई 'भगवत गीता'को रुपमा निर्माण इजाजत दिएको थियो ।

हिन्दुवादी संघसंसस्थाले नाममा आपत्ति प्रकट गरेपछि निर्माण पक्षले फिल्मको नाम 'एक भागवत गीता' राख्न अनुमति मागेको थियो तर विरोधमा उत्रिएला संस्थाले यसमा पनि आपत्ति प्रकट गरेपछि बोर्डले सेन्सर सिफारिस नै रोकेर निर्माण पक्षलाई भदौ २९ गतेको रिलिज सन्मुख मानसिक तनाव दिदैं आएको थियो ।

यो नाममा सहमति जुटेसँगै फिल्म आफ्नो पूर्वनिर्धारित मितिमा नै रिलिज हुने भएको छ । नाममा विवाद र विरोध भएपछि थुप्रै फिल्मकर्मीले बोर्ड अध्यक्ष असक्षम रहेको भन्दै उनले राजिनामा दिनुपर्ने भन्दै फिल्मको पक्षमा आवाज उठाएका थिए ।

बोर्डले आजै फिल्मलाई सेन्सर सिफारिस दिने बताइएको छ । आजको यो घटना बोर्ड अध्यक्ष भुवन केसीको अर्को असफलता हो । केसी अध्यक्ष भएयता उनको कार्यसम्पादनमाथि प्रश्न उठ्दै आइरहेको छ । यो घटनाले आगामी दिनमा फिल्मकर्मीलाई फिल्म निर्माणमा कठिन पार्ने देखाएको छ ।

फिल्म श्रृजनात्मक अभिव्यक्तिको माध्यम हो भन्ने तथ्यकाबीच एउटा फिल्ममाथि निर्मम बाहुबली हस्तक्षेप भएको छ । हस्तक्षेपकै कारण एउटा सिनेमाको नामलाई सहमतिका नाममा 'उँट' जस्तो बनाइएको छ ।

सेन्सरको प्रक्रिया नै सुरु गर्न नदिइ केसी नेतृत्वको बोर्डको यो हर्कत नेपाली फिल्म इतिहासमा कालो दिनका रुपमा रहनेछ ।मेरो फिल्मबाट