नेपाली फिल्ममा पाइला चालेको छोटो समयमै प्रगति गरेकी अभिनेत्रीका रुपमा मिरुना मगरलाई चिनाउदा फरक नपर्ला । फिल्म ‘लालपुर्जा’बाट अभिनय यात्रा सुरु गरेकी मिरुनाको पछिल्लो फिल्म ‘नाङ्गो गाउँ’ यही भदौ २९ गतेबाट रिलिजको तयारीमा छ ।

‘लालपुर्जा’ देखि ‘नाङ्गो गाउँ’सम्म आइपुग्दा उनले ‘रोज’, ‘साइनो’, ‘च च हुइ’, ‘कबड्डी ४’, ‘जारी’ फिल्ममा अभिनय गरिन् । यीमध्ये ‘कबड्डी ४’ र ‘जारी’ बक्सअफिसमा ब्लकबस्टर हुँदा अन्य फिल्म असफल भइदिए । 

रोचक कुरा के छ भने ‘कबड्डी ४’ र ‘जारी’मा उनको जोडी अभिनेता दयाहाङ राई थिए । फिल्म ‘नाङ्गो गाउँ’मा पनि उनको जोडी दयाहाङ नै छन् । त्यसकारण मिरुना यतिबेला हिटको ‘ह्याट्रिक’ गर्ने दाउमा छिन् ।

मिरुनाले आफ्नो करियरमा पहिलोपटक राजनीतिक कथावस्तुको फिल्ममा अभिनय गर्दैछिन् । ‘यो फिल्मको वान लाइन स्टोरी सुन्दा मलाई रोचक लाग्यो । किनकी मैले नेपालको राजनीतिक माहौलमा आधारित फिल्म गरेको छैन । कथा सुन्दा मेरो निमाको चरित्र मनपर्यो र चासो पनि लाग्यो’ उनी भन्छिन् ।

मिरुनाले ‘नाङ्गो गाउँ’को कथामा के देखिन् त ? यसमा उनको आफ्नै बुझाई छ । ‘समाजमा नागरिक भएर कसैको कामले समाजमा कस्तो प्रभाव पार्छ र त्यो काम घुम्दै आफैंमा फर्किदा त्यसले कस्तो असर देखाउँछ भन्ने कथा रोचक लाग्यो’, मिरुना खुल्छिन्, ‘हामीले जहाँ फिल्मको सुटिङ गर्यौ,  त्यो गाउँको कथासँग पनि फिल्मको कथा कहिँकतै मिलेको हो कि जस्तो अनुभव भयो । त्यसकारण पनि यो फिल्ममा केही सहज अनुभव गरें ।’

सुरुवाती समयमा मिरुना नेपाल नबसे पनि उनले नेपालको वर्तमान राजनीति प्रति केही ज्ञान थियो । त्यसलाई अझ परिस्कृत रुपमा बुझ्ने प्रयास गरिरहेकी थिइन् । उनलाई देशको पूर्ण राजनीतिक चित्र थाहा नभए पनि ‘नाङ्गो गाउँ’को अभिनयले राजनीति बारे बुझ्न सहयोग गरेको रहेछ । ‘देशको पूर्ण राजनीतिक चित्र थाहा नभए पनि यो फिल्मको कथाले त्यो चित्रलाई केही हदसम्म देखाएको छ । फिल्मको पात्र भइसकेपछि अरुले भोगिरहेको समाचारमा देखिरहेकी हुन्छु । सामाजिक सञ्जालमा पनि आइरहेको हुन्छ । त्यसकारणले राजनीतिबारे केही ज्ञान लिने मौका पनि पाएकी छु’, मिरुनाको दाबी छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘नाङ्गो गाउँ’मा मिरुना र दयाहाङसँगै कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, शिशिर वाङ्देल, रविन्द्र झा, अंकित खड्कालगायतका कलाकारको अभिनय छ ।-मेरो फिल्मबाट