सुदर्शन थापाले निर्देशन गर्न लागेको फिल्म ‘रावायण’को छायांकन केही दिनमै सुरु हुँदैछ । यो फिल्ममा नायक अनमोल केसी र नायिका नीति शाहको मुख्य भूमिका रहने पक्का भैसकेको छ । फिल्ममा अनमोल केसीको दोहोरो भूमिका हुनेछ । 

यसैबिच, यो फिल्ममा पूर्व मिस नेपाल निकिता चण्डक अनुवन्धित भएकी छिन् । निकितालाई विशेष भूमिकामा अनुवन्धित गरिएको निर्माणपक्षले बताएको छ । 

यो फिल्ममा अनुवन्धित हुनु अगाडि निकिताले नायक दयाहाङ राइसँग फिल्म ‘राजागन्ज’मा काम गरेकी थिइन् । निकिताको अहिलेसम्म फिल्म ‘साङ्लो’ मात्र रिलिज भएको छ । 

निर्देशक सुदर्शन थापा र उनको टिमले फिल्मको स्क्रिप्ट केही दिन अगाडि मात्र लक गरेको हो । नगरकोट पुगेर फिल्मका लेखक शिवम् अधिकारी, निर्देशक थापा, छायांकार राजेश श्रेष्ठ, नायक अनमोल केसी, नायिका नीति शाहको टिमले फिल्मको स्क्रिप्ट लक गरेको हो । 

सुदर्शनले फिल्मलाई विशेष बनाउने बताएका छन् । साथै, यो फिल्ममा अनमोलको गेटअपले दर्शकलाई सरप्राइज दिने उनको भनाई छ । सुदर्शन र अनमोलले पहिलो पटक फिल्ममा काम गर्न लागेका हुन् ।