नेपाली फिल्म क्षेत्रमा जहिले पनि निर्माताहरु फिल्मको प्रदर्शन मिति घोषणा गर्ने विषयलाई लिएर लडाई गरिरहन्छन् ।

पछिल्लो समयलाई नै हेर्ने हो भने छायाकंन नसकाई थुप्रै फिल्मका प्रदर्शन मिति घोषणा भइसकेका छन् । विशेषत प्रदर्शन मितिलाई चाँडो घोषणा गर्नुको कारण रिलिज मिति बुक गर्नु हो । तर यसरी छायाकंन नै नसकाई मिति तोक्नु पछाडि उनीहरुको कुनै न कुनै स्वार्थ जोडिएको हुन्छ । 

यसरी प्रदर्श मिति घोषणा गर्ने तालिकामा अभिनेत्री रेखा थापाले निर्माण गरिरको फिल्म उपहार, अर्जुन सुवेदीले निर्देशन गर्दै गरेको फिल्म रङ्गेली, किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्म हात्तीछाप, रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’ र सन्तोष अधिकारीले निर्माण गरेको फिल्म चित्रा रहेका छन् ।

यी फिल्मले छायाकंनकै चरणबाट प्रदर्शन मिति घोषणा गरेका छन् । हाल छायाकंनको क्रममा रहेको नेपाली ‘रङ्गेली’को प्रदर्शन मिति यस वर्षको महाशिवरात्रिको दिन फागुन २५ गते गरिएको छ भने छायाकंनकै चरणबाटै हतार गर्दै अस्ट्रेलियामा ग्रान्ड प्रिमियर गर्ने भनेर आज आइतबार घोषणा समेत गरेको छ । 

यस्तै, हाल पोखरामा छायाकंन गरिरहेको घनश्याम लामिछानेको निर्देशित फिल्म ‘चित्रा’ माघे सङ्क्रान्तिलाई लक्षित गरी आगामी पुस २७ गतेलाई रिलिज मिति घोषण गरिएको छ । 

अर्को फिल्म हो ‘हात्तीछाप’ । सिमोस सुनुवारको निर्देशनमा तयार भइरहेको यो फिल्मको प्रदर्शन मितिलाई लिएर धेरै चर्चा गरियो । सुरुवातमा हात्तीछापलाई तिहारको अवसर पारेर आगामी कार्तिक २४ रिलिज हुने निर्देशक निश्चल बस्नेतले निर्देशक गरेको फिल्म ‘दिमाग खराब’सँगै प्रदर्शन गर्ने भनेर हल्ला चलाइयो । पछि छायाकंन नै बाँकी रहेकाले फस्टलुक सार्वजनिक गर्दै माघको २६ गतेलाई प्रदर्शन मिति घोषणा गरियो । यो फिल्मको अझै पनि छायाकंन बाँकी रहेको छ । 

यता ज्ञानेन्द्र देउजाको निर्देशकमा तयार हुदै गरेको फिल्म उपहार छायाकंन अगावै २०८१ सालको नयाँ वर्षमा रिलिज गर्ने भनेर घोषणा गर्न भ्याइ सकिएको छ । रेखा फिल्म्सले निर्माण गरिरहेको यो फिल्म पनि छायाकंन कै क्रममा रहेको छ ।

यस्तै अर्को फिल्म हो डिग्री माइला । बासुरी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो फिल्मको छायाकंन नै दुई चरणमा हुदै छ । हाल ओखलढुंगा यसको छायाकंन भइरहेको छ भने अर्को चरणको छायाकंन काठमाडौंमा हुने छ । यसरी छायाकंन दुई चरणमा गर्नुको पछाडी यस फिल्ममा मुख्य कलाकार दयाहाङ राईको समय पावन्दी मुख्य कारण रहेको छ । त्यही पनि निर्माण टिमले फिल्मको प्रदर्शन मिति आगामी बैशाख १ अर्थात् नयाँ वर्षलाई तय गरेको छ ।

जहिले पनि हतार गरेर पछि प्रदर्शन मितिमा फेरबदल गर्नेहरुको पनि कमी छैन् । यसरी हतार गर्नु भनेको नेपालीमा एउटा उखान छ 'नानी पाउनु कहिले कहिले कोक्रो बन्नु अहिले' जस्तै भएन र ?