रुषा थापा

अहिले पनि आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई एक छाक मिठो खान तथा एक जोर नयाँ कपडा लगाउन दशैं नै आउनुपर्छ । दुर्गम तथा ग्रामीण जिल्लामा अधिंकाश मानिसहरु खानेकुरा नभएर भोकै सुतिरहेका छन् त कतिपय च्यातिएको कपडा लगाएर हिडिँरहेका छन् । 

गाउँघरमा रोजगारीको अभावका कारण मुलुकभरका विभिन्न जिल्लाका मानिसहरु राजधानी छिरे । कतिपय भने एक जिल्लाबाट अर्को जिल्ला सरे । उनीहरुले यहाँ आएर जसोतसो काम त पाए तर वर्षेदेखि तलब पाएका छैनन् । संघसंस्था, होटल, रेस्टुरेन्ट, पसल वा घरायसी काम संलग्न व्यक्तिहरुले छ महिनादेखि वर्षे दिनको तलब पाएका छैनन् । 

यसपालिको दशैं आइसकेको छ । हामी नेपालीहरुको महान् चाड नै दशैं हो । दशैंमा आफ्नो जन्मथलो गइन्छ । आमाबुबासँ भेटिन्छ । टिका लगाइन्छ । रमाइलो गरिन्छ । दुःखसुखका कुरा गरिन्छ । तर, कामको खोजीमा राजधानी छिरेका ती मानिसहरु तलब नपाएपछि घर जानबाट वञ्चित भएका छन् । 

उनीहरु गाउँघर जान त चाहन्छन् त पैसा नहुँदा अन्योलमा परेका छन् । जीवनभर खाईनखाई कमएर राखेको रकम पनि सहकारीले लिएर भाग्यो । एकातिर काम गर्ने ठाउँमा तलब दिएको छैन, अर्कोतिर सहकारीले बचत फिर्ता गर्दैन । 

अहिले मानिसहरु भन्छन्, ‘पैसा नै छैन । कसरी घर जाने, दशैं मनाउने भनेर चिन्तित छौं । एकातिर तलब पाएको छैन त अर्कातिर आपतविपतमा काम लाग्छ भनेर राखेको रकम पनि सहकारीले खाइदिएको छ । अनि कसरी घर जानु ? फेरि हामी घर गएनौं भने घरमा पनि दशैं मनाउन अफ्रठ्यारो पर्छ ।’

दशैं नजिकिसक्यो तर बजारमा किनमेल छैन न त चहलपहल नै छ । मुलुकभर सञ्चालित अधिंकाश सहकारी भागेका छन् । सञ्चालनमा रहेकाले पनि बचत फिर्ता गरेका छैनन् । उनीहरुले बचतकर्तालाई अल्मल्याएर राखेका छन् । बचतकर्ताहरु सहकारीमा आफ्नो लाखदेखि करोड रुपैयाँ रहेको बताउँछन् । 

तर, माग्न जाँदा एक सुको फिर्ता पाइदैँन । सहकारीकै कारण करोडौं बचतकर्ताको खर्बो रकम डुबेको छ । उनीहरुको बिल्लीबाँठ भएको छ । मर्नु कि बाँच्न अवस्थामा पुगेका छन् बचतकर्ता । सहकारी बचतकर्ताको रकम फिर्ता गर्दैन । उल्टै घरजग्गा, गाडी र सेयरमा लगानी गरेका कारण डुबेको भन्दै हप्काउने गर्छ । 

हिजो घरजग्गा, गाडी र सेयर दलालीहरुले सहकारी खोले । आनाको पाँच हजारमा बिक्री नहुने खेतीयोग्य जमिन खण्डीकरण गरी आनाकै ७० लाखमा बेचियो । बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर चार हजारमा बेचियो । भारतमा दुई लाख पार्ने गाडी नेपालमा ५० लाखमा खरिदबिक्री गरियो । 

दलाली र बिचौलियाले आम सर्वसाधारणलाई फसाउनु फसाए । सर्वसाधारण जनता चुलुम्मै डुबेका छन् । सहकारीमा बचतकर्ताले बचत गरेको रकम सञ्चालक तथा कर्मचारीहरुले दलालीसँगको मिलेमत्तोमा घरजग्गा, गाडी र सेयरमा लगानी गरे । तर, यी क्षेत्रमा मन्दी आएपछि सहकारी एकाएक भाग्नुपप्यो । 

अहिले बजारमा सुनिन्छ कि चार हजार कित्तामा किनेको सेयर सय रुपैयाँमा बिक्री हुदैँन । यता, ७० लाखमा किनेको जग्गा तथा ५० लाखमा किनेको गाडी पनि लाख रुपैयाँमा बिक्री नहुने बताइन्छ । दलालीहरुले हिजो रातारात घरजग्गा, गाडी र सेयरको मूल्य बढाएका थिए । तर, अहिले यसमा मन्दी आएपछि सहकारीदेखि बैंक तथा वित्तिय संस्था समेत डुबेको छ । 

दलालहरुकै कारण आज सर्वसाधारणको उठीबास लागेको छ । अहिले जनता सहकारीका सञ्चालकदेखि कर्मचारीसम्मै ठग, चोर रहेछन् भनेर कुरा गर्छन् । अरुको घरमा महिनाभरि भाडा माझेर बल्लतल्ल कमाएको पैसा तथा बाटोमा मकै पोलेर, साग बेचेर वा कुनै संघसंस्थामा काम गरेर राखेको पैसा यीनै दलालले खाएका हुन् ।  

सहकारीले त बचतकर्ताको रकम फिर्ता नगर्ने नै भो । तर, बैंकमा समेत यस्तो अवस्था सिर्जना हुन लागेको छ । सहकारी, बैंकलगायत अधिंकाश वित्तिय संस्था डुबिसकेको कुरा सर्वसाधारणले थाहा पाएका छन् । सरकारले जग्गाको कित्ताकाट त फुकुवा गप्यो तर कारोबार भने बढ्न सकेन । 

बजारमा घरजग्गा, गाडी र सेयर बेच्न चाहनेहरु यत्तिकै भेटिन्छन् तर किन्ने कोही छैन । कबाडीको भाउमा यिनीहरु आइसकेका छन् । यस्तो अवस्थामा सहकारीले बचतकर्ताको रकम कसरी फिर्ता गर्छ ? सहकारीमा राखेको आफुहरुको रकम फिर्ता नआउने भन्दै अहिले बचतकर्ताहरु धुरुधुरु रुन्छन् । अधिंकाश सहकारीका सञ्चालक भागिसकेका छन् । 

कतिपय मोबाइलको स्विच बन्द गरेर बसेका छन् त कतिपय लुकीछिपी हिँडेका छन् । अहिले वडा कार्यालय, नगरपालिका तथा गाउँपालिकामा आफ्नो घरमा सहकारी सञ्चालन गर्न दिएका घरधनीहरु घर खाली गराउनका लागि धमाधम निवेदनदिइरहेका छन् । एकतर्फ वर्षे दिनदेखि भाडा पाइएको छैन, अर्कोतर्फ पैसा नपाएको झोकमा बचतकर्ताले आफ्नो घरमा आगजनी गर्ने तथा तोडफोड गर्ने त्रास घरधनीहरुमा छ । सहकारी चोर, ठग र लुट हो भनेर आमनागरिकको मनमा छाप परिसकेको छ । 

रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले गुण्डाको प्रयोग गरेर सहकारीको सामान उठाउन थालेका छन् । कतिपयले त सञ्चालक चढेको गाडीको चाबी समेत खोसेका छन् । सहकारीमा आफ्नो एक लाख छ भने ५० हजार दिने शर्तमा बचतकर्ताहरुले गुण्डा लगाइरहेका छन् । 

बचतकर्ताहरु वर्षे दिन सहकारीको कार्यालय धाउँदा पनि सहकारीले पैसा फिर्ता गरेन । बालबालिकाको फिस तिर्न नसकेको, कोठा भाडा तिर्न नसकेको तथा औषधी उपचार खर्च नभएको भन्दै रुदैँ आफ्ना रकम माग्दा समेत सहकारीले रकम फिर्ता गरेन । तर, त्यँही पैसा उठाउनका लागि बचतकर्ताहरुले गुण्डाको प्रयोग गर्नेबित्तिकै पैसा हातमा पप्यो । 

गुण्डाहरुले सहकारीका सञ्चालकहरुलाई कालोमोसो दल्ने, जुत्ताको माला लगाइदिने तथा कार्यालय तोडफोड गर्ने धम्की दिएपछि पैसा फिर्ता भयो । अहिले भाग्ने सहकारी त भागे । नभागेका सहकारीमा रहेको आफ्नो रकम उठाउने जिम्मा बचतकर्ताहरुले गुण्डालाई दिएका छन् । 

पहुँच भएका बचतकर्ताहरुले सहकारीमा रहेको आफ्नो रकम उठाउन प्रहरीदेखि अभियन्ता र राजनीतिक दलका नेता समेतको प्रयोग गरेका छन् । अब दशैंमा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न सक्दैँन । जसकाकारण आवेगमा आएर बचतकर्ताहरुले सहकारी तोडफोड गर्नुका साथ सञ्चालकहरुलाई कालोमोसो दल्ने समेतका काम गर्छन् । 

पछिल्लो समय जनताले सहकारीमा बचत गर्न छोडेका छन् । सहकारीका सञ्चालक तथा कर्मचारीले जतिसुकै महंगो ब्याजको प्रलोभन देखाएपनि बचतकर्ताहरु बचत गर्न मान्दैनन् । दशैंको मुखमा बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि अधिंकाश सहकारीका सञ्चालक तथा कर्मचारीहरु कार्यालय नै बन्द गरेर सम्पर्कविहीन भएका छन् । 

बाहिर कार्यालयको बोर्ड झुण्डाएको हुन्छ । भित्र जाँदा ताल्चा लगाइएको हुन्छ । यसपालिको दशैंं सहकारीका कारण अधिंकाश बचतकर्ताको खल्लो हुने भएको छ । जनता दशैं मनाउन आफ्नो गाउँघर जानबाट वञ्चित हुने भएका छन् । सहकारीले बचतकर्ताको खुसियाली नै लुट्दा समेत सहकारीमन्त्री रन्जिता श्रेष्ठ र सहकारी विभागका महनिर्देशक नवराज घिमिरेलाई केही मतलब छैन । 

जनताले तिरेको करबाट आउने तलबभत्ताले उनीहरु त दशैं मनाउँछन् । तर, सहकारीका कारण दशैं मनाउनबाट वञ्चित भएका बचतकर्तालाई कसले हेर्छ र । ब्याजको लोभमा सहकारीमा रकम जम्मा गर्दा आज साँबा गुमाउनुपरेको छ । पुर्खोली सम्पत्ति, घरजग्गा बेचेर वा जीवनभर जागिर खाएर, व्यापार व्यवसाय गरेर खाइनखाई जम्मा गरेको रकम सहकारीले पचाइदिएको छ । 

सहकारीका बजार प्रतिनिधिहरु पैसा उठाउन आएमा जनता चोर, ठग आयो भनेर भन्छन् । सरकारले पनि सहकारीलाई जनता ठग्न र लुट्न लाइसेन्स दिएको अहिले स्पष्ट भएको छ । कतिपय सहकारीले अहिले पनि सिधासाधी जनतालाई फकाएर वा ब्याजको प्रलोभन देखाएर पैसा जम्मा गर्न बाध्य बनाइरहेको छ । 

अहिले सहकारीका बजार प्रतिनिधि एंव सञ्चालक स्वयं आफ्नो सहकारीमा खाता खोल्न तथा पैसा जम्मा गराउनका लागि सय वटा पसल गएपनि एउटाले पनि खाता खोल्दैन । न त पैसा नै राख्छ । जनता सहकारीले यत्रो बचतकर्ताको रकम डुब्दा समेत सरकारले केही नगरेको भन्दै गुनासो पोख्छन् । 

सहकारीमा रकम नराख्नुस् भनेर सरकारले सचेत गराउनुपर्नेमा त्यो पनि नगरेको भन्दै उनीहरु बेलैमा सहकारीमा रकम जम्मा नगर्नुस् भनेर सजग गराएकोमा सञ्चारकर्मीलाई धन्यवाद दिन्छन् । सहकारीमा करोडौं बचतकर्ताको खर्बो रकम डुबेको छ । तर, सहकारी महासंघका अध्यक्ष मीनराज कडेँलसँग बसेर प्रधानमन्त्री फोटो खिच्छन् र चिया खान्छन् । 

सरकार नै यस्तो भएपछि न बचतकर्ताले आफ्नो रकम फिर्ता पाउँछन् न न्याय नै पाउँछन् । अब जनता आफैंले सहकारीको दर्ता खारेज गर्न आवाज उठाउनुपर्छ । यस्ता ठग, चोरलाई अझै पनि जनता ठग्न छुट दिनुहुन्न । सरकारले सहकारीको लाइसेन्स खारेज नगरेपनि जनताले सहकारीलाई बहिष्कार गर्नुपर्छ ।