नायक अनमोल केसी फिल्म साइन गरेर छाड्न माहिर मानिन्छन् । उनले, फिल्म साइन गरेर धमाधम छाड्दै जाँदा उनको काम गर्ने शैली माथि पनि प्रश्न उठ्ने गरेको छ । अनमोललाई साइन गराएर पनि फिल्म बन्छ या बन्दैन भन्ने दोधार निर्मातामा सधै रहन्छ । 

तर, एउटा रोचक कुरा के छ भने अनमोलले छाडेका फिल्म मध्ये अधिकांशको निर्माण भएको छैन । एक जना नायकले छाडेपछि अर्को कलाकार राखेर फिल्म बन्ने गरेका छन् । तर, अनमोलको हकमा भने अधिकांश फिल्म उनले छाडेपछि नबनेको देखिन्छ । 

अनमोलले छाडेको फिल्म ‘धूपौरो’को निर्माण भएन । यो फिल्ममा अनमोल केसी जुवाडेको भूमिकामा देखिन लागेका थिए । फिल्म साइन गरेर लोकेशन समेत हेरिसकेका अनमोलले अन्तिम अवस्थामा फिल्म छाडेका थिए । साम्तेन भुटियाले यो फिल्म निर्देशन गर्ने तयारी गरेका थिए । 

निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘ब्याचर बन्टी’ पनि अनमोलले साइन गरेर छाडे । यो फिल्मको निर्माण प्रक्रिया अगाडि बढेको अवस्थामा अनमोलले काम नगर्ने निर्णय गरे । यसपछि भने यो फिल्म बनेन । 

अनमोलले साइन गरेर छाडेको अर्को फिल्म हो, ‘एक्स ९’ । यो फिल्मका लागि अनमोल केसीले शरीर समेत बनाएका थिए । तर, फिल्मको छायांकन ढिलो सुरु भएको भन्दै अनमोलले काम गरेनन् । यो फिल्मका लागि निर्देशक मुकुन्द भट्टले नायक प्रदीप खड्कालाई साइन गराइसकेका छन् । उनले, यो फिल्मको छायांकन चाडै सुरु गर्ने बताएपनि अहिलेसम्म काम अगाडि बढेको छैन । 

अनमोलले पछिल्लो समय आएर फिल्म ‘रावायण’ पनि छाडे । यो फिल्म अनमोलले २ पटक छाडेका छन् । सुरुमा पूजा शर्मा फिल्मस्बाट बन्न लागेको फिल्म अनमोलले साइन गरेर पनि पछि छाडे । फेरि सुदर्शन थापाको ब्यानरमा बन्न लागेको यही फिल्म पेश्की रकम लिएर पनि अनमोलले छाडे । यसरीहेर्दा, अनमोल ब्याक टू ब्याक फिल्म छाड्न माहिर देखिएका छन् । अब, अनमोलले २ पटक छाडेको यो फिल्म बन्छ या बन्दैन पक्का छैन । 

नायक अनमोल केसीले छाडेर पनि निर्माण भएको फिल्म हो, ‘हनी बनी’ । यो फिल्ममा सुरुवातमा अनमोल केसी र सारा सिर्पालीले काम गर्ने पक्का भएको थियो । तर, पछि यी दुबैले फिल्ममा काम गर्न नसकेपछि निर्देशक दिवाकर भट्टराइले जसिता गुरुङलाई लिएर फिल्म पुरा गरेका छन् । 

यी बाहेक अनमोलले नै काम गर्ने भन्दै घोषणा भएका उनका होम प्रोडक्शनका फिल्महरु ‘एन्टी हिरो, पारस र माइतीघर २’को काम अगाडि बढ्न सकेको छैन । होम प्रोडक्शनकै फिल्म भएकाले उनले साइन गर्ने र छाड्ने भन्ने कुरा त आएन । तर, यी तिनै वटा फिल्म निर्माणको काम अब अगाडि बढ्छ या बढ्दैन, पक्का छैन । यसरीहेर्दा, अनमोलले साइन गरेर छाडेका मध्ये अधिकांश फिल्म नबनेको देखिन्छ । मेरो फिल्मबाट