धरान/ राजधानीको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको केही दिनअघि आइसियु कक्षको तस्बिर फेसबुकमा सार्वजनिक भयो ।

स्वास्थ्यलाभको कामना गर्दै पोष्ट गरिएको भए पनि धरानवासीलाई भने मेयर सुब्बाको अवस्था निकै चिन्ताजनक रहेको आशंका भयो । सबैलाई मेयर सुब्बाको स्वास्थ्यप्रति चासो थियो । दुवै मृगौलाले काम नगरेपछि मेयरमा चुनिनु अघि नै करिब ३ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसमाथि केही समय यता उनको स्वास्थ्य ठीक थिएन । फोक्सोको निमोनिया भएपछि उनी थप उपचारको लागि राजधानी गएका थिए ।

सो तस्बिरसँगै मेयर सुब्बाको स्वास्थ्यबारे उत्पन्न आशंकालाई चिर्दै प्रेस संयोजक, सचिवालयबाट क्रमिक रूपमा स्वास्थ्यमा सुधार भइरहेको भन्दै फेसबुक र प्रेस विज्ञप्तिमार्फत् धरानवासीलाई आश्वास्त पार्ने प्रयास भइरहेको थियो । तर, मंगलबार दिउँसो भने धरानवासीले मेयर सुब्बाको निधन भएको अप्रिय खबर सुन्नुप¥यो ।

पदभार ग्रहण गरेको ठीक १ वर्ष पुग्नु अघिल्लो दिन ५२ वर्षीय मेयर सुब्बाको ग्राण्डी अस्पतालमा निधन भएको हो । मंगलबार दिउँसो करिब १ बजे मेयर सुब्बाको निधन भएको अस्पतालबाट जानकारी आएको प्रेस संयोजक योगेशबाबु काफ्लेले बताए । ‘आइसियुमा भए पनि सुधार भइरहेको थियो, सोच्दै नसोचेको दुःखद घटना भइदियो,’ उनले भने । मृतक सुब्बाको पार्थिव शरीरलाई मंगलबार नै हेलिकप्टरबाट धरान ल्याएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ । विदेशबाट आफन्तजन आउने क्रममा रहेकाले अत्येष्टी कहिले गर्ने भनेर टुंगो भइसकेको छैन ।

स्वास्थ्यमा समस्या भएपछि असार दोस्रो साता मेयर उपचारको लागि राजधानी गएका थिए । शुरुमा नर्भिक अस्पतालमा गएका सुब्बा त्यहाँबाट ग्राण्डीमा रिफर भए । ग्राण्डीमा निरन्तर आइसियुमा राखेर उपचर भइरहेको थियो । धरान–१७ निवासी सुब्बाका श्रीमती र १ छोरा छन् । उनको जन्म भने पुख्र्याैली थलो तेह्रथुमको खाम्लालुङमा भएको थियो ।

सुब्बा तेह्रथुमको किसान परिवारमा जन्मिएका थिए । अध्ययनको सिलसिलामा धरान आएका उनी यहीँको स्थायी बासिन्दा भए । स्कुल पढ्दादेखि नै विद्यार्थी राजनीतिमा होमिए । अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा थालेका सुब्बाले धरानमा लामो समय नेकपा एमालेको नेतृत्व गरे । धरानमा एमालेको संगठन चुस्त बनाउन उनको योगदान रहेको नेताहरू बताउँछन् ।

गत स्थानीय तह निर्वाचनमा उनी एमालेबाट मेयरमा एक्लो सिफारिस भएका थिए । उनलाई धरानमा निर्णय क्षमता भएको, अनुभवी, परिपक्व र कुशल संगठकको रूपमा मानिन्थ्यो । एमाले कार्यवाहक अध्यक्ष नारायण सुवेदीले सुब्बाको निधनले एमालेलाई ठूलो क्षति पुगेको प्रतिक्रिया दिए ।

धरानको राजनीतिमा सुब्बा

२०४० सालतिरै अनेरास्वयवियु नगर कमिटी सदस्य बनेका सुब्बा २०४७ सालपछि भने युवा संघको राजनीतिमा छिरेका थिए । प्रजातान्त्रिक राष्ट्रिय युवा संघको नगर कमिटी सदस्य हुँदै २ पटक जिल्ला अध्यक्ष पनि भएका थिए । संघको केन्द्रीय सदस्य पनि २ पटक भएका थिए । २०४८ सालदेखि एमालेको नगर कमिटी सदस्य बनेका सुब्बाले २०६२÷०६३ को जनआन्दोलनपछि सचिवको कार्यकारी पद सम्हालेका थिए ।

नगर सदस्य, उपसचिव, कार्यवाहक सचिव, सचिव हँुदै पार्टीमा बहुपदीय प्रणाली शुरु भएपछि तेस्रो पटकसम्म पार्टी अध्यक्ष बनेर धरानमा एमालेलाई बलियो संगठनको रूपमा उनले स्थापित गरेका थिए । २०५१ सालमा नेकपा एमालेका स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार हँुदा खेलकुद विकास समिति सुनसरीमा कार्यकारी सचिवमा नियुक्ति पाएका थिए ।

२०५४ सालको स्थानीय चुनावमा वडा नम्बर १७ मा वडा सदस्य जितेका सुब्बा त्यसैबेला जिविस सुनसरीमा इलाका नम्बर २ बाट सदस्य पनि चुनिएका थिए । हाल उनी एमालेको नेपाल लोकतान्त्रिक किरात लिम्बू संघको महासचिव थिए ।

नगर कार्यपालिकाको आकस्मिक बैक
मेयर सुब्बाको निधन भएपछि मंगलबार धरान नगर कार्यपालिकाको आकस्मिक बैठक बसेर शोक प्रस्ताव पारित गर्नुका साथै दुई दिन धरानमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मेयर सुब्बाको अन्त्येष्टी गरिने दिन र त्यसको भोलिपल्ट श्रद्धाञ्जली सभा आयोजना गर्ने दिन धरानका सम्पूर्ण कार्यालयमा बिदा दिने निर्णय भएको वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिए । सोही बैठकले धरान सरकार मातहतका सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै, मेयर सुब्बाको पार्थिव शरीरको अन्त्येष्टी र श्रद्धाञ्जली सभाको सम्पूर्ण व्यवस्थापन उपमहानगरपालिकाले गर्ने पनि बैठकले निर्णय गरेको खतिवडाले बताए ।