विराटनगर/ अस्थायी मुकाम विराटनगरको ट्राफिक व्यवस्थापन मिलाउन सडक सुरक्षा र अनुशासन कार्ययोजना लागू गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आर्थिक वर्ष शुरु भएपछि नयाँ ट्राफिक कार्ययोजना सार्वजानिक गर्दै सवारी पार्किङदेखि चालक, सह–चालकको सुरक्षा, तोकिएको भाडादर, संलग्न सवारी र कामदार तथा मजदुरको परिचयलाई अनिवार्य साथमा राख्नुपर्ने कार्ययोजना ल्याएको हो ।

ट्राफिक व्यवस्थापनको नयाँ कार्ययोजनाले मापदण्ड विपरीत सञ्चालनमा रहेका निजी विद्यालयलाई सबैभन्दा बढी कसेको छ । साँघुरो संरचनामा सञ्चालनमा आएका यस्ता विद्यालयले सडकमा पार्किङ गर्दा हुने जामले विराटनगरमा ट्राफिक व्यवस्थापन समस्या हुँदै आएको थियो । विद्यालयका बसले विद्यार्थी चढाउनसमेत अब तोकिएको स्थानबाट मात्रै पाउने भएका छन् । हरेक घर अगाडि रोकिने विद्यालयका सवारीका कारण बिहान र साँझमा विराटनगरको ट्राफिक व्यवस्थापन मिलाउनै नसक्ने गरी चुनौतीपूर्ण बन्दै आएको थियो ।

विराटनगरमा निर्माणाधीन अवस्थाको कच्ची सडक र सडकमा गरिने पार्किङले सवारी साधन तथा मानिसलाई आवतजावतमा समस्या मात्रै नभई दुर्घटनाको कारण समेत बनेपछि नयाँ कार्ययोजना अगाडि सारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवकुमार पोखरेलले जानकारी दिएका छन् ।

उनका अनुसार राजमार्गमा रहेका होटल र रेष्टुरेन्टदेखि सडक आसपासमा रहेका विद्यालयलाई पार्किङ निषेध गरिएको छ । आफ्नै परिसर वा सडकभन्दा भित्र पार्किङको व्यवस्थापन मिलाउनका लागि ट्राफिक प्रहरीले सबैसँग आग्रह गरेको छ ।

सवारी साधन निर्वाध रूपमा सञ्चालन हुने अवस्था नहुँदा देखिने समस्याले ट्राफिक जाम भई शहरिया जीवन अस्तव्यस्त हुँदै आएको छ । ट्राफिक जाम हटाउनका लागि कुनै पनि निकायले सडकमा पार्किङ गर्न नपाउने प्रमुख पोखरेलको दाबी छ ।

सडक सुरक्षा र अनुशासनका लागि ल्याइएको कार्ययोजनासँगै निषेध गरिएको ठाउँमा पार्किङ गरिएका सवारी साधन नियन्त्रणमा लिएर कारवाही चलाउने पोखरेलले जानकारी दिएका हुन् ।

नयाँ कार्ययोजना अनुसार विराटनगरको मुख्य बजार क्षेत्रको ‘मेन रोड’ अन्तर्गत ट्राफिक चोकदेखि जलजला चोकसम्मको १ किलोमिटर सडकमा सवारी साधन पार्किङ निषेध गरिएको छ । यो सडकमा दैनिक ४ सय बढी मोटरसाइकल र ६० वटा भन्दा बढी चार चक्के साना सवारी साधन पार्किङ हुने गरेका थिए । चाडपर्वका बेला यो संख्या दोब्बर हुने गरेको छ ।

अति व्यस्त र सवारी साधन तथा मानिसको आवतजावत बढी हुने स्थानलाई लक्षित गरेर सवारी साधन पार्किङमा रोक लगाइएको हो । पार्किङका लागि विराटनगर महानगरपालिकाको ‘ए’ र ‘बी’ प्लटमा व्यवस्था गरिएको छ । विराटनगरको ट्राफिक चोक नजिकै रहेको नेपाल बैंकको खाली जग्गामा पनि पार्किङ गर्न सकिने छ ।

यसैगरी बुधहाट चोकदेखि जलजला चोक सम्मको एकतर्फी (वान–वे) आवागमन मोटरसाइकलका लागि खुला गरिएको छ ।

मंगलबारदेखि सार्वजनिक सवारी साधनले भाडादर उल्लेख गरेर यात्रुले देख्ने गरी सवारी साधनमै टाँस्नुपर्ने नियम समेत ट्राफिक कार्ययोजनाभित्रै समेटिएको छ । ठाउँअनुसारको भाडा दर नटाँस्ने लामो तथा छोटो दूरीका सवारी साधनमाथि कारवाही अघि बढाइने भएको छ । चालक र सहचालकले अनिवार्य रूपमा परिचय पत्र देखिने गरी राख्नुपर्ने र परिचयपत्र विहीन सवारी कामदारमाथि कारवाही हुने बताइएको छ ।

यसैगरी, आफ्नै सुरक्षाको लागि चालकले अनिवार्य जुत्ता लगाउनु पर्ने नियम समेत तोकिएको छ । यसैगरी, आरक्षण सिटको व्यवस्था नगर्ने सवारी साधन पनि कारवाहीमा पर्ने भएका छन् । दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि नियम लागू गरिएपछि यातायात व्यवसायीसँग समेत छलफल गरिसकिएको छ ।