इटहरीः इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ जना नेपाली विद्यार्थीको उद्धार गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट ६ टोलीमा गएका ४९ विद्यार्थीमध्ये ५ टोलीका ३२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रीमा स्वकीय सचिव रमेश भट्टले जानकारी दिए  । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्रबाट ३२ जना सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीको उद्धार गरी इजरायली सेनाको सुरक्षा घेरामार्फत सुरक्षित स्थानतर्फ लगिएको उनले जनाए । 

सिकाइसँगै कमाइ कार्यक्रमका लागि इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्काय स्नातक तह आठौँ सेमेस्टरका ४९ जना विद्यार्थीहरूलाई ६ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा पठाइएको थियो । जसमध्ये १७ जना नेपाली विद्यार्थी समेत रहेको फार्ममा आक्रमण हुँदा कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको अवस्था अज्ञात छ ।

WhatsApp Image 2023-10-09 at 16.52.33

कैलालीको टीकापुरका धनबहादुर चौधरी, गोरखाका हिमाञ्चल कट्टेल, दाङका प्रवीण डाँगी र सल्यानका विधान सेजवालको उपचार भइरहेको खबर छ । कैलालीको भजनी त्रिशक्तिका वीरेन्द्र चौधरी र सल्यानका प्रमोद केसी भने सुरक्षित रहेको जनाइएको छ ।

उक्त घटनामा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये ७ जना सुदूरपश्चिमका रहेको बताइएको छ । कैलालीको घोडाघोडीका नारायणप्रसाद न्यौपाने र बौनियाका आशिष चौधरी, दार्चुलाको लेकमका दीपेशराज बिष्ट र मालिकार्जुनका लोकेन्द्रसिंह धामी, डोटीको पचनालीका राजन फुलारा र लामीखालका पदम थापा तथा बझाङको जयपृथ्वीका गणेशकुमार नेपालीको मृत्यु भएको दूतावास स्रोतले जनाएको छ । सोही घटनामा परेका धनुषाका आनन्द साह, सुनसरीका राजेशकुमार स्वर्णकार र सल्यानका प्रवेश भण्डारीले समेत ज्यान गुमाएको बताइएको छ ।