बेलबारी/ बेलबारी नगरपालिकाले सामुदायिक विद्यालयप्रति चासो देखाएको छ । शिक्षण सिकाइ उपलब्धी मापन गरी नगरपालिकाले शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ ।
लक्ष्मी मा.वि र रामजानकी आधारभूत विद्यालय तथा शिक्षकहरू मेघराज घिमिरे, टंकप्रसाद ओझा, छगनलाल तिम्सिना, सञ्जीवबहादुर कार्की, धर्मकुमारी कालाखेती, अनिता तिम्सिना, माया दर्जी, अजम्बर विश्वकर्मा लगायत १० जना विषयगत शिक्षकलाई नगरपालिकाले जनही १० हजारसहित कदरपत्र प्रदान गरेर तथा दोसल्ला ओढाएर सम्मान गरेको हो । विद्यालयलाई नगद १ लाख सहित कदरपत्रले सम्मान गरिएको थियो ।
सामुदायिक विद्यालयमा दिनप्रतिदिन विद्यार्थीको आकर्षण घट्दै जान थालेपछि नगरपालिकाले शैक्षिक गुणस्तरका लागि शिक्षक तथा विद्यालयलाई सम्मान गरेको हो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि सामुदायिक विद्यालयप्रति चासो देखाइएको नगरका प्रवक्ता योगेन्द्र सुवेदीले बताए । विद्यार्थी सिकाइ अभियानलाई सफल बनाउन शिक्षकलाई तालिमदेखि विद्यार्थीलाई खाजा खर्चको समेत नगरपालिकाले व्यवस्था गरेको छ ।