पोखराः गण्डकी प्रदेशको राजधानी पोखराबाट १ अर्ब ४ करोडको नयाँ नोट सटही गरिएको छ । नेपालीहरूको महान् पर्व दशैं पर्वको अवसरमा नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयले यस बर्ष १ अर्ब ४ करोड ५० लाख रुपैयाँ नयाँ नोट सटही गरेको कार्यालयले जनाएको छ । 

आम सर्वसाधारणको लागि सोमबार देखि सुरु गरेको नयाँ नोटको सटही शुक्रवारसम्म २१ करोड २५ लाख नयाँ नोट सटही गरिएको कार्यालयका उपनिर्देशक पुष्कर शुर्खालीले बताए। कार्यालयले यस बर्ष बैङ्क तथा वित्तीय संघ संस्थाहरूको लागि भने ८३ करोड २५ लाखको नयाँ नोट सटही गरेको उनले जनाए । बिहीबार ४ करोड ६ लाख नयाँ नोट सटही गरेको कार्यालयले शुक्रबार भने १ करोड ९५ लाख नयाँ नोट सटही गरेको हो । 

नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार पोखराको कार्यालयबाट प्रति व्यक्ति १८ हजार ५ सयको नयाँ नोट सटही गरेको नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयका निर्देशक आर्या जोशीले बताए । आम सर्वसाधारणको लागि भने गत वर्ष झैँ यस बर्ष पनि सानो नोट (५, १०, २०, ५० र १००) का एकरएक बण्डल सटहीको व्यवस्था गरिएको उनले जानकारी दिए । नयाँ नोटको जतन गरी हिफाजत गर्न उनको आग्रह  छ । 

नेपालीहरूको महान् पर्व विजया दशमी पर्वको अवसरमा यस बर्ष १ अर्ब २३ करोड ४५ लाख नयाँ नोट सटही गर्ने योजना रहेको राष्ट्र बैङ्क पोखरा कार्यालयका उप(निर्देशक सम्झना ढकालले बताए । नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयले गत बर्ष १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ बैङ्क तथा वित्तीय संघ संस्था सहित आम सर्वसाधारणलाई नयाँ नोट सटही गरेको थियो । यस बर्ष आफूहरूसँग नयाँ नोटको धेरै स्टक नभएकोले माग अनुसार दिन नसके पनि सन्तुलित ढंगले वितरण गरेको उप(निर्देशक ढकालले बताए। यस बर्ष सायद आर्थिक मन्दीले गर्दा ५ रुपैयाँको नोटको माग अत्यधिक भएको राष्ट्र बैंकले जनाएको छ ।