धरान/ गर्मी बिदामा रहेका विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले धरानमा ३ साता लामो दोस्रो समर बास्केटबल ट्रेनिङ क्याम्प शुरु भएको छ ।
धरान बास्केटबल संघको आयोजना तथा जिल्ला बास्केटबल संघको सहयोगमा बुधबारदेखि धरान–१८ स्थित डिपो उच्च माविको बास्केटबल कोर्टमा क्याम्प शुरु भएको हो । धरान उपमहानगरपालिकाले संयोजन गरेको प्रशिक्षणमा विभिन्न १८ विद्यालयका विद्यार्थी सहभागी भएको आयोजक संघले जनाएको छ । मेयर तारा सुब्बाको निधन भएकाले औपचारिक कार्यक्रम नगरी बुधबार प्रशिक्षकलाई बल हस्तान्तरण गरेर प्रशिक्षणको शुरुवात गरिएको थियो ।
संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, वडा नं १८ का अध्यक्ष प्रवीण राई, जिल्ला बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी लगायतले प्रशिक्षकलाई संयुक्त रूपमा बल हस्तान्तरण गरेका थिए । आयोजक तथा सहभागी प्रशिक्षार्थी विद्यार्थीले स्वर्गीय मेयर सुब्बाप्रति एक मिनेट मौन धारण गर्दै श्रद्धाञ्जलीसमेत व्यक्त गरेका थिए ।
प्रशिक्षणमा धरानका विभिन्न विद्यालयबाट ८९ जना सहभागी भएको आयोजक संघले जानकारी दिएको छ । तीमध्ये ५९ जना छात्र र ३० जना छात्रा छन् । केही विद्यालयमा परीक्षा भइरहेका कारण सहभागीको संख्या बढेर सय भन्दा माथि पुग्ने मुख्य प्रशिक्षक विकास राईले जानकारी दिए । उनका अनुसार कक्षा १ देखि ११ सम्मका विद्यार्थी प्रशिक्षणमा सहभागी छन् ।
‘बिदाको सदुपयोग गर्दै अनुशासन, शिक्षा र खेल बास्केटबल भन्ने नारा दिएर प्रशिक्षण गराएका हौं,’ उनले भने ।
प्रशिक्षणमा हेमन राई, रोशन राई, उज्ज्वल राई, चिरञ्जीवि गिरी, विराज लिम्बू र आशा राई प्रशिक्षकको रूपमा रहेका छन् । विद्यार्थी स्वास्थ्य रहेमात्र राम्रो अध्ययन गर्न सक्ने भएकाले खेलकुदको माध्यमबाट स्वस्थ बनाउने साथै स्कुलस्तरबाट नै बास्केटबलका प्रतिभा जन्माउने अभियानअन्तर्गत प्रशिक्षण गरिएको आयोजक संघका अध्यक्ष सुरज लामाले बताए ।