इटहरीः नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भूकम्प पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण कार्य उदघाट्न गरेका थिए ।  ।अनेरास्ववियूले जाजरकोट तथा रुकुम पश्चिम जिल्लाका विभिन्न ७ विद्यालयका करिब १ हजार विद्यार्थीलाई अत्यावश्यकीय शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

भूकम्प प्रभावित विद्यालय पन्छाउन र नयाँ अस्थायी टहरा निर्माणका निम्ति जाजरकोट पुगेको अनेरास्ववियूको टोलीले प्रभावित विद्यार्थीहरुलाई न्यानो कपडा, झोला, कापि, कलम र पेन्सील लगायतका शैक्षिक सामग्री उपलब्ध गराएको हो ।

अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष आरती लामाले भूकम्पमा अभिभावक गुमाएका र विपन्न समुदायका विद्यार्थीका लागि राहत पुगोस् भन्ने उद्देश्यले यसरी सहयोग गरिएको जानकारी दिइन् ।

received_643969907663076

अध्यक्ष लामाले भनिन्, ‘भूकम्पका कारण शैक्षिक भविष्य जोखिममा परेका विद्यार्थीलाई सहयोग गर्ने मुल उद्देश्य बोकेर हामी यहाँ आएका हौँ । यिनै विद्यार्थीलाई सहयोग गर्न भनेरै हामीले राजधानीमा देउसी र भैलो आयोजना गरेका थियौं । देउसीबाट जुटेको रकमबाट भूकम्प प्रभावित बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न पाउँदा असाध्यै खुसी लागेको छ ।’

अध्यक्ष लामाको नेतृत्वमा गएको टोलीले केही दिनदेखि भत्किएका घरहरु पन्छाउनेदेखि नयाँ अस्थायी टहरा निर्माण गर्ने लगायतका काम गरिरहेको सो संगठनका केन्द्रीय कार्यालय सदस्य मिलन राईले बताए ।

राईका अनुसार अनेरास्ववियूले आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) जाजरकोट र रुकुम पश्चिम जिल्ला कमिटीका साथै स्थानीय प्रशासनसँगको समन्वयमा काम अघि बढाइरहेको छ ।