इटहरी/ इटहरीमा जेठ २२ मा अडिसन शुरु गरेर सञ्चालनमा आएको र विवादपछि रोकिएको मिस सुनसरीका प्रतिष्पर्धीले पैसा फिर्ता पाएका छन् ।

बुधबार मध्याह्न मिस सुनसरीमा सहभागी प्रतियोगीको फारम शुल्क १ हजार र तालिम शुल्क १५ हजार बराबरको रकम फिर्ता भएको हो । रकम फिर्ता गर्दा तालिमको प्रशिक्षक शुल्क र अन्य केही अत्यावश्यक शुल्क कटाएर फिर्ता गरिएको हो ।

Miss Sunsari 2

प्रतिस्पर्धाको दौरानमा लगाइएका व्यावसायिक पोशाक र नगद ५ हजारका दरले प्रतियोगीलाई पैसा फिर्ता गरिएको हो । २१ जनाले अडिसन दिएको कार्यक्रममा १८ जना छनोट भएका थिए भने १४ जना अन्तिम समयसम्म सहभागी थिए । जसमा बुधबार १२ जना प्रतियागीले आफ्नो रकम फिर्ता पाएको इटहरी लेडी जेसीज अध्यक्ष मिनु न्यौपानेले बताइन् । विवादका कारण प्रतियोगिता बन्द भएपछि प्रतियोगीको रकम फिर्ता गराएर मात्रै जान मुख्य आयोजक पल इन्टरटेनमेन्टलाई न्यौपानेले नै रोकेकी थिइन् ।

अब विवादित कार्यक्रम गर्दैनौं ः न्यौपाने
प्रतियोगिता बन्द भए पनि प्रतियोगीको लागानी खेर जानु हँुदैन भनेर पैसा फिर्ता गरिएको प्रतियोगिताको सहआयोजक रहेको लेडी जेसीज अध्यक्ष मिनु न्यौपानेले बताइन् । उनले भनिन्, ‘हुनुपर्ने प्रतियोगिता बीचैमा बन्द हुनु राम्रो होइन र प्रतियोगितामा प्रतियोगीले गरेको आर्थिक लगानी खेर जानु पनि झनै राम्रो होइन । त्यही कुरा मनन गर्दै हामीले फिर्ता गरेका हौँ ।’

मुख्य आयोजक पल इन्टरटेनमेन्टलाई आफूले पहल गरेर रकम फिर्ता गरिएको अध्यक्ष न्यौपानेले बताइन् । आफूहरू सहआयोजक भन्दा पनि सहयोगी संस्था मात्रै भएको भन्दै न्यौपानेले आगामी दिनमा विवादास्पद कार्यक्रममा हात नहाल्ने बताइन् । उनले भनिन्, ‘२०१८ को लेडी जेसीज अध्यक्ष भएकाले केही राम्रो गरौँ भनेर कार्यक्रम गरिएको हो तर त्यस्तो नभएकाले बन्दै गरायौँ ।’ मिस सुनसरी आयोजना गर्नु आफ्नो भन्दा संस्थाका केही सदस्यको मात्रै चाहना भएको भन्दै न्यौपानेले अध्यक्षका नाताले आफू नैतिक रूपमा भने जिम्मेवार भएको बताइन् ।

जेसीज अध्यक्ष हुँदा ४० वर्षमुनिको हुनुपर्नेमा किन ४० कटेर नि अध्यक्ष हुनुभयो भन्ने प्रश्नमा न्यौपानेले लेडी जेसीजमा नेपाल जेसीजमा जस्तो उमेरमा कडाइ नभएकाले त्यस्तो भएको तर्क गरिन् । जेसीज सदस्य हुन १८ देखि ४० वर्षकै हुनुपर्ने भए पनि राजधानीदेखि झापासम्मकै लेडी जेसीजमा यो उमेर हद व्यावहारिक रूपमा लागू नभएर त्यस्तो भएको न्यौपानेको तर्क छ ।

उनी भन्छिन्, ‘विधानको रूपमा उमेर हदको कुरा सही हो । तर १०–१५ वर्ष जेसीजमा बसेर अध्यक्ष हुनेलाई उमेर बारेमा प्रश्न नआएर यस्तो भएको हो ।’ तर, अब लेडी जेसीजमा पनि नेपाल जेसीजमा जस्तै उमेर हदमा कडाइ हुने नजिर बस्ने अवस्था आएमा आफूले सहयोग गर्ने न्यौपानेले बताइन् ।

यस्तो थियो मिस सुनसरी बन्द हुनुको पृष्ठभूमि
काठमाडौको पल इन्टरटेनमेन्टको मुख्य आयोजना र इटहरी लेडी जेसीजको सहआयोजनामा भएको कार्यक्रम गैरव्यावसायिक भएको र फोटो सुटका दौरानमा युवतीलाई यौन दुव्र्यवहार गरेको खुलासा भएपछि आलोचित भएको थियो । पल इन्टरटेनमेन्ट सम्बद्ध अमित पल भनिने अमित पौडेलले युवतीहरूको भित्री वस्त्र छोएको, अस्वाभाविक र अस्वीकृत रूपमा शरीरका अंग छोएको र भित्री वस्त्र मात्रै लगाएर जबरजस्त एक्स्पोज हुन कर गरेको भन्दै केही युवतीले इटहरी लेडी जेसीज र मिडियामा ‘कम्प्लेन’ गरेका थिए ।

यससँगै लेडी जेसीज नेतृत्वले पललाई माफीसमेत मगाएको थियो । त्यत्तिसम्म कुरा गुपचुपमै थियो । तर, तालिमकै दौरानमा केही युवतीले प्रतियोगिता छाडे । धेरै नै एक्स्पोज हुनुपर्ने र मानसिक तनाव भएको भन्दै पलले यौन दुव्र्यवहार गरेर माफी मागेको कुरा सार्वजनिक गरे । यो कुरा मिडियमामा आएपछि आयोजक पल इन्टरटेनमेन्ट आलोचित बन्यो ।

आलोचनासँगै मुख्य प्रायोजक नेपाल आइस बियर र धरानको वराह सपिङ सेन्टरले पनि प्रायोजकबाट हात झिक्ने संकेत ग¥यो । एकपछि अर्को समस्या बढेपछि मिस सुनसरी स्थगितको घोषणा आयोजक पल इन्टरटेनमेन्टले असार ३२ गते ग¥यो । कार्यक्रम स्थगित भएको भनिएको २ दिनपछि प्रतियोगीले आफ्नो पैसा फिर्ता पाएका हुन् ।