भेडेटारः विश्व चर्चित अमेरिकी च्यानल सिएनएनले कम घुमिएका विश्वका मुख्य १२ गन्तव्यमा राखेको धनकुटाको नाम्जेमा पहिलो पटक माघे संक्रान्ति महोत्सव हुने भएको छ । साँगुरीगढी गाउँपालिका–६ मा रहेको नाम्जेमा पुस ३० देखि माघ २ सम्म महोत्सव हुने भएको हो ।

गाउँपालिका र १३ वटा स्थानीय सङ्घसंस्थाले संयुक्त रूपमा आयोजना गर्ने सो महोत्सवमा पहिलो दिन स्थानीय रैथाने मगर जातिको हुर्रा नाच प्रदर्शन हुने भएको छ । दोस्रो र तेस्रो दिन क्रमशः राई जातिको साकेला नाच र याम्फू राईको ढोल नाच जस्ता सांस्कृतिक कार्यक्रम हुने मूल आयोजक समितिका अध्यक्ष अनिल कुमार रानामगरले बताए ।

महोत्सवमा स्थानीय, अर्गानिक र जातीय मौलिक परिकारका साथै हरेक दिन राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम हुने मूल आयोजक समितिका सचिव अशोककुमार मगरले बताए ।

२० वटा स्टल रहने महोत्सवकै तयारीको अवसरमा अन्तर स्थानीय तह मैत्रीपूर्ण खुला भलिबल प्रतियोगिता पुस २९ बाट र स्थानीय स्तरको फुटसल प्रतियोगिता पुस २५ र २६ गते हुने भएको छ ।

महोत्सवको मूल उद्देश्य स्थानीय संस्कृतिको संरक्षण गर्दै वरपरका आत्माघर, सूर्योदय बुद्ध विहार, नाम्जे थुम्की होमस्टे, सैलुङ डाँडा, पाथीभरा देवीको मन्दिर, शंखेश्वर महादेव मन्दिर, नमस्ते झरना, ध्वजे डाँडा, ओख्रे भ्यु टावर, साँगुरीगढी आदिको प्रचार र प्रबद्र्धन गर्नु रहेको आयोजकको भनाइ छ ।

आज १ बजे नाम्जेको होटल नाम्जे भ्यु पोइन्टमा पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवको लागि १० लाख हाराहारी खर्च हुने अनुमान गरेको जनाएको छ ।

माघे संक्रान्ति मगरहरूको विशेष पर्व भएकाले सो पर्वलाई महोत्सवको रुपमा मनाउन लागिएको आयोजकले जनाएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारको मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत हुने मेलामा खाद्य परिकारका २० वटा स्टल रहने बताइएको छ ।

maghe sankranti mahotsab  (2)