धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको भवन निर्माण, उपकरण खरीदलगायत विविधि विषयमा आर्थिक अनियमितता भए÷नभएको उच्चस्तरीय टोलीले छानबिन शुरु गरेको छ ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय छानबिन समितिले बिहीबारदेखि प्रतिष्ठानमा छानबिन शुरु गरेको हो । समितिलाई आर्थिक वर्ष २०७२÷०७३ देखि गत आर्थिक वर्षसम्मको सम्पूर्ण आर्थिक करोबार, भवन निर्माण, उपकरण खरिदलगायतका विषयमा छानबिन गर्ने अधिकार दिइएको छ । विशेष गरी पूर्वउपकुलपति डा.बीपी दासको पालामा सिनेटले स्वीकृत दिएको भन्दा अत्यधिक बढी लागत इस्टिमेटमा ठेक्का लागेको ४ सय बेडको मातृशिशु भवन, उनकै पालामा बिना प्रतिस्पर्धा नेपाल फाइनान्सियल स्ट्याण्डर्डको एक कन्सल्टेन्सीलाई ठेक्का दिएको विषय छानबिनको दायरामा छ ।

पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले छानबिन गर्ने भन्दै मातृशिशु भवनसँगै अंकोलोजी र कार्डियोलोजीको भवनको भुक्तानी रोकेपछि निर्माण कार्य पनि विगत ८ महिनादेखि अवरुद्ध छ ।

गएको ४१ औं सिनेट बैठकमा भुक्तानी खुलाउन पदाधिकारीले प्रस्ताव गरे पनि स्वास्थ्यमन्त्री उपेन्द्र यादवले छानबिन सकेर मात्र निर्णय गर्ने बताएपछि फुकुवा हुन सकेको थिएन । सोही सिनेटको निर्णयअनुसार प्रधानमन्त्री ओलीले उच्चस्तरीय छानबिन समिति गठन गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव अधिकारी संयोजक रहेको समिति ७ सदस्यीय छ । समितिले २०७२ /०७३ आर्थिक वर्षयताको मात्र नभई प्रतिष्ठानको विस्तृत विषयमा गहन रूपमा छानबिन गरिरहेको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका बायो मेडिकल इञ्जिनियर मुकुन्द खतिवडाले बताए । उनले भने, ‘भवन निर्माण, उपकरण, सवारी साधन खरिदलगायत सबै कुराको छानबिन हुन्छ, छानबिनपछि प्रतिवेदन प्रधानमन्त्री समक्ष बुझाइन्छ ।’

छानबिन गर्न आएको टोलीमा संयोजक अधिकारीसँगै सिनेटर डा.विश्वनाथ यादव, कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवाली, सहमहालेखा नियन्त्रक जगन्नाथ देवकोटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सडक विभागका उपमहानिर्देशक अर्जुनजंग थापा, स्वास्थ्य मन्त्रालयका सहसचिव तारानाथ पौडेल, उपसचिव भवनाथ खतिवडा र बायो मेडिकल इञ्जिनियर मुकुन्द खतिवडा छन् । टोलीले उपकुलपति, रजिष्ट्रार, डेपुटी रजिष्ट्रारसँगै लेखा, खरीद, मूल्यांकनलगायत आवश्यक शाखाका कर्मचारीलाई फाइलसहित बोलाएर छानबिन गरिरहेको छ ।

प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियार आफूहरूले पनि विवादित मातृशिशु भवन, अंकोलोजी, कार्डियोलोजीलगायत विषयमा चाँडो निकास निस्कियोस् भन्ने चाहेको बताउँछन् । ‘दीपक बोहराको पालामा छानबिन गर्ने भनेर रोकिएको हो, हामी पनि छानबिन होस्, र चाँडो निकास निस्कियोस् भन्ने चाहन्छौं,’ उपकुलपति रौनियारले भने ।

प्रतिष्ठानमा निर्माणाधीन ४ सय बेडको मातृशिशु भवन र निर्माण प्रक्रिया शुरु नै नभएको २÷२ सय बेडको अंकोलोजी, कार्डियोलोजी भवन विगत ८ महिनादेखि निर्माण ठप्प छ । पूर्वमन्त्री बोहराले ती भवनसँग सम्बन्धित कुनै पनि भुक्तानी नगर्न निर्देशन दिएपछि अवरोध पुगेको हो । बोहराको पालामा बसेको ४० औं सिनेट बैठकले यी ३ वटा भवनको बजेट सुनिश्चितता नभएको र नेपाल फाइनान्सियल स्ट्याण्डर्ड (एनएफएस)को ठेक्काबारे छानबिन गर्न स्वास्थ्य सचिवको संयोजकत्वमा समिति गठन भए पनि प्रतिवेदन नदिई स्वतः विघटन भएको थियो ।

मातृशिशु भवनमा सिनेटको स्वीकृतिभन्दा अत्यधिक धेरै मूल्यमा ठेक्का दिएर पूर्वउपकुलपति दासले मोटो कमिशन लिएको आरोप लाग्दै आएको छ । सिनेटबाट ७६ करोड मात्र स्वीकृत दिएको सो भवनलाई २ अर्ब ४९ करोडमा उनले ठेक्का दिएका थिए ।